ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रत्यक्ष वैदेशिक लगानी २६४ अर्ब

२०८० असोज, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । नेपालमा विभिन्न ५७ ओटा देशबाट प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आएको छ । हालसम्म नेपालको कृषि, उद्योग, सेवाका विविध क्षेत्रमा गरेर २ खर्ब ६४ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७८/७९’ अनुसार कृषि, वनजन्य, मत्स्यपालन, निर्माण, विद्युत्, ग्यास, उत्पादनमूलक क्षेत्र, खानी उत्खनन, पर्यटन, शिक्षा, वित्त तथा बीमासेवा, मानव स्वास्थ्य तथा सामाजिक कार्य, सूचना तथा सञ्चार, यातायातलगायत क्षेत्रमा विदेशी लगानी आएको छ । 

आर्थिक वर्ष (आव) २०७८/७९ सम्ममा नेपालमा आएको कुल उक्त विदेशी लगानीमा ऋण ३८ अर्ब ५८ करोड रुपैयाँ, रिजर्भ ८३ अर्ब ७८ करोड रुपैयाँ र चुक्तापूँजी १ खर्ब ४१ अर्ब ९६ करोड रुपैयाँ छ । केन्द्रीय बैंकका अनुसार आव २०७७/७८ सम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी २ खर्ब २७ अर्ब ९४ करोड रुपैयाँ बराबर थियो । यसका आधारमा सर्वेक्षण वर्ष २०७८/७९ सम्ममा मुलुकमा विदेशी लगानी बढेको देखिएको छ । 

केन्द्रीय बैंकले उक्त आवमा नेपालमा यस्तो लगानीबाट सञ्चालनमा आएकामध्ये कुल २३१ ओटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षण गरेको हो । सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले मुलुकमा सबैभन्दा धेरै भारतीय लगानी भित्रिएको उल्लेख गरेको छ । नेपालमा बढी लगानी गर्ने प्रमुख पाँच मुलुकमा क्रमश: भारत, चीन, आयरल्यान्ड, सिंगापुर र सेन्ट किट्स एन्ड नेभिस् छन् । 

वैदेशिक लगानीको ठूलो अंश औद्योगिक क्षेत्रमा उपयोग भएको सर्वेक्षणले देखाएको छ । कुल लगानीको ६२ दशमलव ६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७ दशमलव ३ प्रतिशत लगानी सेवाक्षेत्रमा परिचालन भएको प्रतिवेदनले औंल्याएको छ । औद्योगिक क्षेत्रअन्तर्गतको जलविद्युत् क्षेत्रमा ३२ दशमलव ८ प्रतिशत, उत्पादन क्षेत्रमा २९ दशमलव ५ प्रतिशत लगानी उपयोग भएको छ । प्रतिवेदनअनुसार कुल लगानीमध्ये २५ दशमलव ६ प्रतिशत सेवाक्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ । 

केन्द्रीय बैंकले नेपालमा सञ्चालित विदेशी लगानीका कम्पनीको क्षमता उपयोग ७१ दशमलव १ प्रतिशत रहेको उल्लेख गरेको छ । साथै त्यस्ता कम्पनीको नाफाको दर १४ दशमलव ३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । मुलुकमा भित्रिएको वैदेशिक लगानी सबैभन्दा धेरै भने बागमती प्रदेशमा छ । यो प्रदेशमा ५५ दशमलव ४ प्रतिशत वैदेशिक लगानी छ । 

सबैभन्दा कम कर्णाली प्रदेशमा छ । मुलुकमा भित्रिएको कुल उक्त वैदेशिक लगानीमध्ये कर्णाली प्रदेशमा शून्य दशमलव शून्य २ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । नेपालमा बढी लगानी गर्ने अन्य मुलुकमा अस्ट्रेलिया, दक्षिण कोरिया, युनाइटेड अरब इमिरेट्स, अमेरिका, नेदरल्यान्ड्स, हङकङ, बेलायत, पाकिस्तान, बंगलादेश, ब्रिटिस भर्जिन आइसल्यान्ड, नर्वे, जापान, बर्मुडा, मौरिसस्, मलेशिया, ब्रुनाई, श्रीलंकालगायत छन् । 

  •  नेपालमा लगानी गर्ने देशको संख्या ५७ 
  •  विदेशी लगानीका कम्पनीको नाफादर १४ दशमलव ३ प्रतिशत
  •  सबैभन्दा बढी लगानी भारतबाट 
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)