ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२०१९ कै लयमा फर्किंदै सिजनको पर्यटन

२०८० असोज, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं। मुख्य पर्यटकीय सिजन शुरू हुँदै गर्दा पर्यटक आगमनमा सुधार देखिएको छ । यस वर्ष पर्यटकीय सिजन भनिने महीनाहरूको विदेशी आगमन सन् २०१९ कै अवस्थामा पुगेको देखिएको छ ।

सन् २०२३ मा नेपाल आएका पर्यटकको तथ्यांक हेर्दा अन्य महीनाको तुलनामा सिजनका महीनामा बढी देखिन्छ । कतिपय महीनाको आगमन सन् २०१९ कै नजिक पुगेको देखिन्छ । नेपालमा बसन्त (मार्च, अप्रिल र मे) र शरदयाम (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर) लाई पर्यटकीय सिजन मानिन्छ । शरदयामलाई मुख्य सिजन मानिन्छ । 

पर्यटकीय सिजन शुरू हुने महीना सेप्टेम्बरमा विदेशी आगमन संख्यामा विगत वर्षका तुलनामा उल्लेख्य सुधार देखिएको हो । सन् २०२३ को सेप्टेम्बरमा हवाईमार्ग हुँदै ९१ हजार १२ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले आइतवार सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्षको पर्यटकीय सिजनको आगमन कोभिड–१९ पूर्वको वर्ष सन् २०१९ को हाराहारीमा छ । 

सन् २०१९ को सेप्टेम्बरमा ९२ हजार ६०४ पर्यटक हवाईमार्गबाट नेपाल आएका थिए । सन् २०२० र २१ मा उक्त महीनामा नेपाल आउने पर्यटकको संख्या न्यून छ । यी २ वर्ष कोभिड–१९ महामारी, सीमापार आवागमन र अन्तरराष्ट्रिय हवाई उडानमा प्रतिबन्ध, अनिवार्य क्वारेन्टाइन, कोरोनाविरोधी खोपको अनिवार्यतालगायत कारण विश्वभर पर्यटक आवागमन प्रभावित भएको थियो । सन् २०२२ बाट सेप्टेम्बरमा आउने पर्यटक संख्या बढेको हो । 

यस वर्ष मे र जुनमा सन् २०१९ को ती महीनाको तुलनामा बढी पर्यटक आएको देखिन्छ । यस वर्ष सेप्टेम्बरको आगमनले सन् २०१९ लाई भेट्न खोजेको देखिन्छ । अन्य महीनाको आगमन भने तुलनात्मक रूपमा कम छ । यसैलाई आधार मानेर पर्यटन व्यवसायी यो व्यवसाय सन् २०१९ को अवस्थामा अझै नफर्किएको तर्क गर्छन् । सिजनका २ महीनामा सन् २०१९ को तुलनामा बढी र कतिपय महीनामा नजिक पुग्ने गरी पर्यटक आएको तथ्यांकले देखाउँछ । 

यो वर्ष सेप्टेम्बरसम्मा कुल ६ लाख ९२ हजार ३७२ पर्यटक हवाईमार्गबाट आएका छन् । सन् २०१९ मा कुल ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल आएका थिए । 

होटेल एशोसिएशन नेपाल (हान)का महासचिव साजन शाक्यले मुख्य सिजन भएकाले अब नोभेम्बरसम्म पर्यटक आगमन बढ्दै जाने अनुमान गरे । ‘सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा गरी ३ लाखसम्म पर्यटक आउने हाम्रो अनुमान छ,’ शाक्यले भने, ‘अहिले काठमाडौंका होटेलमा ६० प्रतिशतभन्दा बढी कोठा बुकिङ भइसकेको छ, अनलाइन बुकिङका कारण ३/४ दिनअघि मात्रै जानकारी हुने भएकाले बुकिङ थप बढ्नेछ । पोखरामा भने बुकिङ कम देखिएको छ ।’

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष खुमबहादुर सुवेदी भने पर्यटन सन् २०१९ कै अवस्थामा फर्किन बाँकी रहेको बताउँछन् । सन् २०२४ मा भने सामान्य अवस्थामा नै फर्कन सक्ने उनको अनुमान छ । अहिलेको पर्यटक आगमनलाई सकारात्मक मान्न सकिने भन्दै उनले अफ सिजनमा भने कोभिडकै असर र विश्व आर्थिक अवस्थाका कारण पर्यटक आउन नसकेको बताए । 

बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा पनि अन्य महीना जस्तै भारतबाट सबैभन्दा बढी पर्यटक आएका छन् । भारतबाट यो महीना २८ हजार ६९४ पर्यटक आएका छन् । संख्याको हिसाबले दोस्रोमा चीन छ । चीनबाट सेप्टेम्बरमा ८ हजार १७४ पर्यटक आएका छन् । यसपछि संयुक्त राज्य अमेरिका, बंगलादेश, अस्ट्रेलिया, बेलायत, श्रीलंका, जर्मनी, दक्षिण कोरिया र इजरायलबाट बढी संख्यामा पर्यटक आएको देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)