ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

केरामा पानामा रोगको उच्च जोखिमले चिन्तामा किसान

२०८० असोज, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । भारतीय सीमा नजिकका क्षेत्रमा केरामा लाग्ने पानामा रोग ( टीआर–४) देखिएपछि चितवनका किसान चिन्तित बनेका छन् । भारतीय सीमा नजिक भएकाले यो रोगको जोखिममा पर्नसक्ने देखिएपछि किसान चिन्तित बनेका हुन् । केराको बिरुवा, पात, डाँठबाट सर्ने भएकाले यसको सतर्कताका लागि बिहीवार नारायणगढमा किसान, व्यवसायी र कृषि ज्ञान केन्द्रबीच छलफल भएको छ । 

छलफलमा चितवनका किसान एवं केरा उत्पादक संघ, चितवनका पूर्व अध्यक्ष यज्ञ सुवेदीले भारतीय सीमा नजिक रहेका जिल्लामा यो रोग देखिएसँगै चितवनमा पनि जोखिम बढेकोे बताए । ढुवानी गर्ने सवारीमा केराको डाँठ, पात समेत ल्याएको पाइएकाले यो तत्काल रोक्नुपर्ने उनको भनाइ छ । भारत तथा एक जिल्लाबाट अर्को जिल्लामा केरा लैजाँदा कार्टोन, क्रेट, बोरामा प्याकिङ गर्नुपर्ने उनले बताए । ‘हामी सबैले समयमै सतर्कता अपनाउनुपर्छ, नत्र करोडौंको घाटा खानुपर्ने अवस्था आउँछ,’ सुवेदीले भने । 

यो रोग लागेमा केराको पातको डाँठ पहेँलो भएर भाँचिने, केराको थम्बाभित्र खैरो कालो भई चिरिने र बोट मर्ने बताइएको छ ।

अर्का किसान तथा संघका पूर्व अध्यक्ष विष्णुहरि पन्तले यो रोग घातक रहेकाले तत्काल यसको सावधानीका उपाय अवलम्बन गर्नुपर्ने बताए । उनले भने, ‘चितवनमा केही ठाउँमा देखिए मात्र पनि यसले चितवनका सबै बगान सखाप पार्छ ।’ उनले पानामा रोग देखिएका ठाउँको केरा ढुवानी गर्दा प्याकेजिङ भए नभएको हेर्नुपर्ने, सवारीसाधनमा ब्लिचिङ पाउडर छर्ने र हरेका जिल्लाको सिमानामा निगरानी गर्नुपर्नेमा जोड दिए । 

संघका निवर्तमान अध्यक्ष घननाथ महत्तोले केराको बिरुवामा रहेको माटोबाट सर्ने भएकाले कृषि अनुुसन्धान केन्द्र (नार्क)ले भारतबाट आउने बिरुवामा रोक लगाउनुपर्ने बताए । सहभागी व्यवसायीले राज्यको संयन्त्र बलियो हुनुपर्ने भन्दै अन्तर जिल्ला ढुवानीमा केरा खरीद विक्री गर्न रोक लगाउनुपर्नेमा उनले जोड दिए । 

कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत इन्द्र ढुंगानाले पटक पटक गरी ८ पटक परीक्षण गर्न पठाइए पनि हालसम्म यसको लक्षण नदेखिएको बताए । उनले भने, ‘रोग नदेखिए पनि उच्च जोखिम छ ।’ यसले केरामा असर गरे पनि मानव स्वास्थ्यमा भने असर नपर्ने उनको भनाइ छ । ज्ञान केन्द्रले यसबाट जोगिन जैविक सुरक्षा अवलम्बन गर्न आग्रह गरेको छ । केन्द्रका अनुसार यो रोग हाल जी नाइन जातको केरामा देखिएको हो । मालभोग केरामा चितवनमा ‘टीआर–१’ मात्र देखिएको छ । यो रोग लागेमा केराको पातको डाँठ पहेँलो भएर भाँचिने, केराको थम्बा भित्र खैरो कालो भई चिरिने र बोट मर्ने बताइएको छ ।

संघका अध्यक्ष माधव घिमिरेका अनुसार चितवनमा २ हजार २५० हेक्टर जमीनमा केराखेती गरिएको छ । त्यसमध्ये ४०० हेक्टरमा मात्र जी–नाइन जातको केराखेती गरिएको छ । चितवनमा वार्षिक ५४ हजार २४३ मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ । वर्षमा २ अर्बभन्दा बढीको केराको विक्री वितरण हुने संघको अनुमान छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)