ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीउ र तरकारी बेचेर वार्षिक १४ लाखभन्दा बढी आम्दानी

२०८० असोज, १५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी तरकारी तथा बीउ बिक्री गरेर वार्षिकरूपमा रु १४ लाख बढी आम्दानी गर्दै आएका छन् । 

डुम्रेले जनकदेव, खुमल रातो खुमल उज्वल, एमएस ४२ जातको आलुको बीउ विक्रीबाट वार्षिकरूपमा रु पाँच लाख, बोडी विक्रीबाट रु तीन लाख ५० हजार, घिरौंला, काँक्रा, करेला र लौका विक्रीबाट रु दुई लाख, रामधानको बीउ विक्रीबाट रु एक लाख ५० हजार, अरुण दुई जातको मकैको बीउ विक्रीबाट रु ८० हजार गरी वार्षिक औसतमा रु १४ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । 

भारत, मलेसिया तथा जापानमा करीब १८ वर्ष वैदेशिक रोजगारीबाट स्वदेश फर्किएर उनले कृषि काम गर्न थालेका हुन् ।

‘विभिन्न देशमा रोजगारी गरें । अहिले आफ्नै देशमा फर्केर कृषि कार्य गर्दै आएको छु,’ उनले भने, ‘चन्द्रकान्त डुम्रे कृषि फार्म दर्ता गरी झण्डै ११ वर्षअघिदेखि व्यावसायिक कृषिको शुरुआत गरेको हुँ ।’ 

सुरुमा आफ्नै तीन रोपनी जग्गाबाट कृषि कर्म थालेका डुम्रेले कृषिमा सम्भावना देखे । हाल आफ्नो पाँच रोपनी र अरुको करीब १५ रोपनी जग्गा भाडामा लिएर करीब २० रोपनी क्षेत्रफलमा मौसमी तथा बेमौसमी तरकारी तथा धान र आलुको बीउ उत्पादन गर्दै आएका छन् उनले । 

‘मेरो मुख्य पेसा नै कृषि हो, मैले गरेको कार्यबाट म सन्तुष्ट छु,’ उनले भने, ‘उत्पादित कृषिजन्य वस्तुको बजारीकरणको कुनै किसिमको समस्या छैन ।’ 

बाह्रै महीना सिँचाइका लागि पानीको सुविधा भएकाले उनले वर्षमा तीन बाली लगाउने गरेका छन् । तरकारी स्थानीय बजारमै खपत हुने गरेको छ । मकै, धान, गहुँ, आलुको बीउ नगरपालिका, गाउँपालिका, कृषि ज्ञान केन्द्र, कृषि विकास स्रोत केन्द्र तथा सरकारी सङ्घसंस्थाको समन्वयका आधारमा सजिलैसँगै विक्री हुने गरेको उनी बताउँछन् । 

जिमुहा विभिन्न जातका तरकारी तथा आलु र धानको पकेट क्षेत्र हो । यहाँबाट बर्सेनि लाखौंको तरकारी तथा बीउ निर्यात हुने गरेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)