ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संकटमा सौराहाको पर्यटन, सिजन शुरु हुँदा पनि होटल खाली !

२०८० असोज, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । देशको तेस्रो ठूलो पर्यटकीय गन्तव्यको रूपमा परिचित सौराहा अहिले सुनसान छ । पर्यटन सिजन शुरु भइसक्दा पनि पर्यटक नआएपछि व्यवसायीहरू निराश बनेका छन् । सिजन शुरु भइसक्दा पनि होटल बुकिङ नभएपछि उनीहरू निराश बनेका हुन् । यतिबेला सौराहामा १० प्रतिशतभन्दा कम पर्यटक आएको व्यवसायी बताउँछन् । 

क्षेत्रीय होटल संघ, सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे थिलथिलो भएको पर्यटन व्यवसाय पलाउने आशा भए पनि अन्योलमा रहेको बताउँछन् । ‘हामी त पर्यटकको लागि स्वागत गर्न तयारमै छौं । तर, पर्यटक नै छैनन्,’ उनी भन्छन् । 

देशमा भएको आर्थिक मन्दीका कारण आन्तरिक पर्यटकसमेत आउन छाडेको उनले बताए । ‘एक त देश नै आर्थिक संकटमा छ, अर्को कुरा हवाई उडान महँगो र सडक पनि बिग्रिएको छ,’  उनले कारण खुलाए । अहिले नेपाल आएका पर्यटकहरू ट्रेकिङ्गमा गएको र आगामी महिनाबाट सौराहामा आउने उनको भनाइ छ । 

पछिल्ला पुस्ताका व्यवसायीमा पहिलेकाजस्तो जोश र जाँगर नभएको र नयाँ प्रडक्ट पनि भित्र्याउन नसकेकोले पनि पर्यटक घटेको हुन सक्ने कतिपयको अनुमान छ । ‘सौराहाको विश्वभर परिचित छ । र, यसको आफ्नै ब्राण्ड छ । तर, हामी पछिल्ला पुस्ताहरूले नयाँ प्रडक्ट पनि भित्र्याउनै सकेनौं,’ संघका निवर्तमान अध्यक्ष दीपक भट्टराईले भने ।

सौराहा विश्वभर जंगल सफारीको नामले परिचित छ । तर, यहाँ आउने अधिकांश पर्यटक जंगल सफारीमा रुचि राख्दैनन् । जंगलमा हुने सुरक्षा चुनौती, एनिमल राइट्स र अन्य कारणले पनि हात्ती सफारी, जंगल वाकिङ्गमा जाने पर्यटक कम भएका हुन् । 

हाल देशमा उत्पादन गर्ने र उपभोग गर्ने युवाशक्ति नै बाहिर जाने क्रम बढेको भए पनि आन्तरिक पर्यटकमा ठूलो ह्रास भएको भट्टराईको भनाइ छ । 

आर्थिक मन्दी, बढ्दो व्याजदर, बढ्दो चालु खर्च धान्न नसकेका कारण कतिपय ठूला पर्यटन व्यवसायी पनि विदेश पलायन हुन थालेका छन् । ‘यस्तो मन्दी र संकट कोरोनाकालमा पनि हामीले अनुभव गरेका थिएनौं,’ क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष गंगा गिरी भन्छन्, ‘अहिले सौराहामा पर्यटकको अवस्था १० प्रतिशत भन्दा कम छ ।’ 

शत प्रतिशत पर्यटक भरिभराउ हुँदा पनि २० प्रतिशत भन्दा बढी फाइदा नहुने उनको भनाइ छ । होटलहरू फाइदाका लागि नभई घाटा कम गर्न चलाउनुपर्ने अवस्था रहेको उनले सुनाए । संघीय सरकारको नीति र स्थानीय सरकारले पनि चासो कम हुँदा पर्यटन व्यवसाय संकटमा पर्दै गएको गिरीको भनाइ छ । 

हाल सौराहामा ठूला साना गरी करीब १४० ओटा होटल छन् भने ८० ओटाको हाराहारीमा रेष्टुरेण्ट एण्ड बार छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)