ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतीय रेलवेले रोक्यो डस्टी कार्गो अनलोड

२०८० असोज, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज। भारतीय रेलवेले रक्सौल यार्डमा डस्टी कार्गो अनलोडमा फेरि रोक लगाएको छ । त्यहाँको अदालतमा यस सम्बन्धमा मुद्दा परेको भन्दै रेलवेले रक्सौलमा कोइला, जिप्सम र फ्लाई एस अनलोडमा प्रतिबन्ध लगाएको हो । रेलवेले यही सेप्टेम्बर ३० मा सूचना प्रकाशित गरी त्यस्ता कार्गो अनलोड नगर्न भनेको हो । अहिले ३० सेप्टेम्बर अघिका कार्गो अनलोड भइरहे पनि त्यसयताका कार्गो अनलोड नहुने रेलवे अधिकारीहरूले बताएको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले जानकारी दिए । 

यसअघि पनि रक्सौल यार्डमा डस्टी कार्गो लोड–अनलोडको विषय विवादित बनेको थियो । यस्तो कार्गोका कारण त्यहाँ वातावरणीय प्रदूषणको समस्या भएको भन्दै स्थानीयले अवरोध गर्दै आएका छन् । यो विवाद बारम्बार अदालतमा पुग्ने गरेको छ । रक्सौलमा डस्टी कार्गो लोडअनलोडमा बारम्बार अवरोध हुँदै आएको आयातकर्ताको गुनासो छ । 

मितेरीपुल–वीरगञ्जबाट हुँदै आएको कार्गो ढुवानी केही महीनाअघि एकीकृत जाँच चौकीबाटै गर्नुपर्ने व्यवस्था लागू गरिएको थियो । त्यहाँसम्म पहुँचमार्गको प्रभावकारी प्रबन्धविनै ढुवानी रुट फेरिएको भन्दै आयातकर्ताले विरोध गरेका थिए । अहिले कार्गो आईसीपीबाटै जाँचपास भइरहेको छ । 

अहिले फेरि रक्सौलमा अनलोड गर्न नदिने भन्दै नयाँ समस्या खडा गरिएको उपाध्यक्ष राजपालले बताए । रक्सौल यार्डमा कार्गो अनलोडमा लगाइएको रोक फिर्ता लिन संघले आग्रह गरेको छ । 

‘नेपालका लागि यस्तो कार्गो आउने नाका वीरगञ्जमात्रै भएकाले अनलोडमा रोक लगाएर आयात अवरुद्ध बनाइनु भूपरिवेष्टित मुलुकले पाउनुपर्ने पारवहनको अधिकारविपरीत काम हो । हामीले भारतीय पक्षलाई यसो नगर्न आग्रह गरेका छौं,’ राजपालले भने ।

संघले यसमा सहजीकरणका लागि वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासलाई पत्राचार गरेको छ । कोइलाको धूलो जलेपछिमात्रै प्रदूषण हुने संघको भनाइ छ । रेलवे यार्डमा अहिले धूलो नियन्त्रणका लागि ट्याक्टरबाट पानी छर्किने काम भइरहेको संघले बताएको छ । 

अझ प्रभावकारी रूपमा धूलो नियन्त्रणका लागि पानीको फोहोरा जडान गर्न पनि आयातकर्ताले आग्रह गरेका छन् । वीरगञ्जको सुक्खा बन्दरगाहमा पनि डस्टी कार्गो अनलोडको पूर्वाधार बनेको छ । तर, यो संरचनामा अनलोडन गर्ने स्थान अव्यवस्थित रहेको आयातकर्ताले बताउने गरेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)