ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अपेक्षाअनुसार बढेन तयारी पोशाक निर्यात, राज्यबाट प्रोत्साहन नपाएको व्यवसायीको गुनासो

२०८० असोज, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । पछिल्लो चार वर्षमा तयारी पोशाक निर्यात बर्सेनि बढ्दै गएको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) ०७६/७७ मा नेपालले रू. ४ अर्ब ३५ करोडभन्दा बढीको तयारी पोशाक निर्यात गरेको थियो । यस्तै, आव ०७७/७८ मा रू. ४ अर्ब ७९ करोडको, आव ०७८/७९ मा रू. ६ अर्ब ४९ करोडको र आव ०७९/८० मा ७ अर्ब ५२ करोडको तयारी पोशाक नेपालले निर्यात गरेको तथ्यांक छ । विभागका अनुसार पछिल्लो पाँच वर्षमा भने नेपालबाट रू. २८ अर्ब ७७ करोडको तयारी पोशाक निर्यात भएको छ । 

नेपालबाट तयारी पोशाक निर्यात बढे पनि आशातितरूपमा बढ्न नसकेको यस क्षेत्रमा संलग्न व्यवसायीहरू बताउँछन् । सरकारले चासो नदिँदा यो अवस्था आएको उनीहरूको आरोप छ । सरकारले प्रोत्साहन गरे तयारी पोशाक निर्यातमा फड्को मार्न सकिने उनीहरू दाबी गर्छन् । 

नेपाल तयारी पोशाक संघका अध्यक्ष पशुपति देव पाण्डे सरकारले यस क्षेत्रका उद्योगलाई बेवास्ता गरेको आरोप लगाउँछन् । ‘सरकारले यस क्षेत्रका उद्योगलाई प्रोत्साहन गर्ने हो भने निर्यातमा ठूलो फड्को मार्न सकिन्छ । र, अर्बाैं रुपैयाँ भित्र्याउन सकिन्छ,’ उनी भन्छन् । निर्यात अझै बढाउन तयारी पोशाक निर्यातमा भन्सार छूट दिनुपर्ने उनको भनाइ छ । 

‘नेपाल र बंगलादेशमा करीब एउटै समयमा तयारी पोशाक उद्योग शुरु भएको थियो । अहिले बंगलादेशले नेपालको भन्दा झण्डै ६२ गुणा बढी उत्पादन निर्यात गर्ने गरेको छ,’ पाण्डे भन्छन्, ‘बंगलादेशको सरकारले यस उद्योगलाई प्रोत्साहन गरेसँगै त्यहाँको उद्योगहरूले फड्को मारिसकेको अवस्था छ । बंगलादेशले शुरुमा नै तयारी पोशाक निर्यातमा २६/२७ प्रतिशत भन्सार छूट दिएको थियो । तर, हाम्रो सरकारले त्यसबेला चासो नदिँदा हामी पछि परिरहेको अवस्था छ ।’ 

पाण्डेका अनुसार यस क्षेत्रमा करीब १०० ओटा उद्योगहरू छन् । यी उद्योगहरूमा १५ देखि २० हजारले प्रत्यक्ष रोजगारी पाइरहेको अवस्था छ । त्यसकारण थप रोजगारी बढाउनका लागि पनि यस क्षेत्रका उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ । उनी यस क्षेत्रका उद्योग फस्टाउनका लागि अन्तराष्ट्रिय स्तरका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँछन् । 

यो आवमा अमेरिकामा सर्वाधिक निर्यात 

चालू आवमा नेपालबाट अमेरिका, बेलायत, जर्मनी, फ्रान्स लगायतका १० मुलुकहरूमा ८० प्रतिशतभन्दा बढी निर्यात भएको छ । आव २०७९÷८० मा नेपालबाट अमेरिकामा सर्वाधिक पोशाक निर्यात भएको छ । विभागका अनुसार यस आवमा अमेरिकामा मात्रै २२ प्रतिशत अर्थात् १ अर्ब ७० करोड रुपैयाँको पोशाक निर्यात भएको छ । 

सर्वाधिक तयारी पोशाक निर्यात हुने सूचीको दोस्रोमा बेलायत छ । बेलायतमा १४ प्रतिशत अर्थात् १ अर्ब ८ करोड रुपैयाँको तयारी पोशाक निर्यात भएको छ । यो सूचीमा तेस्रोमा रहेको जर्मनीमा १२ प्रतिशत अर्थात् ९५ करोड रुपैयाँको पोशाक निर्यात भएको छ ।  

पाँच वर्षमा तयारी पोशाक निर्यातको अवस्था 

स्रोत : भन्सार विभाग

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)