ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर धितो कर्जा : सीमा वृद्धिमा लगानीकर्ता असन्तुष्ट

२०८० असोज, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं। नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाए पनि अगुवा लगानीकर्ताले त्यसमा असन्तुष्टि व्यक्त गरेका छन् । केन्द्रीय बैंकले असोज १८ गते एकीकृत निर्देशन, २०७९ संशोधन गर्दै शेयर धितो कर्जाको सीमा व्यक्तिगत लगानीकर्तालाई १५ करोड र संस्थागतलाई २० करोड रुपैयाँ कायम गरेको छ । 

राष्ट्र बैंकले आर्थिक वर्ष (आव) २०७८/७९ को मौद्रिक नीतिमा शेयर धितो कर्जाको अधिकतम सीमा १२ करोड रुपैयाँ कायम गरेको थियो । 

शेयर धितो राखी प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतप्राप्त वित्तीय संस्थाबाट लिन सक्ने गरी राष्ट्र बैंकले अधिकतम सीमा १२ करोड रुपैयाँ कायम गरेको थियो । उक्त आव शेयर धितो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरिएको थियो ।

उक्त व्यवस्थालाई आव २०७९/८० को मौद्रिक नीतिले एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट लिन पाउने अधिकतम ४ करोड कर्जाको सीमा हटाउँदै यसको एकल ग्राहक सीमा सबै वित्तीय संस्थाबाट लिन सक्ने गरी अधिकतम १२ करोड रुपैयाँ कायम गर्‍यो ।

राष्ट्र बैंकले मार्जिन कर्जाको सीमा तोकेकै कारण धितोपत्र दोस्रो बजारमा नकारात्मक असर परेको भन्दै अगुवा लगानीकर्ताले उक्त सीमा खारेजीको माग गर्दै आएका थिए । दुई वर्षदेखिको लगानीकर्ताको मागमा राष्ट्र बैंक अहिले आएर केही लचिलो बनेको हो । 

अहिले आएर कुनै एक वा सबै इजाजतपत्रप्राप्त वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा १५ करोड रुपैयाँ कायम गरिएको हो । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यसहित स्थापित संस्थागत लगानीकर्ताका लागि यो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ तोकिएको छ । 

पछिल्लो समय अर्थ मन्त्रालय र धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्ड पनि शेयर धितो कर्जाको सीमा बढाउनुपर्ने पक्षमा थिए । अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले व्यक्तिगत लगानीकर्ताको हकमा २० करोडसम्मको सीमा कायम गर्न सुझाएका थिए । संस्थागत लगानीकर्ताको हकमा खुला सीमाको धारणा अर्थमन्त्री र बोर्ड अध्यक्षको थियो । राष्ट्र बैंकले केही लचिलो बन्दै शेयर धितो कर्जाको सीमा बढाए पनि बजारका लागि कुनै राहत नहुने तर्क लगानीकर्ताले गरेका छन् ।

नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले राष्ट्र बैंकले आफ्नै गोजीबाट निकालेर दिनुपर्नेझैं गरी कन्जुस्याइँ गरेको प्रतिक्रिया दिए । उनले व्यक्तिगतको हकमा २० करोड र संस्थागतलाई ५० करोड रुपैयाँको सीमा कायम गरेको भए राम्रो हुने धारणा राखे । 

नेपाल पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल राष्ट्र बैंकले खर्बौंको बजारसँग लंगुरबुर्जाको जस्तो व्यवहार गरेको आरोप लगाउँछिन् । राष्ट्र बैंकको चेपुवा नीतिबाट धितोपत्र बजार थिलथिलो बनेको उनले बताइन् । 

नेपालको धितोपत्र बजार टुकुटुुकु हिँड्न थालेको बेला नियामक निकायले बेलाबेलामा बेमौसमी बाजा बजाउने गर्दा आम लगानीकर्ताको सम्पत्ति गम्भीर जोखिममा पर्ने गरेको भन्दै पोखरेलले लगानीकर्ताको चहर्‍याइरहेको घाउमा राष्ट्र बैंकले नुनचुक छर्किएको प्रतिक्रिया दिइन् । 

त्यस्तै शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले आफूहरूले शेयर धितो कर्जाको सीमा खारेजीको माग गरे पनि राष्ट्र बैंकले सीमा बढाएर केही लचकता देखाएकोप्रति आंशिक सन्तुष्टि रहेको बताए । राष्ट्र बैंकले शेयर, घरजग्गा र अटो कर्जामा केही लचिलो व्यवस्था गरेकाले यसको प्रभाव अर्थतन्त्रमा सकारात्मक पर्न सक्ने फुल्लेलले अनुमान गरेका छन् । पछिल्लो समय अर्थतन्त्र सकारात्मक गतिमा अघि बढिरहेको र वित्तीय प्रणालीमा तरलता सहज भएको अवस्थामा धितोपत्र बजारलाई कस्ने ठाउँ राष्ट्र बैंकसँग नभएकाले आगामी दिनमा राष्ट्र बैंकले सहज नीति लिँदै जाने विश्वास उनले व्यक्त गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)