ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्सेले बुझायो सेबोनमा स्पष्टीकरण: कारबाही गर्नुपर्ने अवस्था नभएको जिकीर

२०८० असोज, २४  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सफाइ पेश गरेको छ । सेबोनले कारबाही गर्ने तयारीसाथ नेप्सेलाई स्पष्टीकरण सोधेको थियो । 

नेप्सेले नै लागू गरेको धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ का केही व्यवस्था कार्यान्वयन नगरेको भन्दै सेबोनले उसलाई कारबाही गर्न खोजेको हो । कारबाही गर्ने सेबोन सञ्चालक समितिको निर्णय कार्यान्वयन गर्नुपूर्व नेप्सेलाई असोज ४ गते १५ दिनभित्र सफाइ पेश गर्न निर्देशन दिँदै बोर्डले पत्र पठाएको थियो । असोज १८ गते बसेको नेप्से सञ्चालक समिति बैठकले सेबोनलाई स्पष्टीकरण पठाउने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्दै असोज १९ गते स्पष्टीकरण पठाइएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए ।

सेबोनको पत्र आउँदा नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की देशबाहिर रहेकाले सफाइ पठाउन ढिलो भएको पराजुलीले बताए । सेबोनले उठाएका धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ का व्यवस्था परिपालन भइरहेको हुँदा धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ (७) आकर्षिक हुने अवस्था नरहेकाले सेबोनले उठाएको प्रश्नबमोजिम कारबाही हुने अवस्था नरहेको सफाइ नेप्सेले पेश गरेको पराजुलीको भनाइ छ । 

नेप्सेले कारबाही गर्ने उद्देश्यसाथ सेबोनले सफाइका लागि पठाएको पत्र खारेजभागी रहेको ठहर गर्दै खारेज गर्न माग गरेको सूचना अधिकारी पराजुलीले बताए । नेप्सेले गरेको कसुरको प्रकृति उल्लेख गर्दै सेबोनले पत्र पठाएको थियो । सेबोनका अनुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २१ (ढ) अनुसार नेप्सेले सञ्चालनमा ल्याएको कारोबार व्यवस्थापन प्रणाली विनियम २१ (क) ले तोकेको मापदण्डअनुसार छैन । 

कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) र धितोपत्र बजारको विद्युतीय कारोबार प्रणाली (नट्स) को सञ्चालन तथा मर्मतसम्भार एउटै सेवाप्रदायक संस्था वा कम्पनीले गर्न नपाउने व्यवस्थाविपरीत एउटै कम्पनीबाट सञ्चालन र मर्मतसम्भार गरेको सेबोनको आरोप छ । यी प्रणाली सञ्चालनका लागि अनुभव र योग्यतासहितको जनशक्तिसम्बन्धी व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा नआएको सेबोनको भनाइ छ । यस सम्बन्धमा नेप्सेलाई स्पष्ट जानकारी तथा विवरण पठाउन विभिन्न मितिमा पत्रचार गर्दा स्पष्ट जानकारी नदिई उक्त व्यवस्था कार्यान्वयनका सम्बन्धमा कारोबार सदस्यलाई सोधेको जानकारी मात्र पठाएकोमा सेबोन नेप्सेसँग असन्तुष्ट छ ।

नेप्सेले उक्त विषयमा सफाइ पेश गर्दै टीएमएस तोकिएको मापदण्डअनुसार नै सञ्चालन भइरहेको बताएको छ । टीएमएससम्बन्धी सम्पूर्ण पहुँच सम्बद्ध कारोबार सदस्यलाई दिएको जवाफ नेप्सेले पठाएको छ । जनशक्तिसम्बन्धी मापदण्डमा उल्लेख भएबमोजिमका व्यवस्था २१ कारोबार सदस्यमा पूर्ण रूपमा लागू भएको र ३४ कारोबार सदस्य पूर्ण रूपमा लागू गर्ने चरणमा रहेको नेप्सेको भनाइ छ । 

नट्सको सञ्चालन नेप्सेले नै गर्दै आइरहेको तथा मर्मतसम्भारसम्बन्धी कार्य गर्ने वाइको प्राइभेट लिमिटेडसँग सम्झौता गरिएको विषय सेबोनलाई गत साउन १५ गते पत्रमार्फत जानकारी गराइएको नेप्सेले स्पष्ट पारेको छ । नट्सको २२ मोडेलमध्ये एउटा मोडेल नेप्सेले सम्बद्ध धितोपत्र दलाललाई सञ्चालनका लागि उपलब्ध गराएको तथा यसको सम्पूर्ण अधिकार नेप्सेमा निहित रहेको भनिएको छ । 

नेप्सेको अधिकांश पूँजी संरचनामा नेपाल सरकार, सरकारी सार्वजनिक संस्थाका साथै सदस्य व्यवसायीको समेत योगदान रहेको भन्दै नेप्सेले पूँजी संरचनालाई समयसापेक्ष विस्तार गरी नेपालको धितोपत्र बजारलाई राष्ट्र तथा आम सर्वसाधारणको हितमा प्रभावकारी रूपमा अघि बढाउन लागिपरेको बताएको छ ।

सेबोनले पछिल्लो समय कारबाहीको प्रक्रियालाई निरन्तर अघि बढाइरहेको छ । केही अघि सेबोनले रेटिङ एजेन्सी केयर रेटिङ नेपाललाई जरीवानासहित कारबाही गरेको थियो । केयर रेटिङ नेपालले कानूनविपरीत रेटिङ गरेको ठहर गर्दै सेबोनले ५० हजार रुपैयाँ नगद जरीवाना गराएको हो । सेबोनले रेटिङ कम्पनीलाई पहिलोपटक कारबाही गरेको हो । यसबाहेक ब्रोकर कम्पनी, संस्थागत लगानीकर्ता र मर्चेन्ट बैंकरलाई समेत सेबोनले कारबाही गरिसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)