ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मन्त्रिपरिषद्ले गरेका निर्णय अख्तियारले हेर्नेबारे सांसदबीच मतभेद

२०८० असोज, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं। अख्तियार सम्बन्धी विधेयकमाथि संसदीय समितिमा बृहत् छलफल भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयकमाथिको बुधवारको छलफलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अख्तियारमा नियुक्ति प्रक्रिया नै त्रुटिपूर्ण रहेको बताएका छन् ।

राज्यव्यवस्था समितिको बैठकमा बोल्दै थापाले नियुक्ति प्रक्रियामा दलगत हस्तक्षेप हुन नहुने धारणा राखे । अख्तियार पदाधिकारी नियुक्तिमा दलगत भागबण्डाले जरामै समस्या रहेको उनले बताए । दलगत हस्तक्षेप गर्दा पछिल्लो समय अदालत समेत तानिने र मुछिने अवस्था बनेको उनको भनाइ थियो ।

अख्तियार दुरुपायोग अनुसन्धान आयोग सम्बन्धी विधेयकमाथिको छलफलमा थापाले भने, ‘नियुक्तिको मापदण्ड, यसको प्रक्रिया नबदलीकन यसले परिणाम दिँदैन ।’ नीतिगत निर्णय के हो भनी कानूनमै स्पष्ट खुल्नुपर्ने थापाको धारणा छ । ‘के कुरा नीतिगत हो र होइन भनी कानूनले नै स्पष्ट गरेपछि मात्र नीतिगत विषय टुंगिन्छ,’ उनले भने, ‘मन्त्रिपरिषद्ले सबै कुरा नीतिगत गर्दैन । केही कुरा नीतिगत गर्दछ, केही कुरा गर्दैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले अख्तियारले भ्रष्टाचारीलाई कारबाही गर्छ भन्ने विश्वास आम मानिसलाई नरहेको बताएका छन् । अख्तियारले दायर गरेको मुद्दाको संख्या निरन्तर घटेको र त्यसमा पनि दोषी ठहर हुने प्रतिशत निकै कम रहेको उनले बताए । 

‘सोझा सीधा निमुखालाई राम्रै काम गर्दा पनि अख्तियार लाग्ला कि, प्रहरीले समाउला कि, सरकार लाग्ला कि भन्ने डर छ,’ उनले भने, ‘अरूलाई चाहिँ डर र भर गयो । अख्तियारको दाह्रा पनि रहेन, नंग्रा पनि भएन ।’

नेकपा एमालेका सांसद रघुजी पन्तले सबै नीतिगत निर्णय अख्तियारलाई छानबिन गर्न दिँदा प्रधानमन्त्रीको कार्यकारी अधिकार कमजोर बन्ने बताए । अख्तियारलाई सबै निर्णय छानबिन गर्न दिँदा प्रधानमन्त्री बलियो हुन नसक्ने धारणा उनको छ । मन्त्रिपरिषद्का निर्णय पनि हेर्ने र प्रधानमन्त्रीको अधिकार पनि नखोसिने गरी मध्यकारी प्रावधान बनाउन जरुरी रहेको उनले औंल्याए । संवैधानिक ढाँचाभित्र सन्तुलन खोज्दा दुवै पक्षलाई राम्रो हुने उनको भनाइ थियो । समितिको बैठकमा अन्य सांसदहरूले अख्तियारले अहिले गरिरहेका कामकारबाही चित्तबुझ्दो नभएको भन्दै प्रश्न उठाएका थिए । सांसदले उठाएको प्रश्नको जवाफमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयको सम्बन्धमा स्पष्ट परिभाषा हुनुपर्ने बताएका छन् । बैठकमा बोल्दै प्रमुख आयुक्त राईले मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयमा स्पष्टता हुनुपर्नेमा जोड दिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हालसम्म मन्त्रिपरिषद्ले गरेका सबै निर्णय नीतिगत निर्णय हुन् भन्ने बुझाइमा रहेको उनले बताए ।

राईले खरीदका र अप्ठ्यारो विषय मन्त्रिपरिषद्मा निर्णयका लागि पठाइने गरेको बताए । वास्तविक र गलत नीतिगत निर्णयको सम्बन्धमा स्पष्ट रूपमा परिभाषित हुनुपर्ने उनको भनाइ छ । विभिन्न निर्णयको सम्बन्धमा विवाद आउने गरेको भन्दै उनले यस विषयमा गम्भीर रूपले सोच्नुपर्ने बताए ।

प्रमुख आयुक्त राईले भ्रष्टाचार अन्तरराष्ट्रियकरण भएको भन्दै ठूलाठूला कारोबार नेपालभित्र नहुने बताए । ठूला कारोबारको ‘डिलिङ’ सिंगापुर, हङकङ, यूएईलगायत मुलुकमा हुने गरेकाले प्रमाण संकलनमा समस्या पर्ने गरेको उनको भनाइ छ । यस्तै अनुचित लेनदेनको विषय अख्तियारले हेर्न नपाउने गरेको भन्दै उनले यसले पनि अनुसन्धानमा असर परेको बताए । समितिको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता परिवर्तनको खाँचो रहेको औंल्याइन् । सार्वजनिक लाभको पदमा बसेका व्यक्तिको मानसिकताका कारण भ्रष्टाचार भइरहेको उनले बताइन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार रोक्ने नभई भ्रष्टाचारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने विषयमा सबै स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ।

मन्त्री शर्माले मन्त्रिपरिषद्ले गर्ने सबै निर्णयलाई नीतिगत निर्णयको रूपमा हेर्न नहुने बताइन् । ‘मन्त्रिपरिषद्ले गरेका निर्णय नीतिगत हुन् वा अन्य निर्णय हुन् भन्नेमा भेद छुट्ट्याउनुपर्ने आवाज उठ्यो । मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयलाई स्पष्ट रूपमा छुट्ट्याउन आवश्यक छ,’ उनले भनिन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)