ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युत् प्राधिकरणलाई उद्योगीको प्रश्न : २५ प्रतिशत चल्दा त विद्युत् छैन, पूर्ण क्षमतामा चले के होला ?

२०८० असोज, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । बजारमा माग खुम्चिएकाले क्षमताको एक चौथाइमा उद्योग चलाएका उद्यमीलाई यति बेला नयाँ चिन्ताले सताउन थालेको छ । नेपाल विद्युत् प्राधिकरणको आपूर्ति अव्यवस्थाले बारा–पर्साका उद्यमीलाई चिन्तित बनाएको हो । 

‘अहिले उद्योगहरू क्षमताको २५ प्रतिशत हाराहारीमा चलिरहँदा त प्राधिकरणले विद्युत् आपूर्ति दिन सकेको छैन, भोलि बजार लयमा फर्किएपछि उद्योग पूर्ण क्षमतामा चल्ने अवस्था आयो भने के होला ?’ वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष हरि गौतमले प्रश्न गरे । गौतमको यो प्रश्न बारा–पर्साका उद्योगीहरूको साझा हो । बिहीवार नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालसँगको अन्तरक्रियामा उद्यमीहरूले यस्तो चिन्ता प्रकट गरेका हुन् । बारा– पर्सा औद्योगिक कोरिडोरका उद्योगका लागि ३ सय मेगावाट विद्युत् आवश्यक पर्नेमा अहिले प्राधिकरणले त्यसको आधा पनि नदिएको उद्यमीहरूले बताए । 

कोरिडोरमा दैनिक ८ देखि १० पटकसम्म ट्रिपिङ हुने गौतमले बताए । ‘नियमित र गुणस्तरीय आपूर्ति छैन । बारम्बारको ट्रिपिङले उद्योगका उकरण बिग्रिने, कच्चा पदार्थ खेर जानेजस्ता समस्या झेल्नु परेको छ,’ उनले भने, ‘विद्युत्को समस्या औद्योगिक क्षेत्रको मात्र होइन, समग्र विकासकै समस्या हो ।’ नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले विद्युत्को व्यापारमा एकाधिकार लिएर बसेकै कारण प्राधिकरणले मनोमानी मच्चाएको आरोप लगाए । प्राधिकरणमा कुनै पनि सेवाका लागि घूस दिनुपर्ने बाध्यता रहेको उनले बताए । 

विद्युत्को व्यापारमा एकाधिकार लिएर बसेकै कारण प्राधिकरणले मनोमानी मच्चाएको आरोप

‘हामी पैसा तिरेर सेवा लिन्छौं । तर, प्राधिकरणका कर्मचारीको व्यवहार सेवाग्राहीमैत्री छैन । अनेक बहानामा दु:ख दिएर कसरी अनधिकृत रूपमा पैसा लिने भन्नेमात्रै ध्येय देखिन्छ । यो आचरणमा सुधार हुनुपर्छ,’ टेमानीले भने । प्राधिकरणको व्यवस्थापन व्यावसायिक हुन नसकेको उनको टिप्पणी छ । प्राधिकरणको सेवाबाट कुनै पनि ग्राहक सन्तुष्ट नरहेको उनले दाबी गरे । लोडशेडिङ अन्त्य भएयता आपूर्ति लिएको विद्युत्मा समेत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनसरहको महशुल लिन खोजेको भन्दै टेमानीले यसमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्रीको कुरासमेत टार्न खोजेको स्मरण गरे । उद्यमीको कुरा सुनिसकेपछि प्राधिकरणका उपकार्यकारी निर्देशक सिलवालले गुणस्तरीय सेवा दिन नसकेको स्वीकार गरे । उनले प्रसारण लाइनको कमजोर पूर्वाधार मुख्य समस्या रहेको भन्दै सुधारका लागि प्राधिकरणले काम गरिरहेको बताए । 

भरतपुर हेटौंडा प्रसारण लाइन निर्माणको काम पूरा हुन १० वर्ष लागेको स्मरण गर्दै उनले भने, ‘निर्माणमा लाग्ने अनपेक्षित समय, जग्गाप्राप्ति, वनको रुख कटानलगायत कुरा मिलाउनै समस्या छ ।’ गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रणाली सुदृढीकरणमा लागेको भन्दै अहिले २८ सय मेगावाट जडित क्षमतामा २६ सय मेगावाट जति नियमित उत्पादन भइरहेको जानकारी दिए । ‘त्यसमा ६ सय मेगावाटमात्रै प्राधिकरणको आफ्नो उत्पादन हो । बाँकी निजीक्षेत्रबाट किन्ने हो । त्योमध्ये १८ सय मेगावाट आन्तरिक माग छ । ६ सय मेगावाट जति निकासी गर्नुपर्ने अवस्था छ,’ सिलवालले भने । 

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठले विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउन यसको व्यापारमा निजीक्षेत्रलाई पनि भित्त्याउन सुझाए । विद्युत् उत्पादन भएरमात्र नहुने भन्दै प्रसारण पूर्वाधारको कमजोरीले गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेको उनको भनाइ छ । 

संघका पूर्वअध्यक्ष प्रदीप केडियाले विद्युत् उत्पादन बढेको र निकासीसमेत भएको सुने पनि उद्योगले गुणस्तरीय आपूर्ति नपाएको बताए । उनले सरकारले उद्योग बन्द गराउन खोजेको त होइन भन्दै कटाक्षसमेत गरे । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)