ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गठबन्धनबाट बाहिरिएर कांग्रेस–एमाले समीकरण : कोशी प्रदेशको आठौं मुख्यमन्त्रीमा केदार कार्की

२०८० असोज, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर। नेकपा माओवादी लगायत दलसँगको गठबन्धन तोड्दै कोशी प्रदेशमा नेकपा एमालेको सहयोगमा नेपाली कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार एमालेका ३९ र नेपाली कांग्रेसका ८ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री भएका हुन् । उनी र मन्त्रीमण्डलका केही सदस्यको शपथ ग्रहण आज (आइतवार) हुनेछ ।

शुक्रवार नै कार्की र माओवादीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश परेका थिए । त्यसपछि शनिवार दुवैलाई प्रदेश प्रमुखको कार्यालयमा गएर हस्ताक्षर सनाखत गरी आफ्नो पक्षमा बहुमत सिद्ध गर्न सूचना जारी गरिएको थियो । सोहीअनुसार शनिवार कार्कीले बहुमत सिद्ध गरेका हुन् । कोशी प्रदेशमा ९३ सांसद छन् ।

कोशी प्रदेशको प्रदेशसभामा मोरङको क्षेत्र नं ६ को २ बाट प्रदेशसभामा दोस्रोपटक नेपाली कांग्रेसबाट निर्वाचित सांसद कार्की प्रदेशसभामा सक्रिय सांसदमध्ये पर्छन् । शुक्रवार प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गरेबमोजिम बहुसंख्यक सांसदको हस्ताक्षर बुझाउँदै कार्कीले मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । शनिवार सांसदहरूले आफ्नो पक्षमा हस्ताक्षर सनाखत गरेपछि कार्कीले मुख्यमन्त्रीमा नियुक्ति पाएका हुन् । उनले अबको एक महीनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

कोशीमा यसअघि विश्वासको मत नपाउने अवस्था बनेपछि असोज २० गते एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनी ३० दिनमै मुख्यमन्त्रीबाट बिदा भएका थिए ।

केन्द्रीय गठबन्धनले मुख्यमन्त्री बनाउन सिफारिश गरेका माओवादी केन्द्रका नेता आङ्बोले पनि दाबी पेश गरेका थिए । तर, कांग्रेसका २९ मध्ये आठ सांसदले प्रदेश प्रमुखको कार्यालयमा आफूहरूको समर्थन कार्कीलाई रहेको भन्दै हस्ताक्षर सनाखत गरेपछि आङ्बो पक्ष गएन ।

कोशीमा यसअघि विश्वासको मत नपाउने अवस्था बनेपछि असोज २० गते एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनी ३० दिनमै मुख्यमन्त्रीबाट बिदा भएका थिए । त्यसअघि मुख्यमन्त्री रहेका उद्धव थापाले भदौ ४ मा लिएको विश्वासको मत संविधानसम्मत नदेखिएपछि सर्वोच्च अदालतले भदौ २१ मा कोशीमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठन गर्न परमादेश दिएको थियो ।

सर्वोच्चको परमादेशपछि भदौ २२ मा एमाले नेता कार्की दोस्रोपटक प्रदेशको मुख्यमन्त्री बनेका थिए । प्रदेशसभा गठनको १० महीनामा कोशीमा सरकार निर्माणको सबै संवैधानिक प्रावधान प्रयोग भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)