ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तस्करीका मुख्य आइटम सीधै बजारमा

२०८० असोज, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज। चाडपर्वको मुखमा महँगीले सर्वसाधारणको ढाड सेकिरहेका बेला वीरगञ्ज र आसपासका क्षेत्रबाट अवैध आयात मौलाएको छ । प्रहरीले स्थानीय बजार र राजमार्गबाट केही ढुवानीका साधन समातेर राजस्व अनुसन्धानमा पठाउने गरे पनि त्यसमा अपेक्षित परिणाम निस्किएको छैन । तर, तस्करीका मुख्य ‘आइटम’ सोझै काठमाडौंलगायत मुख्य शहरमा पुग्ने गरेको व्यापारीहरू बताउँछन् । 

केही समय सुस्ताएको तस्करीले चाडपर्वको मुखमा पुन: गति समातेको हो । स्थानीय प्रहरी प्रशासन र नियन्त्रणका निकायको मिलेमतोमै वीरगञ्ज नाकाबाट काठमाडौं, पोखरा, नारायणगढ लगायत शहरमा पुगिरहेको जानकारहरू बताउँछन् । भन्सारबाट भित्रिनुपर्ने मालसामान आसपासका क्षेत्रबाट अवैध रूपमा आएपछि सरकार एकातिर राजस्वको दबाबमा परेको छ भने यस्तो धन्धालाई राजनीतिको शीर्ष तहबाटै संरक्षण प्राप्त भएको व्यापारीहरू बताउँछन् । 

अहिले सीमाक्षेत्रबाट ७०/७२ रुपैयाँमा अनधिकृत रूपमा भित्रिएको चिनी काठमाडौंमा १४०/१५० रुपैयाँमा विक्री भइरहेको छ । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको र स्वदेशी बजारमा चिनी अभावको मौका छोपेर व्यापक तस्करी भइरहेको छ । 

स्थानीय प्रहरी प्रशासन र नियन्त्रणका निकायको मिलेमतोमै वीरगञ्ज नाकाबाट काठमाडौं, पोखरा, नारायणगढलगायत शहरमा पुगिरहेको जानकार बताउँछन् ।

सरकारले काजुमा उच्च दरको भन्सार महशुल लगाएपछि यसको आयात पनि अवैध रूपमा भइरहेको छ । वीरगञ्ज भन्सारबाट काजुको आयात खासै नभएको भन्सारका सूचना अधिकृत रामचन्द्र ढकालले आर्थिक अभियानलाई बताएका छन् । छोकडा पनि तस्करी भएर भित्रिने वस्तुमा पर्छ । राजस्व छलेर भित्रिएका यस्ता वस्तु स्वदेशी बजारमा उच्च मूल्यमा विक्री भइरहेका छन् । राजस्व चुहावटको अनुसन्धान गर्ने जिम्मेवारी लिएर बसेको अनुसन्धान कार्यालय पथलैयाका सूचना अधिकारी नारायण खत्री चिनी, काजुजस्ता वस्तु तस्करीको सूचना आएको बताउँछन् । ‘यस्ता वस्तु तस्करी भएर भित्रिएको भन्ने सूचना छ । यसमा निगरानी बढाएका छौं,’ खत्रीले भने । 

यता सीमावर्ती क्षेत्र वीरगञ्जमा खटिएको प्रहरीले दिनहुँजसो तस्करीको आरोपमा ढुवानीका साधनलाई नियन्त्रणमा लिने गरेको छ । यसरी नियन्त्रणमा लिइएका साधनलाई प्रहरीले राजस्व अनुसन्धान र भन्सारको जिम्मा लगाउँदै आएको पनि छ । समातिएका मालसामान अनुसन्धानका लागि पठाउने गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले आर्थिक अभियानलाई बताए । अवैध कारोबार नियन्त्रणमा सक्रिय भएको दाबी प्रहरीको छ ।

तर, प्रहरीले अनुसन्धानका लागि पठाएका दुई तिहाइ मालसामानमा कुनै किसिमको कैफियत नभेटिएको तथ्य बाहिर आएको छ । राजस्व अनुसन्धान कार्यालय पथलैयाको तथ्यांकले यस्तो देखाएको हो । 

यसरी अनुसन्धानमा पठाइनेमध्ये सबैभन्दा ठूलो नाका वीरगञ्ज, बारा र मकवानपुरबाट बढी आउने खत्रीले बताए । अनुसन्धान कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोज २० गतेसम्ममा प्रहरीले सो कार्यालयमा ६३ ओटा गाडी पठाएको थियो । तीमध्ये ४१ ओटा गाडीमा कुनै कैफियत फेला नपरेको खत्रीले बताए । 

प्रहरीले पठाएकामध्ये २२ ओटा गाडीबाट अनुसन्धानले २८ लाख १९ हजार १९७ रुपैयाँ जरीवाना असुल भएको जनाएको छ । सो अवधिमा नेपाल प्रहरीले ४७ र सशस्त्र प्रहरीले १६ ओटा गाडी नियन्त्रणमा लिएको थियो । 

‘हामीले नियन्त्रणमा लिएको मालसामानसहित ढुवानीका साधन अनुसन्धानका निकायलाई बुझाउने हो । उहाँहरूले कति जरीवाना भयो भन्ने नियमित जानकारी पनि हामीलाई दिनु हुँदैन । कुनै मिटिङमा यति भयो मात्र भन्नुहुन्छ,’ प्रहरी उपरीक्षक शाहले असन्तुष्टि पोखे ।

प्रहरीले पठाएका ढुवानीका साधनमा मालसामान र कागजात हेर्दा कमैमात्र कैफियत भेटिएको अनुसन्धान अधिकारीहरू बताउँछन् । ‘प्रहरीले समात्नैपर्ने कुरालाई वास्ता नगर्ने । 

तर, अरू सामान जथाभावी समातेर पठाउँदा राजस्व अनुसन्धानको अधिकांश समय यसैमा बित्ने गरेको छ,’ चिनी, काजुलगायत वस्तुमा प्रहरीले ध्यान नदिएकोप्रति एक अनुसन्धान अधिकारीले संकेत गरे । 

प्रहरीले पठाउने सामानमा कपडा, खाद्यान्न, हार्डवेयरलगायत बढी हुने अनुसन्धानले बताएको छ । प्रहरीले समातिएका सामानको बजार मूल्य र ढुवानीका साधनको मूल्यसमेत जोडेर प्रतिवेदन पठाउने गरेको छ । यस्तोमा भन्सारको सूचना मूल्य हेरिनुपर्ने र ढुवानीको साधनको मूल्य राख्न नपाइने भएपछि दाबी गरिएको र वास्तविक रकम पनि नमिलेको अनुसन्धान अधिकारीहरू बताउँछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)