ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अन्तिम चरणमा

२०८० असोज, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं। २०७९ असोज २ गतेदेखि शुरू भएको नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । बोर्डले गतवर्ष असोज २ गते नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि आवेदन माग गरेको थियो । असोज ३१ गतेसम्म बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ ओटा आवेदन प्राप्त गरेको थियो ।

यो प्रक्रिया शुरू भएको १ वर्ष बितिसक्दा अझै ६ कम्पनी लाइसेन्सको प्रतीक्षामा छन् । लाइसेन्सको अन्तिम प्रतीक्षामा पहिलो तहको सीमित कार्य गर्ने पूँजी भएका ६ कम्पनी छन् । २८ करोड ५० लाख चुक्ता पूँजी भएको सिजी इन्भेस्टमेन्ट सेक्युरिटिज र २० करोड चुक्ता पूँजी भएका म्याग्नेट सेक्युरिटिज, सनराइज सेक्युरिटिज, एप्पल सेक्युरिटिज, प्रभु स्टक मार्केट र ट्रेडमो सेक्युरिटिजले बोर्डबाट आशयपत्र प्राप्त गरेपछि प्राविधिक व्यवस्थापनपछिको अन्तिम लाइसेन्स प्राप्त गर्न बाँकी 

रहेको हो । बोर्डका अध्यक्ष रमेशकुमार हमालले सञ्चालक समिति बैठक बस्न नसक्दा बाँकी कम्पनीको लाइसेन्स प्रक्रिया अघि नबढेको जानकारी दिए । अब बस्ने बोर्ड सञ्चालक समिति बैठकले प्रक्रिया पूरा गरी निवेदन दिएका कम्पनीहरूको लाइसेन्स स्वीकृत गर्ने हमालको भनाइ छ । ब्रोकर लाइसेन्स वितरणका सम्बन्धमा परेका मुद्दाका कारण वर्ष दिनसम्म पनि प्रक्रिया पूरा हुन नसकेकोमा हमालले दु:ख व्यक्त गरेका छन् ।

बजारका लागि महत्त्वपूर्ण अंगका रूपमा रहेका ब्रोकरको संख्या बढ्दा अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने भएकाले यो प्रक्रियालाई जतिसक्दो चाँडो सम्पन्न गर्ने पक्षमा हमाल छन् । आशयपत्र प्राप्त गरेका कम्पनीहरूले आवश्यक पूर्वाधार तयार गरिसकेपछि बोर्डले अनुगमन तथा निरीक्षण गरी योग्य ठानेमा मात्र लाइसेन्स दिने व्यवस्था छ । बाँकी कम्पनीहरूसमेत सोही प्रक्रियाबमोजिम लाइसेन्स पाउने लाइनमा रहेको अध्यक्ष हमालले जानकारी दिएका छन् । ्

तथ्यांकमा नयाँ ब्रोकर लाइसेन्स

कुल आवेदन : ४६

छनोटमा नपरेका कम्पनी : ३

आशयपत्र पाउने कम्पनी : ४३

हालसम्म लाइसेन्स वितरण : ३७

प्रतीक्षारत कम्पनी : ६

नेप्सेको सदस्यता लिने : २८

कारोबार शुरू गरिसकेका : २६

नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका ४६ कम्पनीमध्ये ४३ लाई बोर्डले आशयपत्र प्रदान गरेको थियो । आवेदन दिएका ४६ कम्पनीमध्ये तीन कम्पनी छनोटमा परेनन् । सीमित कार्य गर्ने गरी आवेदन दिएको इगल स्टक इक्विटी प्राइभेट लिमिटेडले रीतपूर्वक आवेदन नदिएको र सेञ्चुरी स्टक ब्रोकरले आवेदन फिर्ता लिएको बोर्डको भनाइ छ । त्यस्तै अर्को कम्पनी एनआईसी एशिया सेक्युरिटिज भने आशयपत्र प्राप्त गर्ने अवधिसम्म खारेज भइसकेको बोर्डले जानकारी दिएको छ ।

बोर्डले विभिन्न चरणमा गरी हालसम्म ३७ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ । बोर्डबाट पहिलो चरणमा ७, दोस्रो चरणमा ११, तेस्रो चरणमा ११, चौथो चरणमा ३ र पाँचौं चरणमा ५ कम्पनीले ब्रोकर लाइसेन्स पाएका हुन् । 

बोर्डबाट लाइसेन्स प्राप्त गरिसकेपछि पनि कम्पनीहरूले धितोपत्र दोस्रो बजार सञ्चालक (नेप्से) को सदस्यता प्राप्त गर्नुपर्ने हुन्छ । नेप्सेले सदस्यता प्रदान गरेपछि कम्पनीहरूले प्राविधिक व्यवस्थापन मिलाउनुपर्नेछ । नेप्सेकै कारोबार प्रणाली प्रयोग गर्ने यी कम्पनीले आवश्यक सम्झौता गरी त्यसपछि मक ट्रेडिङ गराई कुनै अवरोध नदेखिएमा नेप्सेले ‘गो लाइभ’को पत्र प्रदान गर्छ । नेप्सेको सदस्यता पाएका कम्पनीहरूले सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट निक्षेप सदस्यतासमेत लिनुपर्ने हुन्छ । बोर्डबाट लाइसेन्स प्राप्त गरेका २८ कम्पनीले नेप्सेको सदस्यता लिइसकेका छन् । नेप्सेका सुपरिवेक्षण प्रमुख गिरिराज दाहालका अनुसार सदस्यता प्राप्त गरेको २८ कम्पनीमध्ये २६ ओटाले धितोपत्रको दोस्रो बजारमा कारोबार शुरू गरिसकेका छन् । सदस्यता लिन बाँकी केही कम्पनीले आवेदन पेश गरिसकेको र आगामी साता ती कम्पनीलाई पनि सदस्यता दिने तयारी रहेको दाहालले जानकारी दिएका छन् । 

नेपाल धितोपत्र बोर्डले ३ वर्षसम्म नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न नपाउने व्यवस्थाबमोजिम पूँजीका हिसाबमा तीन किसिमको रहने गरी ४३ ओटा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड रुपैयाँ, शेयर खरीदविक्री गर्नेसँगै डिपीको रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको चुक्तापूँजी ६० करोड रुपैयाँ र तेस्रो तहको स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने व्यवस्था बोर्डले गरेको छ । सोही व्यवस्थाबमोजिम बोर्डले हालसम्म एक धितोपत्र व्यापारी, तीन पूर्ण कार्य गर्ने धितोपत्र दलाल र ३३ सीमित कार्य गर्ने धितोपत्र दलाललाई लाइसेन्स प्रदान गरेको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)