ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भ्रष्टाचार मुद्दामा कमजोर हुँदै अख्तियार

२०८० कात्तिक, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं। भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कमजोर हुँदै गएको पाइएको छ । पछिल्लो १० वर्षको तथ्यांक तुलना गर्दा भ्रष्टाचारको अभियोग लागेका व्यक्ति दोषी ठहरिने दर व्यापक रूपमा घटेको देखिएको हो । 

अख्तियारले स्थापनाको ३३ वर्षमा शंकास्पद भ्रष्टाचारीविरुद्ध ३२ सय ८५ ओटा मुद्दा दायर गरेको देखिन्छ । त्यस्ता मुद्दामा अख्तियारले हार्ने र प्रतिवादीले जित्ने दर व्यापक रूपमा बढेको हो । यसले संवैधानिक निकायको कार्यशैली र क्षमतामा प्रश्न उब्जाएको छ । 

आयोगले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार उसले औसतमा प्रतिवर्ष १ सय आरोपपत्र अदालतमा दर्ता गरेको देखिन्छ । आयोगबाट हालसम्म अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी १ हजार २ सय ७ ओटा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी छन् । घूस रिसवतसम्बन्धी ८२७ र गैरकानूनी सम्पत्तिसम्बन्धी १४३ ओटा आरोपपत्र आयोगले अदालतमा दर्ता गरेको छ । 

अख्तियारले व्यापक अनुसन्धानपछि प्रतिवादीविरुद्ध आरोपपत्र दर्ता गरेको बताउने गरे पनि उसले मुद्दा जित्ने अर्थात कसुर ठहरिने अनुपात घटेको देखिन्छ । आरोपीले सफाइ पाउने अनुपात भने बढ्दै गएको छ । 

कुनै समय अख्तियारले दायर गरेका मुद्दामा ९० प्रतिशतभन्दा बढी सफलता पाएको देखिन्छ । आर्थिक वर्ष (आव) २०६१/६२ मा अख्तियारले अदालतमा दायर गरेकामध्ये ९१ दशमलव ५ प्रतिशत मुद्दामा सफलता पाएको थियो । आव २०७९/८० मा ३३ दशमलव ४३ प्रतिशत मुद्दामा मात्रै आरोपी कसुरदार ठहरिएका छन् । 

आव २०६८/६९ मा यस्तो सफलता दर ८८ दशमलव १ प्रतिशत थियो । अघिल्लो आव २०७८/७९ मा ३८ दशमलव ५१ प्रतिशत रहेको सफलता दर गत आव २०७९/८० मा झन् घटेको देखिएको छ । 

यसले अख्तियारको अनुसन्धान र त्यहाँका अधिकारीको कार्यसम्पादनमा गम्भीर प्रश्न खडा भएको छ । अख्तियारले गर्ने स्टिङ अपरेशनलाई अदालतले अनुचित ठहर गरिदिएपछि ऐतिहासिक रूपमै निकै कम कसुर ठहरिएको आयोगका प्रवक्ता भोला दाहाल बताउँछन् । 

मुद्दाको फैसलामा आफूहरूको कुनै भूमिका नहुने उनी बताउँछन् । ‘अख्तियारको काम उजुरी संकलन गर्ने, छानबिन गर्ने, प्रमाण जुटाएर आरोपीउपर मुद्दा चलाउने हो । यसमा हामी सफल नै छौं । फैसला गर्ने काम न्यायिक निकायको हो । त्यसमा अख्तियारको भूमिका हुँदैन । हामी आफ्नो काममा सफल छौं,’ आर्थिक अभियानसँगको कुराकानीमा उनले भने । तर, आलोचकहरू अख्तियारले फितलो तरीकाले मुद्दा दायर गरेकाले हार्नु परेको बताउँछन् । 

अख्तियारको काम कारबाहीप्रति पछिल्लो समय चर्को आवाज उठिरहेको छ । खासगरी सानोतिनो भ्रष्टाचारमा अख्तियार सक्रिय भएको, ठूला उजुरी किनारा लगाउन नसकेको भन्दै जनस्तरबाट ऊ आलोचित बनेको हो । 

आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय पनि पछिल्लो समय अख्तियारले उदाहरणीय काम गर्न नसकेको बताउँछन् । ‘पछिल्ला वर्षमा अख्तियारले सानातिना मुद्दा लगाउने तर ठूला मुद्दा नदेख्ने प्रवृत्ति देखा पर्दा पनि सफलता दर घटेको हो,’ उनले भने, ‘नेतृत्वमा समेत सही मान्छे नपुग्दा अख्तियार कमजोर बनेको देखिन्छ ।’ अख्तियारमा दक्ष जनशक्ति नहुँदा आरोपपत्र सही ढंगले तयार नभएकाले साना मसिना केसमा अख्तियार अल्झिएको हुन सक्ने उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)