काठमाडौं । काठमाडौको भोटाहिटीमा राखिएको अन्नपूर्णदेवीको खटमा पूजा अर्चना गर्न लामवद्ध महिलाहरू । काठमाडौंको असनस्थित प्रसिद्ध अन्नपूर्णदेवीको जात्रा विहीवार मनाइएको छ । हरेक वर्ष आश्विन शुक्ल नवमीदेखि द्वादशीसम्म अन्नपूर्ण देवीको जात्रा गरिन्छ । अन्नपूर्ण देवी साक्षात् महालक्ष्मीको रूप मानिन्छन् । अन्नपूर्ण देवीलाई हिन्दूहरूले महाकाली, महालक्ष्मी र महासरस्वतीको प्रतीकको रूपमा मान्दै आएका छन् ।
बौद्धमार्गी नेवारहरूले भने अन्नपूर्ण देवीलाई बसुन्धरा, योगाम्वर, ज्ञानेश्वरी, महालक्ष्मी, अजिमा पिठ र महामयुरी देवीको रूपमा मान्दै आएका छन् । अन्नपूर्ण देवीको विशेष खट जात्रा आश्विन शुक्ल एकादशी र द्वादशी दुई दिन गरिन्छ । अन्नपूर्णको खट जात्रा गर्ने क्रममा असन, बालकुमारी, इन्द्रचोक, न्युरोड, खिचापोखरी, ओमबहाल, लगन, ब्रम्हटोल आदि स्थानमा जात्रा गर्दै असन भोटाहिटी देवघर देवीको घरमा फर्काइन्छ । तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान