ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा बढ्यो दूधको खपत

२०८० कात्तिक, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनमा दूधको खपत बढेको छ । आर्थिक क्षेत्रमा देखिएको उतारचढाव र आयातित धूलो दूधका कारण ३५ प्रतिशतसम्म स्वदेशी उत्पादनको विक्री घटेको चितवनमा पर्वको समयमा दूधको खपत बढेको हो । विशेषगरी दशैंमा दूधका विभिन्न परिकार दही, पनीर, नौनी, घ्यू, आइसक्रिम लगायतका उत्पादनको माग बढेको जिल्ला दुग्ध सहकारी संघ, चितवनले जानकारी दिएको छ । 

संघका अध्यक्ष किशोर बगालेले विगतको दशैंको तुलनामा यसपटक दूधको खपत बढेको बताए । यस्तै सामान्य अवस्थाको तुलनामा १० देखि १५ प्रतिशतसम्म बढी दुग्ध पदार्थ विक्री भएको उनको अनुमान छ । ‘आर्थिक मन्दी र भारतबाट आयातित दूधका कारण हाम्रो दूध विक्री हुन सकेको थिएन,’ उनले भने, ‘अहिले चितवनमै पनि खपत बढ्यो, बाहिरबाट माग समेत बढ्यो ।’

विशेषगरी दशैंमा दूधका विभिन्न परिकार दही, पनीर, नौनी, घ्यू, आइसक्रिम लगायतका उत्पादनको माग बढेको जिल्ला दुग्ध सहकारी संघ, चितवनले जानकारी दिएको छ ।

यसअघि संघले अन्य पेयपर्दाथको सट्टा ‘दूधको प्रयोग बढाऔं, स्वस्थ रहौं’ नाममा सचेतना अभियान चलाएको थियो । चितवनकै ठूलो दुग्ध सहकारीमध्येको अन्नपूर्ण दुग्ध सहकारी संस्थामा पनि दशैंमा दूध संकलन र विक्रीवितरण बढेको छ । दैनिक ६ हजार लिटरभन्दा बढी दूध संकलन गर्ने यस सहकारीमा संकलन, खपत र विक्री वितरण बढेको संस्थाका अध्यक्ष प्रदीप तिमल्सिनाले जानकारी दिए । दशैंको समयमा दूध, दही, पनीर नौनीको विक्री बढेको उनको भनाइ छ । ‘अन्य बेला दूध विक्री हुन गाह्रो थियो, डेरीबाट रकम पाउन पनि मुश्किल थियो, तर दशैंमा अधिकांश दूध खपत जिल्लामै भयो,’ उनले भने ।

राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे दशैंमा दूधको खपत सन्तोषजनक रहे पनि अन्य समयमा निराशाजनक हुने गरेको बताउँछन् । ‘दशैंमा दूधको खपत त राम्रै बढेको छ, हामीले धेरै भण्डारण गरेर राख्नुपरेन,’ उनले भने । चितवन लगायत अन्य जिल्लामा पनि दूधको उत्पादन राम्रै भए पनि यस वर्ष भारतीय धूलो दूधको कारण स्वदेशी उत्पादनले बजार पाउन नसकेको उनको भनाइ छ । ‘राज्यको नीति किसानमैत्री हुनुपर्‍यो, रकम समयमै पाउनुपर्‍यो,’ उनले भने, ‘अहिले दाना, औषधि बैंकको ब्याजका कारण प्रतिलिटर ७० रुपैयाँ लागत छ । तर सहकारीलाई प्रतिलिटर ६५ रुपैयाँमा बेच्नुपरेको छ ।’ चितवनमा दैनिक ३ लाख लिटर हाराहारीमा दूध उत्पादन हुन्छ । चितवनमा ११५ ओटा दुग्ध सहकारीबाट दूध संकलन हुने गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)