ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटकीय गन्तव्य बन्दै चितवनको जलविरे झरना 

२०८० कात्तिक, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनको ईच्छाकामना गाउँपालिका–६ स्थित जलविरे (लामो) झरनामा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । झरना काठमाडौं तथा अन्य जिल्लाबाट आउने आन्तरिक पर्यटकको गन्तव्य बनेको हो । 

केही वर्षअघिसम्म अधिकांशलाई यो झरनाको बारेमा खासै जानकारी थिएन । तर, पछिल्लो समय जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येमा यो झरना पर्दै आएको छ । दशैं तथा बिदाको सदुपयोग गर्न पनि टाढाटाढाबाट आएर मनोरम दृश्यमा पर्यटकहरू रमाइरहेका भेटिन्छन् । 

यो दशैंंमा काठमाडौंबाट चन्द्रकला जोशी आफ्नो परिवारसँग झरनामा घुम्न आएकी थिइन् । ‘म पहिलो पटक आएकी हुँ । यति राम्रो लामो झरना रहेछ । मन नै आनन्द आउने,’ उनले भनिन्, ‘यहाँ आउनेबित्तिकै आनन्द महसुस हुने रहेछ ।’ 

विशेषगरी गर्मीयाममा नुहाउने, पौडी खेल्ने यहांँ पर्यटकहरूको भीड हुने गर्दछ ।  

नारायणगढ–मुग्लिन सडकखण्डअन्र्तगत जलविरेदेखि एक किलोमिटर दूरीमा रहेको उक्त झरनामा पर्यटकहरू निजी सवारीसँगै सवारीसाधन रिजर्भ गरेर पनि पुग्ने गरेका छन् । 

यहाँ पुग्ने जो कोही पर्यटकले शीतलताको छुट्टै आनन्द महसुस गरेको पाइन्छ । जलविरे मन्दिरबाट करिव २० मिनेटमा हिँडेर पुग्न सकिने यहाँ लामो छाँगाबाट झरेको पानीका फोहरा र त्यसबाट आउने शीतल, पानीका र चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याउने गरेको छ । 

दशैंको छुट्टी पारेर घुम्न निस्केका नवलपुरका राजेश चौधरी लामो झरनामा आएपछि मन नै आनन्द भएको बताउँछन् । ‘नारायणगढ–मुग्लिन सडकखण्ड भएर धेरै पटक हिँडियो । यस ठाउँको बारेमा थाहा थियो । तर, यहाँ पहिलोपटक आएको हुँ,’ चौधरीले भने, ‘म परिवारसहित दशैं मनाउन आएको हुँ ।’

यो झरना नारायणगढबाट मुग्लिनतर्फ २७ र मुग्लिनबाट नारायणगढतर्फ सात किलोमिटरको दूरीमा पर्छ । मुख्य राजमार्गबाट निजकै पर्ने हुनाले यस राजमार्गमा यात्रा गर्नेहरू उक्लेर प्राकृतिक दृश्यमा रमाइरहेका हुन्छन् । 

काठमाडौंबाट दशैं मनाउन बुटवल हिँडेका सुदीप पोख्रेलले पनि यहाँको मनोरम दृश्यले आफूलाई लोेभ्याएको बताए  । ‘काठमाडौंदेखि दशैंमा घर (बुटवल) हिँडेका थियौं । यस राजमार्ग यात्रा गर्दा झरनामा आएर खेलेर र फोटो खिचेर रमाउंँ भनेर नि !’ उनले भने । 

यहाँ थप पूर्वाधार निर्माणपछि पर्यटकको चहलपहल बढ्दै गएको छ । दशैंको समयमा दैनिक तीन सयभन्दा बढी पर्यटक घुम्न आउने गरेको जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङ बताउँछन् । ‘यहाँ सामान्य बेला पनि दैनिक डेढ सयको हाराहारीमा पर्यटक घुम्न आउंँछन् । यो दशैंमा दैनिक तीन सयको हाराहारीमा आउनुभएको छ,’ उनले भने, ‘पिकनिकका लागि र घुम्न समूहमा समेत आउँछन् ।’ 

गर्मीयाम शुरु भएपछि यहांँ सबैभन्दा बढी पर्यटक आउने गर्दछन् । सो बेला एकै दिन एक हजार पाँच सयको हाराहारीमा टिकट विक्री भएको गुरुङले जानकारी दिए ।

यहाँ प्रवेश गर्ने पर्यटकबाट प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लिने गरिएको छ । स्थानीय र विद्यार्थीबाट २० रुपैयाँ प्रतिव्यक्ति लिने गरेको गाउँपालिकाले जनाएको छ ।

लामो झरनाको विकासका लागि तीन तहका सरकारबाट पूर्वाधार निर्माणका काम भएका छन् । झरनासम्म सडक ढलान तथा कालोपत्र गरिएको छ । सिँढी, रेलिङ, गोलघर, प्रवेशद्वार, टिकट घर, धारा, शौचालयलगायत संरचना निर्माण गरिएका छन् ।

यहाँ आउने पर्यटकलाई बास बस्नको लागि झरनाभन्दा माथिको याक्राङ गाउँमा होमस्टे समेत निर्माण गरिएको गुरुङले जानकारी दिए  । पूर्वाधार निर्माणसँगै बर्षेनी यहांँ आउने पर्यटकको संख्यामा वृद्धि भएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)