काठमाडौं । शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चितिलगायत अर्थतन्त्रका बाह्य क्षेत्रको अवस्था सहज भएको भन्दै नेपाल राष्ट्र बैंकले लचिलो नीति लिएसँगै वैदेशिक व्यापारमा सामान्य सुधार देखिएको छ ।
भन्सार विभागले आइतवार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०८०/८१ को असोजसम्ममा वैदेशिक व्यापार गतवर्षको तुलनामा १ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ । चालू आवको असोजसम्ममा ४ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो आवको असोजसम्ममा ४ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
चालू आवको असोजमा निर्यात घटे पनि आयात वृद्धि हुँदा वैदेशिक व्यापारमा सकारात्मक प्रभाव देखिएको छ । गतवर्षको तुलनामा चालू आवको असोजमा आयात १ दशमलव ६९ प्रतिशतले वृद्धि हुँदा निर्यात २ दशमलव २६ प्रतिशतले घटेको छ । असोजसम्ममा नेपालमा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा ४० अर्ब ८७ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको छ । गतवर्षको असोजसम्ममा ४ खर्ब ९९ करोडको आयात हुँदा ४१ अर्ब ४२ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।
विदेशी मुद्रा सञ्चिति घट्दै जान थालेपछि २०७८ मङ्सिरदेखि नै नेपाल राष्ट्र बैंक र सरकारले आयातमा कडाइ गर्ने नीति लिएका थिए । सरकारले विलासी सामानको आयातमा कडाइ र प्रतिबन्ध लगाएको थियो भने राष्ट्र बैंकले आयात र अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाइको नीति लिएको थियो । सरकारले २०७९ वैशाख १३ देखि भदौ १३ सम्म १० वस्तु र भदौ १४ देखि मङ्सिर मसान्तसम्म ४ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।
तर, अर्थतन्त्रको बाह्य स्थितिसम्बन्धी सूचकहरू सहज बनेसँगै सरकारले आयातमा लगाएको प्रतिबन्ध हटाइसकेको छ । राष्ट्र बैंकले समेत आफ्नो नीतिमा पुनरवलोकन गर्नुका साथै सुनचाँदी आयात कोटा बढाएको छ । दशैं, तिहार, छठ जस्ता चाडपर्वका कारण पनि असोजमा आयात वृद्धि भएको अनुमान गरिएको छ ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट राष्ट्र बैंकको लचिलो नीति तथा चाडपर्व लक्षित आयातले वैदेशिक व्यापारमा सुधार देखिएको बताउँछन् । ‘विदेशी मुद्रा सञ्चिति सहज भएपछि केन्द्रीय बैंकले आयातमा कडाइ गर्ने नीति पुनरवलोकन गरेको छ,’ उनले भने, ‘चाडपर्वका कारण पनि आयात वृद्धि भएको हुन सक्छ ।’
राष्ट्र बैंकको प्रतिवेदनअनुसार चालू आवको भदौसम्ममा शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा छ । यस्तै विदेशी मुद्रा सञ्चिति १५ खर्ब ९८ अर्ब ९० करोड छ । यसले साउन र भदौकै अनुपातमा आयात भए १२ दशमलव ६ महीनाको वस्तु तथा १० दशमलव ३ महीनाको वस्तु र सेवा आयात धान्न सक्छ ।
आयात वृद्धिसँगै चालू वर्षको असोजसम्मको वैदेशिक व्यापारघाटा पनि पोहोरको तुलनामा बढेको छ । गतवर्ष ३ महीनाको वैदेशिक व्यापारघाटा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ रहेकोमा चालू वर्षमा बढेर ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।
आयात वृद्धिले सरकारको भन्सार राजस्व संकलनमा पनि सकारात्मक प्रभाव परेको छ । चालू आवको असोजसम्ममा सरकारले भन्सारबाट १ खर्ब ९ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको विभागले जानकारी दिएको छ । गतवर्ष असोजसम्म भन्सार राजस्व ९६ अर्ब ६१ करोड रुपैयाँ मात्र संकलन भएको थियो ।
गत आवको तुलनामा चालू वर्षको असोजसम्ममा डिजेलको आयात मूल्य बढे पनि पेट्रोल र एलपीजी ग्यासको घटेको छ । नेपाल राष्ट्र बैंकले कोटा थप गरेपछि सुन आयातमा पनि उच्च वृद्धि देखिएको छ ।