ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भन्सार महशुलमा सहुलियत माग्दै खानेतेल उद्योगी 

२०८० कात्तिक, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । भारत निकासी बन्द भएर स्वदेशी बजारमा चर्को प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुगेका खानेतेल उत्पादकहरूले कच्चा पदार्थ आयातमा सहुलियत मागेका छन् । कच्चा पदार्थ आयातमा भन्सार महशुल छूट पाए संकटग्रस्त उद्योगलाई केही राहत हुने उद्योगीको भनाइ छ । 

सरकारले यस्ता उद्योगलाई गतवर्ष भन्सार महशुलमा ९० प्रतिशत छूट दिएको थियो । कच्चा पदार्थमा छूट पाएपछि झीनै परिमाणमा भए पनि निकासी गरेर जोगिएका उद्योग यो वर्षदेखि यो सहुलियतबाट वञ्चित भएका छन् । योसँगै लगानी डुब्ने चिन्ताले उनीहरूलाई छोपेको हो । 

सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सहुलियत हटाएर १० प्रतिशत भन्सार महशुल कायम गरिदिएको वीरगञ्जको नारायणी आयल रिफाइनरीका सञ्चालक निखिल चाचानले बताए । 

‘तेल उद्योगलाई संकटबाट जोगाउनकै लागि भनेर गतवर्ष कच्चा पदार्थ आयातमा लाग्ने भन्सार महशुलमा ९० प्रतिशत छूट दिएको थियो । त्यो बेला १ प्रतिशतमात्र महशुल तिरे पुग्ने अवस्था थियो । यो वर्षको बजेटले यो सहुलियत हटाएर पुन: १० प्रतिशत नै पुर्‍याइदिएपछि उद्योगहरू थप समस्यामा परेका छन्,’ चाचानले आर्थिक अभियानसित भने । 

भारतीय बजारलाई लक्ष्य गरी सीमावर्ती क्षेत्रमा खुलेका खानेतेल उद्योग अहिले लागतभन्दा कम मूल्यमा उत्पादन बेच्न बाध्य भएका छन् । यही अवस्था केही समय कायम रहे तेल उद्योगमा भएको करीब १५ अर्ब रुपैयाँ लगानी धराशयी हुने चिन्ता उनीहरूमा छ । 

नीतिगत संरक्षण नपाए १५ अर्ब रुपैयाँ लगानी धरापमा पर्ने व्यवसायीको चिन्ता 

सरकारले तत्काल नीतिगत रूपमै संरक्षण नदिने हो भने करीब दुई दर्जन उद्योग सधैंका लागि बन्द हुने उद्यमीले बताए । भारत निकासी सहज हुँदा स्वदेशमा तेल उद्योगमा ह्वात्तै लगानी आएको थियो । यस्ता उद्योग २ दर्जन छन् । भारत निकासीलाई लक्ष्य गरेर यस्ता उद्योग सीमावर्ती कोरिडोरमा खुलेका हुन् । 

भारतले आफ्नो बजारमा खानेतेलको मूल्य नियन्त्रणमा राख्न तेल आयातमा शून्य भन्सार नीति लिएसँगै नेपाली उद्योगको खराब दिन शुरू भएको उद्योगी प्रभुदयाल अग्रवाल बताउँछन् । यस्ता उद्योगको वार्षिक उत्पादन क्षमता २५ लाख टन पुगेकोमा आन्तरिक खपत ५ लाख टनबाट माथि उक्लिन सकेको छैन । 

भारतमा तेल आयातमा ४० प्रतिशतसम्म सीमा शुल्क हुँदा नेपालीले साफ्टा सहुलियतमा ५ प्रतिशतसम्म शुल्क तिरेर निकासी गर्न पाएका थिए । निकासी गरेपछि भन्सारमा तिरेको महशुल र मूल्य अभिवृद्धिकरसमेत फिर्ता हुन्थ्यो । 

त्यसबेला युक्रेन, इन्डोनेशिया र मलेशियाबाट अर्धप्रशोधित सूर्यमुखी, भटमास, पाम आयल भित्त्याएर प्रशोधन गरी भारत निकासी गर्ने गरेकोमा अहिले निकासी लगभग ठप्पै रहेको ओसीबी फुडका सञ्चालक सुरेश रुंगटा बताउँछन् । भारत निकासीलाई लक्ष्य गरेर लगानी बढाएका स्वदेशी तेल उद्योग चौपट भएको उद्योगी बताउँछन् । ‘अहिले स्वदेशी बजारमा लागतभन्दा पनि कम मूल्यमा तेल बेच्नु परेको छ,’ रुंगटाले भने, ‘भारतमा निकासी होला भनेर क्षमता विस्तार भयो । केही नयाँ उद्योग पनि थपिए । तर, निकासी नहुने अवस्था बन्यो । लगानी चौपट हुने स्थिति छ ।’ स्वदेशी तेल उद्योगको लगानी डुब्न नदिने हो भने सरकारले नीतिगत रूपमै संरक्षण गर्नुपर्ने माग उद्यमीको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)