ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७४ लाखभन्दा बढी नेपालीसँग बैंक खाता

२०८० कात्तिक, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं। ७४ लाखभन्दा बढी नेपालीसँग बैंक खाता रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार कुल २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १८१ जना व्यक्तिको बैंक वित्तीय संस्थामा कम्तीमा एउटा खाता छ ।

सहकारी संस्थामा रहेको खाता यो तथ्यांकमा जोडिएको छैन । यसैगरी कुल १ करोड ४२ लाख ५३ हजार ५५१ जना पुरुषमध्ये २६ दशमलव ४२ प्रतिशत र कुल १ करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४ दशमलव ७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा एउटा खाता छ । उक्त तथ्यांकअनुसार देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ४१ लाख २२ हजार ६९० परिवार अर्थात् ६१ दशमलव ८९ प्रतिशतको कम्तीमा १ जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता छ । 

त्यस्तै देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ८ लाख ३६ हजार १२७ अर्थात् १२ दशमलव ५५ प्रतिशतको कम्तीमा १ जना व्यक्तिले प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएका छन् । जम्मा १० लाख ८१ हजार ६४६ जना व्यक्ति अर्थात् ५ दशमलव ६७ प्रतिशतले उक्त तालीम लिएको जनाइएको छ । देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये २५ दशमलव ५९ प्रतिशतले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको देखिएको छ । सबैभन्दा बढी मधेश प्रदेशमा २८ दशमलव ८८ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१ दशमलव ९६ प्रतिशत परिवारले ऋण लिएको तथ्यांक छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालभर कुल ७५ लाख ५२ हजार ६६ ओटा घर छ । यसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत घर एकतले छन् । त्यसैगरी २८ दशमलव ७८ प्रतिशत २ तले, ९ दशमलव १७ प्रतिशत ३ तले, १ दशमलव ३ प्रतिशत ४ तले, शून्य दशमलव ६४ प्रतिशत ५ देखि ७ तले, शून्य दशमलव शून्य १ प्रतिशत ८ देखि ९ तले र शून्य दशमलव शून्य शून्य ३ प्रतिशत १० भन्दा बढी तले घर रहेको पाइएको छ । तथ्यांकअनुसार मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात् ८४ दशमलव ४२ प्रतिशत छ भने पाँच वा त्यसभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी २ दशमलव ३४ प्रतिशत छ ।

तथ्यांकअनुसार कुल ७५ लाख ५२ हजार ६६ ओटा घरमध्ये सबैभन्दा बढी (२७ दशमलव ९५ प्रतिशत) ४ वर्षसम्म पुराना छन् । सबैभन्दा कम सयभन्दा बढी वर्षका घरहरू शून्य दशमलव ५ प्रतिशत छन् । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार ६ लाखभन्दा बढी घर रित्तो अवस्थामा छ ।

त्यसैगरी देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये १० दशमलव २७ प्रतिशतले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिएको छ । उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६ दशमलव ६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २ दशमलव ९८ प्रतिशत छ ।

सार्वजनिक गरिएको तथ्यांकले वित्तीय पहुँच, शीपयुक्त जनशक्तिको अवस्था र घरको अवस्था यकिन गरेको तथ्यांक कार्यालयका उपप्रमुख डा. हेमराज रेग्मीले बताए । यो तथ्यांकले जनशक्ति योजना निर्माण गर्न र राष्ट्रले निर्माण गर्ने आवास योजना बनाउन सघाउ पुग्ने उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)