ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तिहारअघि नै फूल फुलेपछि किसान चिन्तित

२०८० कात्तिक, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन। तिहारअघि नै बारीमा सयपत्री फूल ढकमक्क फुलेपछि चितवनका फूलखेती किसान चिन्तित भएका छन् । अघिल्लो वर्ष यही समयमा परेको तिहारमा फूल बेचेका किसान यो वर्ष कात्तिक अन्तिम साता मात्र तिहार परेकाले फूल खेर जाने चिन्तामा रहेका हुन् । अघिल्ला वर्ष फूलखेतीको माग अत्यधिक देखेर अहिले नयाँ किसानले पनि फूलखेती शुरू गरेका छन् । तिहारलार्ई लक्षित गरेर फूलखेती गरेका किसानका बारीमा अहिले सबैजसो फूल फुलेका छन् ।

भरतपुर महानगरपालिका–२६ का दिपक पाख्रिन तिहारअगावै फूल फुलेपछि आफू चिन्तित रहेको बताउँछन् । ‘तिहार आएकैछैन, अहिले नै फूल फुल्यो,’ उनले भने, ‘माग पनि आएको छैन । यसपालि फूल ओइलाएर जाला जस्तो छ ।’

पाख्रिनले अहिले चार बिघामा कलकत्ते, टेनिस, अरेन्जबल जातका सयपत्री र थप दुई बिघामा अन्य जातका फूल लगाएका छन् । सयपत्री फूल बाह्रैमास विक्री गर्ने भए पनि तिहार लक्षित फूल भने चाँडै फुल्दा खेर जाने चिन्ता भएको उनले बताए । ‘फुलेका फूल अहिले नै टिपौं, विक्री नहोला भन्ने डर, नटिपौं तिहारसम्म ओइलाउला कि भन्ने चिन्ता ।’

कतिपय किसानले चाँडै रोप्दा तिहारअघि नै फूल फुलेको उनले बताए । किसानका अनुसार कलकत्ते जातको सयपत्री रोपेको ५५ दिनमा र टेनिस जातको सयपत्री ४५ दिनमा फुल्न शुरू गर्छ । सय दिनसम्ममा फूल फुलेर तयार हुन्छ । भरतपुर महानगरपालिका–७ स्थित उज्ज्वल नर्सरीका सञ्चालक ईश्वर श्रेष्ठ यस वर्ष फूल चाँडै फुलेको र उत्पादन पनि दोब्बरजसो भएको बताउँछन् । उनले डेढ बिघा क्षेत्रफलमा फूल लगाएका छन् । तिहारअघि नै फूल फुलेकाले टिपेर फाल्नुपरेको उनको भनाइ छ । ‘अहिले फूल ठूलो आकार र पूर्ण रूपमा फक्रेको छ,’ उनले भने, ‘यो फूल टिपेर फालिएन भने नयाँ फूल फुल्दैन ।’ हाल आफूले फूल टिपेर राखेको, तर माग नआएको उनले बताए । सयपत्री फूल धेरै दिनसम्म भण्डारण गर्न नसकिने किसान बताउँछन् । ‘यो फूल धेरैमा १० दिनसम्म शीतभण्डार गर्न सकिन्छ, त्यसपछि काम लाग्दैन,’ भरतपुर–२३ की किसान सुजाता देवकोटाले भनिन् । बाह्रैमास फूलखेती गर्ने किसानले समय हेरेर फूल लगाए पनि अधिकांश किसानले फूल रोप्न हतार गरेकाले तिहारअघि नै फूलेको उनको भनाइ छ । 

लामो समयदेखि फूलखेती गर्ने किसानले समय हेरेर फूल लगाएकाले धेरै फूल खेर नगए पनि तिहार लक्षित फूलखेती गरेका किसानको लगानीमा भने जोखिम रहेको फ्लोरिकल्चर एशोसिएसन चितवनका सचिव सुलभ श्रेष्ठले बताए । अघिल्ला वर्षहरूमा जस्तै अधिकांश किसानले असारमै फूल रोप्दा असोजमा फूलेको उनले बताए । यस वर्ष फूल उत्पादन राम्रो भए पनि बजार नहुँदा किसानहरू चिन्तित बनेको उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)