ललितपुर । फूलहरूको चाड तिहार नजिकिँदा ललितपुरमा फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ ।
‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा मंगलवारबाट १६ औं गोदावरी पुष्प मेला तथा प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको हो ।
उक्त प्रदर्शनी यही कात्तिक १८ गतेसम्म सञ्चालन हुने आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले जनाएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)द्वारा आयोजित मेलाको उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसालले गरेका थिए । प्रदर्शनीमा १०० रुपैयाँदेखि करिब १५ हजार रुपैयाँसम्म फूलहरु राखिएको छ ।
फ्यानका अनुसार प्रदर्शनीमा ७० ओटा भन्दा बढी स्टल राखिने छन् । मेलामा करीब ४० हजारले प्रत्यक्ष अवलोकन गर्ने र एक करोडभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अपेक्षा छ ।