ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तिहारलाई रोपेको सयपत्री चाँडै फुलेपछि टिपेर फाल्दै किसान, फूलको अर्डर नआएको गुनासो

२०८० कात्तिक, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । तिहारअघि नै सयपत्री फूल ढकमक्क फुलेपछि फूल खेती गर्दै आएका किसान चिन्तित भएका छन् । अघिल्लो वर्ष यही समयमा तिहारमा फूल बेचेका किसान यो वर्ष कात्तिकको अन्तिम साता मात्र तिहार परेकाले फूल खेर जान्छ कि भन्नेमा चिन्तित भएका हुन् । 

अघिल्ला वर्ष फूल खेतीको माग अत्यधिक देखेर यो वर्ष नयाँ किसानले पनि फूल खेती गरेका थिए ।  

भरतपुर महानगरपालिका वडा नम्बर २६ का दीपक पाख्रिन तिहारअगावै फूल फुलेपछि ओइल्याउँछ कि भन्ने चिन्ता लागेको बताउँछन् । ‘तिहार आएकै छैन, अहिले नै फूल फुलिसक्यो,’ उनले भने, ‘अर्डर पनि आएको छैन । खोइ यसपाली त फूल ओइल्याएर जान्छ कि ?’

उनले अहिले ४ विघामा कलकत्ते, टेनिस, अरेन्जबल जातका सयपत्री लगाएका छन् भने वडा नम्बर २७ मा थप २ विघामा अन्य जातको फूल लगाएका छन् । 

उनले सयपत्री फूल बाह्रैमास विक्री गर्छन् । तिहारलाई लक्षित गरी राेपिएका फूल चाडै फुल्दा खेर जाने चिन्ता भएको उनले बताए । ‘अब यो फूल टिपौं विक्री नहोला भन्ने डर, नटिपौं तिहारको लागि कोपिला फक्रिन्न कि भन्ने पीर,’ उनले भने । 

कतिपय किसानले तिहारलाई लक्षित गरी फूल खेती गरे पनि समयअगावै (तिहारअघि) नै फूल फुलेको उनले बताए । किसानका अनुसार कलकत्ते फूल रोपेको ५५ दिनमा र टेनिस फूल ४५ दिनमा फुल्न शुरु गर्छ । र, सय दिनसम्म फूल फुलेर तयार हुन्छ । 

भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित उज्जवल नर्सरीका सञ्चालक ईश्वर श्रेष्ठ यो पटक फूल चाडै नै फूलेको र उत्पादन पनि दोब्बरजसो भएको बताउँछन् । उनले डेढ विघाहा क्षेत्रफलमा फूल लगाएका छन् । तिहारअघि नै फूल फुलेकाले टिपेर फाल्नु परेको उनले बताए । ‘अहिले फूल ठूलो साइज र पूर्णरूपमा फक्रेको छ,’ उनले भने, ‘यो फूल टिपेर फालिएन भने नयाँ फूल फुल्दैन ।’ हाल आफूले फूल टिपेर राखेको तर अर्डरसम्म नआएको उनले बताए । 

सयपत्री फूल धेरै दिनसम्म भण्डारण गर्न नसकिने किसान बताउँछन् । ‘यो फूल धेरैमा १० दिनसम्म शीतभण्डार गर्न सकिन्छ, त्यसपछि काम लाग्दैन,’ भरतपुर–२३ की किसान सुजाता देवकोटाले भनिन् । 

बाह्रैमासे फूल खेती गर्ने किसानले समय हेरेर फूल लगाए पनि अधिकांश किसानले फूल रोप्न हतार गरेका कारण सयपत्री तिहारअघि नै फुलेको उनको भनाइ छ । ‘बिरुवा पाइन्न कि भनेर नयाँ किसानले चाडै नै रोप्नुभयो, अहिले चाडै नै फुलेर खेर जाने भयो,’ उनले भनिन् । 

लामो समयदेखि फूल खेती गर्ने किसानले समय हेरेर फूल लगाएकाले त्यति धेरै फूल खेर नगए पनि तिहारलक्षित फूल खेती गरेका किसानको लगानी भने जोखिम रहेको बताउँछन् फ्लोरिकल्चर एशोसियशन, चितवनका सचिव शुलभ श्रेष्ठ । ‘बीउ बेच्ने किसानले गर्दा नै अहिले नयाँ किसानलाई मर्का पर्यो,’ श्रेष्ठले भने, ‘न अहिले बिहे व्रतबन्धको लगन छ न त तिहार नै आएको छ । फूलचाहिँ पूर्णरूपमा फुलिसक्यो ।’

अघिल्ला वर्षहरूमा जस्तै अधिकांश किसानले असारमै फूल रोप्दा असोजमै फुलेको उनले बताए । ‘अब फूल कि खेर फाल्ने कि ओइलिएर जाने अरु विकल्पै रहेन,’ उनले भने । यस वर्ष फूल उत्पादन राम्रो भए पनि बजार नहुँदा चिन्ता थपिएको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)