ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ओटीसी बजारमा पौने २ अर्बको शेयर कारोबार : वल्र्डलिंकको प्रतिकित्ता ९ हजार ३७५ मा किनबेच

२०८० कात्तिक, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं।ओभर द काउन्टर (ओटीसी) बजारमा चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा १ अर्ब ७१ करोड ६ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार पहिलो त्रैमासमा २३ कम्पनीको उक्त रकम बराबरको १ करोड ३६ लाख ७२ हजार १२० कित्ता धितोपत्र कारोबार भएको हो । पहिलो त्रैमासमा सबैभन्दा बढी मूल्यमा वल्र्डलिंक कम्युनिकेशनको शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार साउन ७ गते प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँमा वल्र्डलिंकको १३ हजार ३९२ कित्ता शेयर कारोबार भएको हो । वल्र्डलिंक इन्टरनेट सेवाप्रदायक कम्पनी हो । 

यस अवधिमा मुक्तिनाथ कृषि कम्पनीको पनि ओटीसी बजारमा शेयर कारोबार भएको छ । यो कम्पनीको साउन ११ गते दुई फरकफरक मूल्यमा शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ । उक्त दिन मुक्तिनाथ कृषि कम्पनीको ५ हजार ९३४ कित्ता शेयर प्रतिकित्ता १०६ रुपैयाँमा र १५ हजार ५५५ कित्ता प्रतिकित्ता १०० रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीले कात्तिक १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर विक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गरेको हो । ओटीसी बजारमा यो कम्पनीको शेयर आईपीओको मूल्यभन्दा बढीमा कारोबार भएको देखिन्छ । ओटीसी बजारमा क्रेता र विक्रेता सहमत भएको मूल्यमा कारोबार हुने भएकाले मूल्य निश्चित नहुने नेप्सेको भनाइ छ ।

ओटीसी बजारमा क्रेता र विक्रेता सहमत भएको मूल्यमा कारोबार हुने भएकाले मूल्य निश्चित नहुने नेप्सेको भनाइ छ ।

ओटीसी बजारमा बढी मूल्यमा शेयर कारोबार गरेको कम्पनीले त्योभन्दा कम मूल्यमै आईपीओ विक्री गरेको अवस्थासमेत छ । हाथवे इन्भेस्टमेन्ट नेपालले सर्वसाधारणमा प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यमा आईपीओ विक्री गरेको छ । ओटीसी बजारमा यसको शेयर प्रतिकित्ता ८६ रुपैयाँमा किनबेच भएको थियो । गत जेठ २३ गते ओटीसी बजारमा हाथवे इन्भेस्टमेन्टको प्रतिकित्ता ८६ रुपैयाँमा ३ लाख ५७ हजार २९५ कित्ता शेयर किनबेच भएको थियो । 

पछिल्लो समय ओटीसी बजारमा कारोबार बढ्दै गएको तथ्यांक छ । नेप्सेका अनुसार गत आव २०७९/८० मा २ अर्ब ८५ करोड ८४ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख ६४ हजार ९५ कित्ता धितोपत्र ओटीसी बजारमा किनबेच भएको थियो । पछिल्लो ३ महीनामा करीब २ अर्ब रुपैयाँको कारोबार भएको अवस्थाले ओटीसी बजारमा कारोबार बढ्दै गएको संकेत गरेको छ । 

विशेष गरी धितोपत्रको दोस्रो बजारबाट सूचीकरण खारेज भएका तथा सूचीकरण प्रक्रियामा नआएका कम्पनीको शेयर ओटीसी बजारमा किनबेच हुने गरेको छ । धितोपत्र दलाल व्यवसायीको सहयोगविना नै क्रेता र विक्रेताको सहमति मूल्यमा ओटीसी बजारमा धितोपत्र कारोबार हुने नेप्सेले जानकारी दिएको छ । धितोपत्रको दोस्रो बजार सञ्चालन गर्दै आएको नेप्सेले छुट्टै काउन्टरमार्फत आफ्नै कार्यालयमा ओटीसी बजार सञ्चालन गर्दै आएको छ । शनिवार र सार्वजनिक बिदामा बाहेक कार्यालय समयमा ओटीसी बजारमा कारोबार हुन्छ । 

नेप्सेले ओटीसी बजारको थप विकास र विस्तारका लागि यस वर्षको नीति तथा कार्यक्रममा विशेष प्राथमिकता दिएको छ । धितोपत्र बजारलाई पूर्ण प्रविधिमैत्री अवस्थामा पुर्‍याइसकेको नेप्सेले ओटीसी बजारलाई प्रविधिसँग जोड्ने विषयलाई समेत प्राथमिकतामा राखेको छ । कागजी रूपमै कारोबार हुँदा समेत वार्षिक अर्बौं रकमको कारोबार हुने ओटीसी बजारलाई समेत प्रविधिमैत्री बनाउनुपर्ने माग लगानीकर्ताको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)