ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डेढ महीनामा ८.९७ प्रतिशत घट्यो नेप्से: बजार घट्नुको कारण अधिक शेयर आपूर्ति कि अरू पनि ?

२०८० कात्तिक, १९  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं। पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमा बिहीवार कारोबार बन्द हुँदा बजारको तथ्यांकीय मापक नेप्से १८४७ दशमलव ७० कायम भएको छ । असोज ४ गते नेप्से २०२९ विन्दुमा पुगेको थियो । करीब डेढ महीनामा परिसूचक ९ दशमलव ८७ प्रतिशत घटेको छ । 

यही बेला लगानीकर्ताले शेयर आपूर्ति बढेका कारण बजार ओरालो लागेको भन्दै सामाजिक सञ्जालमा लेख्न थालेका छन् । आपूर्ति बढेअनुसार बजारमा माग सृजना नभएको उनीहरूको भनाइ छ । 

असोज ४ गते नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमा हटाउने खबर सार्वजनिक भएसँगै नेप्से ४४ दशमलव ३४ अंक बढेर २०२९ दशमलव ७८ विन्दुमा पुग्यो । त्यसपछि बढेको बजारमा केही नाफा बुक भयो । लगानीकर्तामा रहेको अन्योलले गर्दा बजारले राम्रो गति लिन भने सकेन । 

चौतर्फी विरोधपछि राष्ट्र बैंकले असोज १८ गते एक परिपत्र जारी गरी शेयर धितो कर्जाको सीमा १२ करोड रुपैयाँबाट व्यक्तिको हकमा १५ करोड र संस्थाको हकमा २० करोड रुपैयाँ पुर्‍यायो । लगानीकर्ता भने उक्त सीमा वृद्धिबाट खुशी भएनन् । त्यसपछि असोज २१ गते खुलेको बजार ३५ दशमलव ६७ अंक घट्यो । कात्तिक १ गते नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने निर्णय गरेसँगै नेप्से ४३ अंकले बढेर १९०७ विन्दुसम्म पुगेको थियो । त्यसपछि एक कारोबार दिन बजार सामान्य अंक बढे पनि अरू दिन निरन्तर ओरालो लागेको छ । 

राष्ट्र बैंकले अपेक्षाअनुसारको कदम नचालेपछि बजार उकालो लाग्नुको साटो निरन्तर ओरालो लागिरहेको बताइन्छ । समग्र अर्थतन्त्र नै सुस्ताएका कारण लगानीकर्तामा सकारात्मक मनोभाव नआएको जानकार बताउँछन् । पछिल्लो समय उद्योगी व्यवसायी मात्रै नभएर शेयरबजारका लगानीकर्ता पनि चरम निराशामा रहेको उनीहरूको भनाइ छ । कात्तिकबाट ब्याजदर केही घटे पनि अझै माथिल्लो तहमै छ । पछिल्लो समय बजारमा व्यक्तिगत मात्रै नभएर संस्थागत लगानीकर्ताको पनि सक्रियता घटेको छ । 

यसरी शेयरबजार घट्नुको कारण अधिक आपूर्ति नै हो त ? 

बजारमा शेयरको मूल्य निर्धारण माग र आपूर्तिका आधारमा हुन्छ । माग पक्ष बलियो भएमात्रै कम्पनीहरुको शेयर मूल्यलगायत समग्र बजार अघि बढ्न सक्छ । माग पक्ष बलियो हुन कम्पनीको हरेक पक्ष र नियामक निकायको दृष्टिकोण सकारात्मक हुनुपर्छ । राजनीतिक गतिविधि, नीतिगत निर्णयलगायत कम्पनीको ससानो सूचनाले शेयर मूल्यमा अल्पकालीन प्रभाव पारिरहेको हुन्छ । केही सकारात्मक खबर आउँदा बजार बढिरहेको हुन्छ भने नकारात्मक समाचार आउँदा घट्छ । पछिल्लो १ महीनाको बजारको ट्रेन्ड हेर्दा केही सकारात्मक समाचार र नीतिगत सुधारको आवश्यकता देखिएको छ । अन्तरराष्ट्रिय पूँजीबजार विज्ञ मुक्ति अर्याल पछिल्लो समय पूँजी बजारमा नकारात्मकता धेरै हुँदा लगानीकर्ताले सकारात्मक सन्देश पाउन नसकेको बताउँछन् । उनीहरुको अपेक्षा पनि पूरा भएन, कम्पनीको वित्तीय अवस्था पनि राम्रो छैन । यसले शेयरबजार प्रभावित भएको उनी बताउँछन् । आईपीओले बजारमा आपूर्ति बढाउँदा पनि बजारमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ ।

अर्यालको विचारमा बजार घट्नुको अर्को मुख्य कारण राष्ट्र बैंकको नीति हो । ‘उसले लिएका नीतिहरू अझै पनि घातक छन् भन्ने बजारले देखाइरहेको छ,’ अर्यालले भने, ‘धेरै व्यापार व्यवसाय बन्द भएका छन् भने सूचीकृत कम्पनीहरूको वित्तीय विवरण पनि उत्साहजनक छैन ।’ नेपाल इन्भेस्टर फोरम पूर्वअध्यक्ष छोटेलाल रौनियार भने बजार घट्नुका कारणलाई जिम्मेवार ठान्छन् । उनका अनुसार पूँजी बजारलाई चाहिने कुरा छैन । नियामक निकायले ल्याएका नीतिगत कुराहरूबाटै बजार प्रभावित भएको हो । ‘त्यसैले नीतिगत समस्या धेरै छन् भन्नुपर्ने हुन्छ । ३२०० पुगेको बजार घटेर अहिले १८४७ मा आएको छ,’ उनले भने, ‘लगानीकर्ताको २० खर्ब जति डुबिसेकेको छ । बजार घट्दा मार्जिन कल पनि आइरहेकोे छ । लगानीकर्ताले असोज मसान्तमा ३ महीनाको ब्याज बल्लतल्ल तिरिसके ।’ पूँजीबजार सुधारको लागि नीतिगत स्थायित्व चाहिने उनले बताए । नेपाल धितोपत्र बोर्डले अहिलेको समयमा प्रिमियममा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ), हकप्रद शेयर र नेगेटिभ नेटवर्थ भएका कम्पनीको आईपीओ रोक्नुपर्ने पनि उनले सुझाए । ‘घट्दो बजारमा आईपीओ धेरै आउँदा आपूर्ति बढ्न गयो अनि दोस्रो बजार प्रभावित भयो,’ रौनियारले भने, ‘अहिले पनि बैंकको ब्याजदर प्रिमियमसहित १५ प्रतिशतसम्म छ । ब्याजदर वृद्धिका कारण व्यापार व्यवसायसहित शेयरबजार प्रभावित भएको हो । शेयरबजार सुधारको लागि नीतिगत सुधार जरुरी छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)