ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतमा गहुँको भाउ बढ्दा नेपालमा असर

२०८० कात्तिक, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर। दशैंअघि नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । 

भारत सरकारले नेपालमा ३ लाख मेट्रिक टन गहुँ निकासी गर्ने कोटा स्वीकृत गरे पनि अहिलेसम्म १ लाख टन मात्र आएको छ । अहिले भारतमै गहुँको माग धेरै भएकाले मूल्य बढेको छ । नेपाललाई कोटा दिँदा भारतमा गहुँको मूल्य प्रतिकिलो भारू २३ रहेकोमा अहिले भारू २८ पुगेको छ । नेपाल 

फ्लोर मिल एशोसिएशनका उपाध्यक्ष विकासकुमार बेगवानीले अहिले नेपालकै गहुँको मूल्य वृद्धिले आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको बताए । भारतबाट आयात हुन बाँकी कोटाको गहुँको पनि भाउ बढिसकेकाले गहुँजन्य उत्पादनको मूल्य अझै माथि जाने उनको भनाइ । बेगवानीका अनुसार भारतमा भारु २८ परेको गहुँको लागत नेपाल आइपुग्दा ५५ रुपैयाँ पुग्छ । 

नेपालमा गहुँको मूल्य किलोमा ५ रुपैयाँ बढ्दा मैदा, आँटा, सुजी र चोकर किलोको १० रुपैयाँ महँगिइसकेको छ । गहुँको लागत ५५ रुपैयाँ पुग्दा मैदा, आँटा, चोकर र सुजीको भाउ थप १० रुपैयाँ बढ्ने बेगवानीले बताए । 

भारतको सरकारी स्वामित्वको फुड कर्पोरेशन अफ इन्डियाले गहुँको मौज्दात घटेको भन्दै मूल्य बढाएको हो । भारतमा आगामी वर्ष निर्वाचनसमेत रहेकाले किसानले फसलबाट बढी रकम पाउन् भन्ने उद्देश्यले कर्पाेरेशनले मूल्य बढाइदिएपछि अहिले भारतीय बजारमा समेत गहुँको अभाव सृजना भएको बताइन्छ । कोटाको गहुँ उत्तरप्रदेश, मध्यप्रदेश र पञ्जाबबाट समेत ल्याउनुपर्ने भएकाले ढुवानी खर्च बढ्ने बेगवानीले बताए । 

एशोसिएशनका केन्द्रीय अध्यक्ष कुमुद दुगडले भैरहवा, वीरगञ्ज र नेपालगञ्जमा पनि गहुँको मूल्य बढेको बताए । दशैंअघिसम्म क्वीन्टलको २ हजार ९०० रुपैयाँ रहेको गहुँको भाउ दशैंलगत्तै ३ हजार २०० रुपैयाँ पुगेको उनले बताए । यसले गहुँबाट बन्ने सबै उत्पादनको मूल्य १५ प्रतिशत बढाएको दुगडले जानकारी दिए । उनले भारतमा पनि गहुँको भाउ बढेकाले आयातको गहुँले समेत उत्पादनको मूल्य बढाउने बताए । भारतबाट कोटामा आएको १ लाख टन गहुँ र नेपालमै मौज्दात रहेको गहुँको कारण बीचका केही महीना आफूहरूले घाटामा उत्पादन विक्री गरेको उनको दाबी छ । भारतबाट आउन बाँकी कोटाको २ लाख मेट्रिक टन गहुँ तिहारपछि आउन थाल्ने उनको भनाइ छ । 

गोमती फुड्सका सञ्चालक हरिवंश राठीले नेपाली गहुँ वैशाख पहिलो साताबाट मात्रै बजारमा आउने भएकाले अझै ६ महीनालाई पुग्ने गरी भारतबाट गहुँ ल्याउनुपर्ने अवस्था रहेको बताए । उनका अनुसार नेपालमा रहेका ४० ओटा मैदा मिल र ३० ओटा साना आँटा मिलले वार्षिक ९ लाख मेट्रिक टन गहुँ खपत गर्छन् । नेपालमा वार्षिक ३ लाख टन गहुँ उत्पादन हुन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)