ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हङकङमा पहिलो पटक सयपत्री फूल निर्यात गर्ने तयारीमा चितवनका किसान 

थाइल्याण्डबाट पनि आयो माग !

२०८० कात्तिक, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । फूल खेती गर्दै आएका चितवनका किसानले हङकङमा फूल निर्यात गर्ने तयारी गरेका छन् । कालिका नगरपालिका–२, पदमपुरका किसान गोविन्द बास्तोला सहितका किसानले तिहारका लागि लगाइएको सयपत्री फूल हङकङ निर्यात गर्न लागेका हुन् । 

बिहीवार निर्यातको शुभारम्भ गर्न लागिएको किसान बास्तोलाले जानकारी दिए । सयपत्री फूल चितवनबाट पहिलो पटक हङकङ पठाउन लागिएको उनको भनाइ छ । ‘अहिले पहिलोे चरणमा स्याम्पलको रूपमा हङकङमा एक हजार माला र दुई क्विन्टल सयपत्री पठाउने तयारीमा छौं,’ उनले भने, ‘त्यसपछि उताबाट राम्रो प्रतिक्रिया आए थप चार हजार माला पठाउने छौं ।’ हङकङमा नेपाली व्यवसायीको मागअनुसार माला निर्यात गर्न लागिएको उनले बताए । 

बास्तोलाले पदमपुरमा तीन बिघामा फूलखेती गरेका छन् । उनले कृषि फार्म सञ्चालन गरेर व्यावसायिक फूल खेती गर्दै आएका छन् । हाल कालिका नगरपालिकाका किसान फूल निर्यात गर्न लागिए पनि आगामी दिनमा अन्य किसानसँग सहकार्य गरी निर्यात गरिने उनको भनाइ छ । ‘यो शुरुवाती मात्रै हो, फ्लोरिकल्चर एशोसिशयन नेपालका सदस्य समेत रहेका बास्तोलाले भने, ‘राम्रो भयो भने बाह्रैमासे फूल निर्यात गर्ने हाम्रो योजना छ ।’ 

सयपत्रीका दुई जात ‘टेनिस बल’ र ‘कलकट्टे’ निर्यात गर्न लागिएको उनले जानकारी दिए । यो जातको फूलको माला तिहारमा बढी लगाउने गरिन्छ । उनका अनुसार कात्तिक २४ गते राति काठमाडौंबाट हङकङ जाने जहाजमार्फत फूल पठाइनेछ । त्यसका लागि कात्तिक २३ गते नै फूल व्यवस्थापन गरिनेछ । 

यसका लागि फूल टिप्ने, माला बनाउने र प्याकेजिङ कार्य भइरहेको र कार्गो सर्भिसबाट पठाउन लागिएको उनको भनाइ छ । अर्का किसान घनश्याम बास्तोलाले चितवनबाट सयपत्री फूल पहिलो पटक निर्यात गर्न पाउँदा आफूहरू उत्साहित भएको बताए । ‘यो चितवन समग्र नेपालकै किसानको लागि खुशीको कुरा हो,’ उनले भने, ‘यसले हामी मात्र नभई अन्य किसानलाई समेत हौसला र प्रेरणा दिन्छ ।’

हङकङसँगै थाइल्यान्डबाट पनि फूलको माग आएको उनले बताए । गोविन्दले भने, ‘पहिला हामी हङकङ निर्यात गर्छौं, कस्तो हुन्छ हेरौं अनि बिस्तारै थाइल्यान्ड पनि निर्यात गर्नेछौं ।’

नेपाली एक सय रुपैयाँ फूलको माला र ५०० रुपैयाँ किलोमा थुँगा फूल निर्यात गर्न लागिएकोे उनले बताए । उनले भने, ‘अहिले विदेशमा बेचिने र नेपालमा बेचिने मूल्य एउटै राखेका छौं । फक्रिएका फूल खेर नजाउन र नओइलियोस् भन्ने उद्देश्य पनि हो ।’ 

फ्लोरिकल्चर एशोसिएशन चितवनका सचिव सुलभ श्रेष्ठका अनुसार तिहारका लागि चितवनमा ५० बिघामा फूलखेती गरिएको छ । 

यस वर्षको तिहारमा चितवनलाई यहीको उत्पादनले पुग्ने अपेक्षा गरिएको छ । फ्लोरिकल्चर एशोसिएशनले चितवनमा चार लाख फूलको माला माग हुने जनाएको छ ।

चितवनमा तिहारका लागि फूलखेती गर्ने किसान सय जनाको हाराहारीमा छन् । फ्लोरिकल्चर एशोसिएशनले एउटा मालाको खुद्रा मूल्य एक सय र खुला फूलको मूल्य ५०० रुपैयाँ निर्धारण गरेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)