काठमाडौं। के घर, के व्यापारिक भवन जहाँसुकै बत्तीको झिलिमिली । मिठोमिठो रोटी खाने, देउसी भैलो खेल्ने पर्व हो तिहार । हर्षोल्लासको पर्व तिहार यतिबेला सबैको घरमा आइपुगेको छ । राजधानी काठमाडौंमा मात्रै होइन गाउँगाउँमा पनि झिलिमिली बत्तीको प्रयोगले सबैतिर उज्यालो देखिन्छ ।
दियो र माटाका पालामा बालिने बत्ती तथा मैनबत्तीको प्रयोग अझै पनि कायमै छ । तिहारलाई उज्यालोको पर्व पनि भनिने भएकाले यो पर्व मनाउने हरेकजसोले आफ्नो गच्छेअनुसार घरमा झिलिमिली बत्ती राख्ने गरेका छन् । तर, हिजोआज प्रयोग गरिने यी झिलिमिली बत्ती धेरैजसो स्वदेशी उत्पादन भने होइनन् । दियो र माटोको पालामा बालिने कपासको बत्तीलाई विस्थापित गर्न खोज्दै चिनियाँ र भारतीय उत्पादनका झिलिमिली बत्ती धेरै प्रयोग हुने गरेको छ । यसले गर्दा तिहारका बेला यस्ता वस्तु आयात गर्दा ठूलो धनराशी विदेशिने गरेको छ ।
नेपाल विद्युतीय व्यवसायी महासंघका अनुसार नेपालमा खपत हुने झिलिमिली बत्तीको ९० प्रतिशत चीनबाट आउने गरेको छ । यो तिहारका लागि मात्र ६०/७० करोड रुपैयाँका झिलिमिली बत्ती आयात गरिएको छ । बजारमा न्यूनतम ५० रुपैयाँदेखि १५ हजार रुपैयाँसम्ममा बत्ती छन् । न्यूरोडमा २६ वर्षदेखि झिलिमिली बत्तीसहित विद्युतीय समानका व्यापार गर्दै आएका गोपाल श्रेष्ठ तिहारलाई लक्ष्य गरी व्यवसायीले झन्डै २/३ महीनाअघि झिलिमिली बत्ती आयात गर्न शुरू गर्ने बताउँछन् । यसको विक्री लक्ष्मी पूजाको १ हप्ताअघि अत्यधिक हुने उनको अनुभव छ ।
उनका अनुसार झिलिमिली बत्तीको किनबेच लोडशेडिङ हटेलगत्तैका वर्षबाट उल्लेखनीय बढेको छ । त्यही कारण ठूला पसलदेखि फुटपाथसम्म झिलिमिली बत्तीको किनबेच हुन्छ । उपभोक्ताले यस्ता झिलिमिली बत्ती घर, बगैंचा, कार्यालय, व्यापारिक भवन सजाउन प्रयोग गर्छन् ।
तिहारलाई उज्यालोको पर्व पनि भनिने भएकाले यो पर्व मनाउने हरेकजसोले आफ्नो गच्छेअनुसार घरमा झिलिमिली बत्ती राख्ने गरेका छन् । तर, हिजोआज प्रयोग गरिने यी झिलिमिली बत्ती धेरैजसो स्वदेशी उत्पादन भने होइनन् ।
नयाँ बानेश्वरका रमेश थापाले घर सजाउन झिलिमिली बत्ती किनेको बताए । हरेक वर्ष तिहारमा उनले झिलिमिली बत्ती किन्ने गरेका छन् । ‘केही वर्षयता मैले रंगीचंगी बत्ती बाल्दै आएको छु,’ उनले भने । घर झकिझकाउ हुँदा रमाइलो लाग्ने उनी बताउँछन् । उनले काग तिहारदेखि झिलिमिली बत्ती बाल्न शुरू गर्ने बताए ।
तिहारमा महँगा झिलिमिली बत्ती, क्लब तथा रोटर लाइट पनि खपत हुने गरेको व्यापारीको भनाइ छ । देवीदेवताका फोटोमा जोडिएको बत्तीको विक्री पनि यो समय अत्यधिक हुन्छ । यस्ता बत्ती अन्य समयमा पनि विक्री हुने गरेको व्यवसायीको भनाइ छ । झिलिमिली बत्ती मात्रै नभई तिहारको किनमेलका लागि काठमाडौंका व्यापारिक केन्द्रहरूमा सर्वसाधारणको भीड लाग्ने गरेको छ । तिहारमा मिठाइ, फूल, माला, चाँदीका भाँडाकुँडासहित भाइटीकाका सामग्री र आफन्तलाई दिने उपहारको पनि किनमेल बढ्छ । राजधानीका न्यूरोड, जमल, महाबौद्ध, मंगलबजार, जावलाखेल, लगनखेललगायत व्यापारिक केन्द्रमा किनमेल गर्नेको चाप बढ्दा व्यापारीलाई भ्याई नभ्याई छ । यो बेला ५ दिनसम्म मनाइने तिहारका लागि चाहिने सामग्री किनमेल हुने गर्छ ।
माटोको पाला : रोजगारी पनि
झिलिमिली तिहारसँग माटोको पाला समेत जोडिने गरेको छ । खासगरी माटोको पालामा तेल राखेर बाल्दा दियो धेरै बेर टिक्छ । यसले गर्दा माटोको पाला प्रयोग गर्ने चलन छ । तिहार नजिकिएसँगै यति बेला भक्तपुरका प्रजापती समुदायलाई पालासहित माटाका भाँडा बनाउन भ्याई नभ्याई छ । पोटरी स्क्वायर, ठिमी, बोलाछें, ब्यासीलगायत स्थानमा तिहारको लागि आवश्यक पर्ने पालासहित माटाका भाँडा बनाइँदै गरेको देख्न सकिन्छ । तिहार शुरू भएसँगै काठमाडौं उपत्यकामा माटोका सामानको लागि प्रख्यात भक्तपुरको पोटरी स्क्वाएरका कुमालेहरू दिनरात नभनी सामान बनाउन व्यस्त हुन्छन् ।
एक जनाले राम्रोसँग काम गर्दा दिनमा हजार पाला बनाउन सक्ने राम कुमालले बताए । तिहारमा मात्र एकजनाले ५०–६० हजार रुपैयाँसम्म कमाउने गरेको व्यवसायीको अनुभव छ । तिहारमा पाला मात्र नभई कलश, धुपौरो आदि पनि राम्रै विक्री हुने गरेको छ । साधारणतया पाला ४ प्रकारको हुन्छ । सबैभन्दा सानो पाला सय ओटाको २ सय रुपैयाँ पर्छ । त्योभन्दा ठूलाको प्रतिगोटा क्रमश १०, १५ र २० रुपैयाँ पर्छ । कतिपयले आगोमा नपोलेको पाला लैजाने गरेको र त्यसको ३ ओटाको ५ रुपैयाँ पर्ने कुमालहरू बताउँछन् । उनीहरूले काँचो पालालाई चोखो मान्ने व्यवसायी बताउँछन् । पाला बनाउन झन्झट हुने र पैसा कम आउने भएकोले धेरै कुमालहरू पालाभन्दा अरू चिज बनाउन रुचाउँछन् । माटोको भाँडो बनाउन झन्झटिलो हुने भएकोले पछिल्ला पुस्ताले विस्तारै यो पेसा छोड्दै गएको ५४ वर्षदेखि माटोको भाँडा बनाउँदै आएका ७० वर्षीय नरेशभक्त प्रजापती बताउँछन् । अर्का पाला व्यवसायी राजेश प्रजापती पाला बनाउने कुमालेहरू पलायन हुनुको प्रमुख कारण व्यवसाय समय अनुकूल फस्टाउन नसक्नु नै रहेको मान्छन् ।
‘महँगी दिन प्रतिदिन बढिरहेको छ । सानो छँदा हामी यहीँ नजिकैबाट पालाका लागि आफै माटो झिकेर ल्याउँथ्यौं, अहिले दाङबाट ल्याउनुपर्ने बाध्यता छ । उपत्यका बाहिरबाट ल्याउँदा लागत स्वत: बढ्छ । तर, पालाको मूल्य केही वर्षदेखि यथावत् छ । माटोको मूल्य अनुसार पालाको मूल्य नबढ्दा हामीले घाटासमेत बेहोर्नुपरेको छ,’ राजेशले भने । प्रविधिको प्रयोगले भने माटोको भाँडा बनाउन अहिले धेरै सहज भएको उनले सुनाए । माटोको भाँडा बनाउँदा हातैले घुमाउनुपर्ने चक्रको ठाउँ अचेल विद्युतीय चक्रले लिएको छ ।
‘पहिले–पहिले शुरूमा
माटोलाई खुट्टाले फुटाइथ्यो । अहिले मेशिन प्रयोग गरिन्छ । भाँडा बनाउने चक्र हातले घुमाउनुपथ्र्यो । अहिले मोटरले घुमाउँछ । अन्तिममा सामान्य तरीकाले पोलिन्थ्यो अहिले त्यसको लागि पनि आधुनिक भट्टी प्रयोग गरिन्छ,’ राजेश भन्छन् । सबै चिज सहज भए पनि यो पेशामा भविष्य नदेखेर युवाले अन्य काम गरेकोमा कतिपय कुमालेहरू चिन्तित छन् ।
नेपाल संवत्को प्रत्येक वर्ष तिहार पर्वको रौनक मै नेपाल संवत् फेरिने गर्छ । यो चन्द्रमानमा अधारित संवत् हो । यस वर्ष कात्तिक २८ गते नेपाल संवत् ११४४ शुरू हुँदै छ ।
राष्ट्रिय विभूति शंखधर साख्वा:ले विसं ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो ।
नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबीसे, दोलखालगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ । नेपाल संवत् भक्तपुरका राजा राघव देवको आज्ञामा नेपालको कार्यालयहरूमा चलाइएको थियो । नेपालमा औपचारिक रूपले यो संवत् चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा थियो । नेपाल संवत्लाई मारवाडी समुदायले समेत विशेष रूपमा लिने गरेको छ ।