ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौं–तराई दु्रतमार्ग : ६ वर्षमध्ये ४ वर्ष कामै गर्न पाइएन : नेपाली सेना

२०८० मंसिर, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं। नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौं–तराई द्रुतमार्ग निर्माणको व्यवस्थापन जिम्मा लिएको ६ वर्ष ३ महीना पूरा भएको छ । सरकारले २०७४ साउनमा यो आयोजना सेनालाई हस्तान्तरण गर्दै ४ वर्षभित्र सम्पन्न गर्न निर्देशन दिएको थियो । 

आयोजना व्यवस्थापनको जिम्मेवारी लिएपछि सेनाले पत्रकार सम्मेलन गरेर साढे ३ वर्षमै काम सम्पन्न गर्ने घोषणा गरेको थियो । तर, विभिन्न १० कारणले ४ वर्षभन्दा बढी समय काम पूर्ण रूपमा ठप्प हुँदा आयोजनाको निर्माण अवधि लम्बिएको सेनाले दाबी गरेको छ । 

आयोजनाको परामर्शदाता छनोट, विस्तृत आयोजना प्रतिवेदन (डीपीआर), ऐलानी जग्गाको क्षतिपूर्ति, आयोजनाको समयावधि मिलान, पूरक वातावरणीय प्रभाव मूल्यांकन (एसईआईए), विष्फोटक पदार्थको उपलब्धता, प्याकेज नम्बर १ देखि ५ सम्मको रूख कटान तथा जग्गा भोगाधिकार, विस्तृत आयोजना प्रतिवेदनको प्रथम संशोधनजस्ता काममा ढिलाइ हुँदा र कोरोना महामारीले गर्दा ४ वर्षजति अवधि काम प्रभावित भएको सेनाले जानकारी दिएको छ ।

यीमध्ये सबैभन्दा धेरै समय परामर्शदाता छनोटमा खर्च भएको सेनाले जानकारी दिएको छ । परामर्शदाता छनोटमा २०७४ मङ्सिरदेखि काम शुरू भएको थियो । यसका लागि २ वर्ष ६ महीना लागेको सेनाको भनाइ छ । कोरोना महामारीका कारण १ वर्ष ९ महीना आयोजनाको डिजाइन तथा निर्माणसहित सम्पूर्ण काम प्रभावित भएको थियो । 

यस्तै महादेवटार तथा लेनडाँडा इलाकामा सुरुङमार्गमा ऐलानी जग्गाको क्षतिपूर्तिका लागि पनि ८ महीना बितेको बताइएको छ । डीपीआरमा निर्धारित समयभन्दा ५ महीना बढी लाग्यो । विष्फोटक पदार्थ उपलब्ध नभएर ५ महीना र अन्य कारणले साढे २ महीनादेखि ५ महीनासम्म समय खेर गएको सेनाको भनाइ छ । 

अहिले पनि उक्त आयोजनाका सबै साइट क्लियर छैनन् । खोकनाको विवाद जस्ताको तस्तै छ । पछिल्लो पूरक वातावरणीय प्रभाव मूल्यांकनले थप रूख कटान गर्नुपर्ने देखाएको छ । सरकारले दु्रतमार्ग निर्माणमा पटकपटक म्याद थप गरेको छ । आयोजना सम्पन्न गर्न सरकारले पछिल्लोपटक म्याद थप गर्दा २०८३ चैतसम्म पुगेको छ । 

२ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागत रहेको उक्त आयोजनामा हालसम्म ५१ अर्ब ४५ करोड रुपैयाँ खर्च भइसकेको छ । चालू आर्थिक वर्षका लागि २२ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ । द्रुतमार्गअन्तर्गत महादेवटार, धेद्रे र लेनडाँडाको सुरुङमार्ग निर्माणाधीन छन् ।

त्यसमा ३ दशमलव ३५ किलोमीटरको महादेवटार सुरुङमार्गमा १ दशमलव ४८ किलोमीटर, १ दशमलव ४३ किलोमीटरको लेनडाँडा सुरुङमार्गमा ८५० मीटर र १ दशमलव ६३ किलोमीटरको धेद्रे सुरुङमार्ग ८०० मीटर खनिएको छ । प्याकेज नम्बर १, २, ३, ४, ५ र ७ मा बन्ने २ हजार ११६ पुलमध्ये हालसम्म १ हजार १७२ निर्माण भइसकेका छन् । पछिल्लो समय सुरुङमार्ग निर्माण र जटिल भनिएका पुल निर्माणले गति लिएको सेनाले जानकारी दिएको छ । 

यस्ता छन् १० कारण :

  •  परामर्शदाता छनोट
  •  विस्तृत आयोजना प्रतिवेदन तयारी 
  •  ऐलानी जग्गाको क्षतिपूर्ति
  •  आयोजनाको समयावधि मिलान
  •  पूरक वातावरणीय प्रभाव मूल्यांकन
  •  विष्फोटक पदार्थको अभाव
  •  प्याकेज १ देखि ५ सम्मको रूख कटान 
  •  जग्गा भोगाधिकार
  •  विस्तृत आयोजना प्रतिवेदन संशोधन 
  •  कोरोना महामारी 
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)