ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रासायनिक मल, विषादी र उन्नत बीउको प्रयोग बढ्दो

२०८० मंसिर, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं। पछिल्लो समय नेपालको बालीनालीमा रासायनिक मल, विषादी र उन्नत बीउको प्रयोग बढेको पाइएको छ । कृषि गणना २०७८ को तथ्यांकअनुसार विगत १० वर्षमा रासायनिक मल, विषादी र उन्नत तथा वर्णसंकर बीउको प्रयोग बढेको देखिएको हो ।

तथ्यांकअनुसार विगत १० वर्षमा वर्णसंकर धानको बीउ प्रयोग गर्ने कृषक परिवारको संख्या ५ दशमलव ४ प्रतिशतबाट बढेर करीब १६ दशमलव ५ प्रतिशत पुगेको छ । यसबीचमा धानबालीमा विषादी प्रयोग गर्नेको संख्या १५ दशमलव ६ प्रतिशत बिन्दुले बढेर ४४ दशमलव ६ प्रतिशत पुगेको छ । धानखेती गर्ने २७ लाख ६५ हजार ५ सय कृषक परिवारमध्ये १४ हजार ७ सयले धानबालीमा अतिकडा (रातो) विषादी प्रयोग गरेको पाइएको छ । त्यसैगरी करीब ७६ प्रतिशत कृषक परिवारले धानबालीमा रासायनिक मल प्रयोग गर्ने गरेका छन् ।

तरकारी बालीमा उन्नत बीउ प्रयोग गर्ने कृषक परिवार १९ दशमलव ९ प्रतिशतबाट बढेर २२ दशमलव २ प्रतिशत पुगेको छ भने वर्णसंकर तरकारीको बीउ लगाउने कृषकको अनुपात करीब ५ प्रतिशतबाट बढेर १३ प्रतिशत पुगेको छ । तरकारी बालीमा विषादी प्रयोग गर्ने कृषक परिवारको अनुपात विगत १० वर्षमा करीब १६ प्रतिशतबाट बढेर २७ प्रतिशत पुगेको छ ।

थोरै जमीनमा पनि धेरै उत्पादन गर्न सकिने भएकाले उन्नत तथा वर्णसंकर जातको बीउतर्फ किसानको आकर्षण बढेको हो ।

त्यसैगरी तरकारी बालीमा विषादी प्रयोग गर्ने ५ लाख २८ हजार किसानमध्ये ५३ दशमलव २ प्रतिशतले सुरक्षित (हरियो), ३३ दशमलव २ प्रतिशतले मध्यम (नीलो), १२ दशमलव २ प्रतिशतले कडा (पहेंलो) र शून्य दशमलव ७ प्रतिशतले अतिकडा (रातो) विषादी प्रयोग गरेको बताएका छन् । साथै तरकारी बालीमा २४ प्रतिशत किसान परिवारले रासायनिक मल प्रयोग गर्ने गर्छन् । अघिल्लो गणनामा तरकारी बालीमा रासायनिक मल प्रयोग गर्ने किसान परिवार करीब २२ प्रतिशत थिए ।

कृषि तथा पशुपन्छी गणना शाखाका निर्देशक डा. बद्रीकुमार कार्कीले पछिल्लो समय बालीनालीमा विभिन्न रोग कीराको प्रभाव बढ्दो रहेकाले त्यसलाई कम गर्न किसानले जथाभावी रूपमा विषादी हाल्नाले यसको प्रयोग बढेको बताए । उनका अनुसार थोरै जमीनमा पनि धेरै उत्पादन गर्न सकिने भएकाले उन्नत तथा वर्णसंकर जातको बीउतर्फ किसानको आकर्षण बढेको हो । साथै प्रांगारिक मलभन्दा किसानको आकर्षण रासायनिक मलतर्फ नै रहेको र सरकारले पनि प्रांगरिक मल उत्पादनको क्षेत्रमा चासो दिन नसक्दा रासायनिक मल प्रयोगकर्ता बढेको देखिएको उनले बताए ।

मकैबालीमा रासायनिक मल प्रयोग गर्ने किसान परिवार संख्या ४५ प्रतिशतबाट बढेर ४९ प्रतिशत पुगेको छ । उन्नत र वर्णसंकर बीउ प्रयोग गर्ने किसान परिवार १८ प्रतिशतबाट बढेर २५ प्रतिशत पुगेका छन् । १० वर्षको अन्तरालमा मकैबालीमा कीटनाशक विषादी प्रयोग गर्ने किसान परिवार संख्या ९ प्रतिशतबाट बढेर २३ प्रतिशत पुगेको छ । हालको गणनाअनुसार नेपालमा २६ हजार किसान परिवारले मात्रै मकैखेती गर्छन् ।

गहुँबालीमा उन्नत तथा वर्णसंकर जातको बीउ प्रयोग गर्ने किसान परिवार संख्या २ प्रतिशत बिन्दुले बढेर ३३ प्रतिशत पुगेको छ । गहुँमा कीटनाशक विषादी प्रयोग गर्ने किसान परिवार संख्या १६ बाट बढेर २८ प्रतिशत पुगेको छ । यद्यपि गहुँबालीमा रासायनिक मल प्रयोग गर्ने किसान परिवार संख्या भने घटेको छ । अघिल्लो गणनामा ६४ प्रतिशत किसानले गहुँबालीमा रासायनिक मल प्रयोग गर्ने गरेकोमा अहिले घटेर ५८ प्रतिशतमा सीमित भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)