ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्जाको ब्याजदर घट्दै 

२०८० मंसिर, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बैंक, वित्तीय संस्थाहरूले निक्षेपमा ब्याजदर घटाएसँगै कर्जा पनि सस्तो हुन थालेको छ । निक्षेपको ब्याजदर घटाएपछि बैंकहरूको लागतसँगै आधारदर कम भएर कर्जाको ब्याजदर घट्न थालेको हो । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव)को असोजमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर १२ दशमलव ११ प्रतिशतमा झरेको छ । साउनमा कर्जाको औसत ब्याजदर १२ दशमलव २४ प्रतिशत थियो । साउनमा १० दशमलव ११ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत आधारदर असोजमा ९ दशमलव ९४ प्रतिशतमा झरेको छ । आधारदर घटेपछि कर्जाको ब्याजदर घटेको हो । 

साउनको तुलनामा असोजमा विकास बैंकहरूमा भने ब्याजदर बढेको छ । साउनमा विकास बैंकहरूको कर्जाको औसत ब्याजदर १३ दशमलव ८८ प्रतिशत रहेकोमा असोजमा १३ दशमलव ९१ प्रतिशत कायम भएको छ । भदौको तुलनामा भने असोजमा ब्याजदर घटेको छ । 

यसैगरी फाइनान्स कम्पनीहरूमा पनि कर्जाको औसत ब्याजदर घटेको छ । फाइनान्स कम्पनीहरूमा साउनमा १४ दशमलव ६६ प्रतिशत औसत ब्याजदर रहेकोमा असोजमा १४ दशमलव ६१ प्रतिशतमा झरेको छ । 

तरलता अभाव भएसँगै बैंकहरूले निक्षेपको ब्याजदर बढाएपछि लागत बढेर कर्जा पनि महँगो भएको थियो । पछिल्लो समय विष्रेषण आप्रवाहमा सुधार र आर्थिक गतिविधि बढेपछि बैंकमा निक्षेप बढिरहेको छ । बैंकहरूले निक्षेपको ब्याजदर घटाउन थालेपछि कर्जा पनि सस्तो हुन थालेको हो । नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी आधारदर सस्तो भएको र बैंकहरूले प्रिमियम पनि घटाएकाले कर्जाको ब्याजदर घटिरहेको बताउँछन् । ‘अहिले निक्षेप वृद्धिको तुलनामा कर्जाको माग छैन,’ उनले भने, ‘बैंकहरूले लगानी बढाउन प्रिमियम पनि घटाएकाले कर्जा सस्तो भइरहेको छ ।’

मङ्सिर महीनामा अधिकांश बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएकाले आगामी दिनमा कर्जाको ब्याजदर पनि अझ घट्ने देखिएको छ । 

राष्ट्र बैंकको आधारदर निर्धारणसम्बन्धी कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो लागतमा शून्य दशमलव ७५ प्रतिशत प्रतिफल जोडेर आधारदर निर्धारण गर्न पाउँछन् । बैंकहरूले उक्त आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्दै आएका छन् । यही व्यवस्थाअनुसार प्रत्येक त्रैमासिकमा बैंकको औसत आधारदर घट्दा कर्जाको ब्याजदर स्वत: घट्ने र बढ्दा स्वत: बढ्ने प्रावधान छ । नयाँ कर्जा लगानी गर्दा पछिल्लो ३ महीनाको आधारदर लिनुपर्ने व्यवस्थाले कर्जाको ब्याजदर घटेको छ । 

यसैगरी मङ्सिर महीनामा अधिकांश बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएकाले आगामी दिनमा कर्जाको ब्याजदर पनि अझ घट्ने देखिएको छ । तरलता सहज भएपछि बैंकहरूले ब्याजदर तथा प्रिमियम घटाएर भए पनि कर्जा प्रवाह बढाउन थालेका छन् । 

राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक २१ गते बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१ दशमलव ३१ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन सक्ने प्रावधानअनुसार अझै ५ खर्ब १४ रुपैयाँ थप कर्जा प्रवाह क्षमता रहेको छ । 

तरलता उच्च भएपछि बैंकहरूले ब्याजदर घटाएर कर्जा प्रवाहमा जोड दिएका छन् । यसले गर्दा कर्जा प्रवाह वृद्धि हुन थालेको छ । चालू आवको असोजसम्ममा बैंक, वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ दशमलव ८ प्रतिशत र कर्जा प्रवाह २ दशमलव ३ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा निक्षेप शून्य दशमलव ४ प्रतिशत र कर्जा १ दशमलव ३ प्रतिशतले बढेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)