ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ओरालो लाग्दै नेपाल एयरलाइन्सको बजार

२०८० मंसिर, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को बजार अंश पछिल्लो २ वर्ष लगातार घटेको देखिएको छ । सन् २०२० सम्मका ९ वर्षमध्ये ७ वर्ष बढेको नेपाल एयरलाइन्सको बजार अंश सन् २०२१ र २२ मा लगातार घटेको हो ।

सन् २०२० मा २५ प्रतिशत पुगेको नेपाल एयरलाइन्सको बजार अंश २०२१ मा २० प्रतिशत र २०२२ मा १६ दशमलव ५६ प्रतिशतमा ओर्लेको निगमले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा उल्लेख छ । आन्तरिक र बाह्य दुवैतर्फ उडान सेवा दिँदै आएको निगमले आफूसँग भएका जहाजको सही व्यवस्थापन गर्न र उपयुक्त रणनीति बनाउन नसक्दा बजार अंश गुमाउँदै गएको हो । निगमभन्दा पछि सञ्चालनमा आएका निजीक्षेत्रका केही वायुसेवा प्रदायक कम्पनीको बजार अंश ५५ प्रतिशतभन्दा माथि पुगेको छ । बाँकी एयरलाइन्स कम्पनीहरूले पनि बजार अंश बढाउँदै आएका छन् । 

 आन्तरिकतर्फ वर्षमा जम्मा १७ हजारलाई सेवा

उडानमा ढिलाइ गर्ने, इन्जिन बनाउनै महीनौं लगाउने र पटकपटक प्राविधिक समस्या आउँदा निगमले दिने सेवाको गुणस्तर अरुको तुलनामा कमजोर छ । जहाज संख्या कम र दिइरहेको सेवा पनि गुणस्तरीय नहुँदा बजार अंश गुमाउन पुगेको प्रतिवेदनमै उल्लेख छ । कुनै समय आन्तरिकतर्फका ३९ गन्तव्यमा उडान गरेको नेपाल एयरलाइन्सले अहिले जम्मा १९ गन्तव्यमा जहाज उडाउँछ । अन्तरराष्ट्रिय उडानका गन्तव्यहरू पनि घटेर अहिले ९ मा झरेको छ ।

सन् २०२० मा कोभिड–१९ का कारण अन्य जहाज सञ्चालन नहुँदा निगमको बजार अंश बढेको थियो । दशकौंदेखि सेवा दिँदै आएको नेपाल एयरलाइन्सले आन्तरिक तथा बाह्य दुवैतर्फको उडानमा सही रणनीति बनाएर लागू गर्न र सेवाग्राहीको बढ्दो संख्यालाई तान्न नसक्दा बजार अंश गुमाउँदै आएको हो । निगमको संरचनागत सुधारदेखि बजार विस्तार र रणनीति सम्बन्धमा पटकपटक सुझावसहितका प्रतिवेदन तयार भए पनि बजार अंश र आम्दानी बढ्नुको साटो घटेको छ । 

बारम्बार उडान रद्द गर्ने निगमले मौसम, प्राविधिक, इन्जिनीयरिङलगायत कारणले उडानमा ढिलाइ हुँदै आएको उल्लेख गरेको छ । निगमसँग हाल दुईओटा ट्वीनअटर जहाज छन् । त्यसबाट उसले आन्तरिक गन्तव्यमा उडान गर्दै आएको छ । चारओटा एयरबस जहाजबाट ७ देशका ९ गन्तव्यमा उडान गर्दै आएको छ । 

निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीले बजार विस्तार गरेपछि निगमले पनि गुमेको बजार अंश फर्काउन चिनियाँ जहाज अनुदान र ऋण सहयोगमा किनेको थियो । हाल ती जहाज ग्राउन्डेड भई विक्री पनि हुन नसकेको अवस्थामा छन् । निगमले सार्वजनिक गरेको प्रतिवेदनअनुसार जहाजको उपयोग औसत दैनिक १३ दशमलव ६ घण्टा भएको देखिएको छ । 

सन् २०२२ मा नेपाल एयरलाइन्सले विभिन्न गन्तव्यमा ३ हजार ७६८ अन्तरराष्ट्रिय उडान/अवतरण गर्दा ६ लाख २९ हजार १४७ यात्रुलाई सेवा दिएको छ । नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्ली, मलेशियाको क्वालालम्पुर, कतारको दोहा, युनाइटेड अरब इमिरेट्सको दुबई, हङकङ, थाइल्यान्डको बैंकक र मुम्बईमध्ये सबैभन्दा धेरै आम्दानी बैंकक उडानबाट गरेको छ ।

यीमध्ये कार्गाे सेवा दिँदा बैंकक सेक्टरबाट कम्पनीले सन् २०२२ मा ९८ प्रतिशत आम्दानी गरेको छ । बैंकक सेक्टरमा यात्रुबाट ३९ प्रतिशत आम्दानी गरेको छ । सबैभन्दा कम आम्दानी गर्ने सेक्टरमा दुबई रहेको छ । उक्त सेक्टरमा उडान सेवा दिँदा नेपाल एयरलाइन्सले यात्रु र कार्गाे दुवैबाट सन् २०२२ मा १२/१२ प्रतिशत आम्दानी गरेको छ । 

आन्तरिक उडानमा भने नेपाल एयरलाइन्सको सेवा अत्यन्त कमजोर देखिएको छ । गतवर्ष आन्तरिकतर्फ निगमले जम्मा १७ हजार २१४ यात्रुलाई सेवा दिएको छ । जहाज नै कम हुँदा र भएका जहाज पनि व्यवस्थित रूपमा सञ्चालन गर्न नसक्दा सेवा लिनेको संख्या कम देखिएको हो । आन्तरिकतर्फ कमजोर उपस्थिति देखिएका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आन्तरिक उडानका लागि १० ओटा जहाज किन्ने घोषणा गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)