काठमाडौं। देशको आर्थिक अवस्था बिग्रँदै जाँदा प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाउनुभएको छ । प्रधानमन्त्रीको कार्यभार सम्हालेयता पटकपटक मुलुकको आर्थिक स्थितिबारे गभर्नर, अर्थमन्त्री, निजीक्षेत्रसँग सुझाव लिनुभएका दाहालले फेरि चासो राख्नुभएको छ । उहाँले सोमवार अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र राष्ट्र बैंकका गभर्नरसँग छलफल गर्नुभएको हो ।
छलफलबाट कुनै ठोस निष्कर्ष भने आएको छैन । सरकारले निजीक्षेत्रसँग अर्थतन्त्र सुधारको विषयमा मंगलवार (आज) छलफल गर्दै छ । सरकारले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि, निर्माण व्यवसायी र उद्योगीसँग छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतका अनुसार मंगलवार दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निजीक्षेत्रसँग छलफल हुनेछ ।
अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आउँदासमेत आन्तरिक अर्थतन्त्र चलायमान हुन नसक्नुको कारणबारे प्रधानमन्त्रीले निजीक्षेत्रको धारणा लिन चाहेकाले उनीहरूसँग छलफल गर्नुपर्ने निष्कर्षमा पुगिएको सोमवारको छलफलमा सहभागी एक मन्त्रीले बताए । सोमवारको छलफलमा अर्थमन्त्री महतले ब्याजदर घट्दै गएको, अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर सुधार हुँदै गएको, विप्रेषण आप्रवाह बढेको, पयर्टन क्षेत्र चलायमान भएकोलगायत विषयमा प्रधानमन्त्रीलाई बिफ्रिङ गरेका थिए । उनले बाह्य क्षेत्रमा भएको सुधारले आगामी दिनमा आन्तरिक अर्थतन्त्र पनि चलायमान बन्दै जाने दाबी गरेका थिए ।
उहाँले सोमवार अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र राष्ट्र बैंकका गभर्नरसँग छलफल गर्नुभएको हो ।
प्रधानमन्त्रीले डाकेको छलफलअघि सोमवारै सत्तारूढ घटक नेपाली कांग्रेसले देशको पछिल्लो आर्थिक अवस्थाबारे छलफल गरेको थियो । पार्टी सभापति शेरबहादुर देउवाले अर्थमन्त्री महतलाई बोलाएर देशको आर्थिक अवस्थाबारे छलफल गरेका हुन् । देउवा निवासमा भएको छलफलमा पनि मन्त्री महतले आर्थिक सूचकांकहरू सुधार हुँदै गएको ब्रिफिङ गरेका थिए । उनले पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको र घरजग्गाको व्यवसाय पनि राम्रो हुँदै गएको ब्रिफिङ गरेको छलफलमा सहभागी पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
बैठकपछि अर्थमन्त्री महतले आर्थिक अवस्था सुधारको बाटोमा रहेको प्रतिक्रिया दिए । पर्यटनका साथै घरजग्गा क्षेत्रको पछिल्लो अवस्था सकारात्मक रहेको उनको दाबी छ । उनले दाबी गरेजस्तो घरजग्गा कारोबार भने बढ्न सकेको छैन । ‘यो वर्ष अहिलेसम्मकै धेरै विदेशी पर्यटक नेपाल भित्रिँदै छन्,’ महतले सञ्चारकर्मीसँग भने, ‘आर्थिक गतिविधि बढ्दै छ । जग्गा कारोबार पनि बढ्दै छ । परिस्थिति सकारात्मक हुँदै गएको छ ।’