काठमाडौं । तीन दशक पुरानो बियर उत्पादक कम्पनी टाइगर्स ब्रुअरी इन्डस्ट्रिज प्राइभेट लिमिटेड (टाइगर्स) ले ११ महीनामा ६१ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
रेटिङ् कम्पनी ईक्रा नेपालका अनुसार कम्पनीको कोभिडअघिको तुलनामा कोभिडपछि आम्दानी र नाफा दुवै कम छ । ईक्राका अनुसार पछिल्लो तीन वर्षमा कम्पनीको नाफाका साथै तरलता पनि घटेको छ ।
सन् २०१९ मा १ अर्ब १५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको यस कम्पनीले सन् २०२० मा ६५ करोड १० लाख रुपैयाँ, सन् २०२१ मा ९६ करोड र सन् २०२२ मा ७३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीले १ अर्ब ७४ करोड रुपैयाँ कर्जाको लागि रेटिङ गराएको छ । ईक्राले ८९ करोड ९५ लाख रुपैयाँको दीर्घकालीन कर्जाको लागि एल बी प्लस र ८५ करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि ए फोर रेटिङ दिएको छ ।
कम्पनीसँग वार्षिक ४० लाख बियर उत्पादन गर्न सक्ने क्षमता छ । कम्पनीले हाल टेन्सबर्ग, नेपाल टाइगर स्ट्रङ र रकस्टार बियरसहित सात ब्रान्डको बियरको विक्री वितरण गर्दै आएको छ । कम्पनीको मुलुकभर १५० बढी डिलर छ । सन् १९९३ मा स्थापित यस कम्पनीको उद्योग रूपन्देहीमा छ ।
कम्पनीमा ईश्वरी खड्काको ४७ प्रतिशत, प्रेम खड्काको २९ प्रतिशत र लक्ष्मण खड्काको २४ प्रतिशत शेयर हिस्सा छ ।