ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरामा दोस्रो अन्तरराष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता हुँदै, चार्टर्ड उडान गरी चीनबाट प्रतियोगी आउने !

२०८० मंसिर, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फोटो : सुनिल शर्मा/ आर्थिक अभियान
author avatar अभियान संवाददाता

पोखरा । पर्यटकीय शहर पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिता (अन्तरराष्ट्रिय माउण्टेन क्रस कन्ट्री रेस) आयोजना हुने भएको छ । 

नेपाल पर्यटन बोर्ड, नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोट्र्स एशोसियशन र होटल एशोसियशन पोखराको सहआयोजनामा यही मंसिर ९ गते पोखरामा उक्त प्रतियोगिता आयोजना गरिन लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । 

प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ । नेपाल र चीन मैत्रीपूर्ण सम्बन्ध विस्तार तथा नेपालको पर्यटन प्रर्वद्धनका लागि प्रतियोगिता आयोजना गरिन लागिएको हो । पत्रकार सम्मेलनमा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले प्रतियोगितामा नेपाल र चीनका १०–१० टोली सहभागी हुने जानकारी दिए । 

प्रतियोगितामा सहभागी हुन हिमालयन एयरलायन्स चार्टर्ड उडान गरी खेलाडी, अफिसियल र अन्य पाहुना गरी एक सय चार जना चिनियाँ पोखरा आउने उनले जानकारी दिए । यसअघि सन् २०१९ मा पहिलो संस्करणको प्रतियोगिता आयोजना गरिएको थियो । कोभिड–१९ महामारीका कारण त्यसपछि प्रतियोगिता आयोजना हुन सकेको थिएन । 

पत्रकार सम्मेलनमा चिनियाँ दुतावासका डेपुटी चिफ अफ मिसन वान सिनले प्रतियोगिताले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुमधुर बनाउने तथा नेपालमा खेल पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरेको बताए । 

प्रतियोगितामा धावकहरूले दौड, साइक्लिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्नेछ । फेवाताल किनार बाराहीघाटबाट शुरू हुने प्रतियोगिता डेभिड फल हुँदै विश्व शान्ति स्तुप पुगेर फेवातालमा बोटिङ गरी फेरि बाराहीघाट आएर अन्त्य हुने छ । 

नेपाल र चीनका खेलाडीबीच हुने मैत्रीपूर्ण प्रतिस्पर्धाका साथै व्यक्तिगत दौड प्रतियोगिता ३८ किलोमिटर, आम नागरिकका लागि पब्लिक इभेन्ट ५ किलोमिटर र विद्यार्थीका लागि ५ किलोमिटर दौड प्रतियोगिता पनि राखिएको छ ।

नेपाली र चिनियाँ धावकबीच हुने प्रतियोगिताका प्रथम हुने टिमले ३ लाख ६० हजार रुपैयाँ, दोस्रोले २ लाख ८८ हजार रुपैयाँ, तेस्रोले २ लाख १६ हजार रुपैयाँ, चौथो टिमले १ लाख ४४ हजार रुपैयाँ र पाँचौं हुने टिमले ९० हजार रुपैयाँ पुरस्कार पाउने छन् । 

व्यक्तिगत स्पर्धामा प्रथमले १ लाख ४४ हजार रुपैयाँ, दोस्रोले १ लाख ८ हजार रुपैयाँ, तेस्रोले ५४ हजार रुपैयाँ पुरस्कार पाउने छन् । व्यक्तिगत स्पर्धामा चौथोदेखि १० औं तहमा आइपुग्ने धावकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । 

यसअघि असार ८ र ९ गते पोखरामा आयोजित चिनियाँ ड्रागन बोट रेसमा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी पोखरा आएका थिए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)