ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कात्तिकमा ३२ अर्ब कर्जा प्रवाह

२०८० मंसिर, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। निक्षेप वृद्धिसँगै लगानीयोग्य पूँजी (तरलता) थुप्रिएपछि बैंक, वित्तीय संस्थाहरू कर्जा प्रवाह बढाउन केन्द्रित भएका छन् । दशैं, तिहार, छठलगायत चाडपर्वका कारण आन्तरिक आर्थिक गतिविधि बढेपछि बैंकहरूको कर्जा प्रवाह वृद्धि भएको हो । 

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार कात्तिकमा मात्र बैंकहरूबाट ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । असोज अन्तिममा बैंकहरूको कुल कर्जा ४९ खर्ब ५२ अर्ब रुपैयाँ रहेकोमा कात्तिक २४ गते हुँदा बढेर ४९ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । 

चालू आर्थिक वर्ष (आव) मा मात्र बैंकहरूको कर्जा १ खर्ब ६ अर्ब रुपैयाँ बढेको छ । यस अवधिमा निक्षेप भने १ खर्ब ५७ अर्ब रुपैयाँ थपिएको छ । निक्षेप वृद्धिसँगै बैंकहरूले ब्याजदर घटाएर भएपछि कर्जा प्रवाहमा जोड दिएका छन् । 

बैंकहरूसँग लगानीयोग्य रकम (तरलता) अधिक भएपछि उनीहरूले निक्षेप र कर्जाको ब्याजदर घटाइरहेका छन् । कात्तिक २४ गते बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१ दशमलव ३५ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन सक्ने प्रावधान छ । यसअनुसार उनीहरूसँग अझै ४ खर्ब ९३ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्ने क्षमता छ । यसैगरी दशैं, तिहारलगायत चाडपर्वका लागि बैंकबाट बाहिरिएको निक्षेप पुन: बैंकमा नै फर्किएको छ । 

दशैं बिदापछि बैंक, वित्तीय संस्थामा ४८ अर्ब रुपैयाँ थपिएपछि निक्षेप दशैंअघिकै अवस्थामा पुगेको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार कात्तिक २४ गतेसम्ममा बैंक, वित्तीय संस्थाको कुल निक्षेप ५९ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । यस दिनसम्म वाणिज्य बैंकहरूको निक्षेप ५२ खर्ब ३२ अर्ब रुपैयाँ पुग्दा विकास बैंक र फाइनान्स कम्पनीमा ६ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप कायम भएको छ । 

असोज मसान्तमा वित्तीय प्रणालीमा कुल ५९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप थियो । दशैंमा बैंकबाट निक्षेप बाहिरिँदा कात्तिक ९ गते निक्षेप घटेर ५८ खर्ब ६८ अर्ब रुपैयाँ कायम भएको थियो । 

दशैं बिदापछि भने बैंकमा लगातार निक्षेप बढ्न थालेको हो । दशैंमा बैंकिङ प्रणालीबाट ७६ अर्ब रुपैयाँ नगद बजारमा प्रवाह भएको र उक्त रकम प्रणालीमा फर्किएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । तर, तिहार र छठपर्वका लागि पैसा झिक्नेहरू बढ्दा बैंकको निक्षेप घटेको छ । कात्तिक २३ गतेको तुलनामा २४ गते बैंकहरूको निक्षेप ३ अर्ब रुपैयाँले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । पछिल्लो समय विप्रेषण आप्रवाह बढ्दा बैंकहरूको निक्षेपमा सकारात्मक प्रभाव देखिएको छ । असोजमा मात्र १ खर्ब ३६ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको थियो । यो एकै महीनामा भित्रिएको हालसम्मकै उच्च रकम हो । यसैगरी पर्यटकबाट हुने सेवा आम्दानीसमेत वृद्धि भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

बैंकहरूसँग अधिक तरलता भएपछि अन्तरबैंक कारोबार र टे्रजरी बिल्सलगायत अल्पकालीन ब्याजदर पनि न्यून विन्दुमा झरेको छ । कात्तिक २४ गते औसत अन्तरबैंक ब्याजदर २ दशमलव ८० प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)