ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योग व्यापारलाई लयमा ल्याउन ब्याजमा ‘सिंगल डिजिट’ 

२०८० मंसिर, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज। औद्योगिक व्यापारिक कर्जामा ‘सिंगल डिजिट’को ब्याजदर भएमात्र सुस्ताएको उद्योग व्यापारले गति लिने सरोकारका पक्षले बताएका छन् । पछिल्ला दिनहरूमा बैंकले ब्याजदर घटाउन थालेकाले अर्थतन्त्रका सुधार आउने अनुमान गरिएकै बेला औद्योगिक केन्द्र वीरगञ्जका उद्योगी व्यापारीहरूले यस्तो बताएका हुन् । 

मधेश सरकारका पूर्वमन्त्रीसमेत रहेका वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ओमप्रकाश शर्मा ‘करीब कोमामा गइसकेको’ अर्थतन्त्रलाई लयमा फर्काउन लगानीकर्ताको मनोबल उकास्न जरुरी देख्छन् । ‘लगानीकर्ताको मनोबल एकदमै कमजोर भइसकेको छ । अब अर्थतन्त्र सुधारको बाटोमा गइसक्यो भनेर उनीहरूलाई कसरी आश्वस्त पार्न सकिन्छ भन्नेमा सरकार गम्भीर हुनुपर्छ,’ शर्माले आर्थिक अभियानसित भने । अर्थतन्त्रका मुख्य र सुधारिएको सूचकको रूपमा हेरिएका ब्याजदर, विप्रेषण, विदेशी विनिमयको सञ्चिति र शोधनान्तर बचतमा सुधारको तथ्यांक आए पनि उद्योगी व्यापारी आश्वस्त हुन नसकेको निजीक्षेत्रका अगुवा बताउँछन् । 

‘अर्थतन्त्रका सूचकमा मात्र सुधारका कुुरा गरेर हुँदैन । त्यसको प्रत्याभूति बजारमा हुनुपर्छ,’ संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम भन्छन्, ‘उद्योग व्यापार २५/३० प्रतिशतमा झरिसकेको छ । अर्थतन्त्र कुन बेला धरापमा पर्ने हो भन्ने आशंका अहिले पनि व्याप्त छ ।’ 

सरकारले विदेशी मुद्रा सञ्चिति बढाउन व्यापारमा लगाएको नियन्त्रण हटाए पनि त्यसको प्रभाव बजारमा अझै नदेखिएको व्यापारी बताउँछन् । व्यापारमा नियन्त्रण हटाए पनि बैंकहरूको बढ्दो ब्याजदरले अर्थतन्त्रको गतिमा अवरोध गरिरहेको अवस्था छ,’ शर्माले भने, ‘ब्याजदरलाई एकल अंकमा नझारेसम्म सुधारको सम्भावना देखिँदैन ।’

कोरोना कालमा ७ प्रतिशतमा दिएको ब्याज अहिले करीब दोब्बरको हाराहारीमा पुगेको व्यापारी बताउँछन् । नेपाल राष्ट्र बैंकले ल्याएको चालू पूँजी कर्जाको व्यवस्थाले लगानी थप संकुचित भएको उनीहरूको भनाइ छ । बैंकहरूले अहिले बचतमा घटाएको ब्याजको सकारात्मक प्रभाव कर्जाको ब्याजमा पर्ने भए पनि लगानीकर्ताको मनोबल उकास्न पर्याप्त नहुने उद्यमी बताउँछन् । अहिले बचतमा घटेको ब्याज कर्जाको ब्याजदर एकल अंकमा ल्याउन पर्याप्त नहुने नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठ बताउँछन् । 

‘चालू पूँजीको नियन्त्रणात्मक सीमा र चर्को ब्याजकै कारण पुराना योजनामा थप लगानी हुन सकेको छैन । बैंकमा लगानीयोग्य रकम भए पनि लगानीकर्ताले कर्जा माग गर्न छोडेको अवस्था छ । पूँजीको लागत घटाउने हो भने मुद्दती बचतमा ५/६ प्रतिशतभन्दा बढी ब्याज दिन हुँदैन,’ शर्माले भने । यसका लागि नेपाल राष्ट्र बैंकले नीतिगत कदम चाल्नुपर्ने उनी सुझाउँछन् ।

बैंकले बचतमै ‘आकर्षक’ ब्याज दिएसम्म लगानी प्रोत्साहन नहुने दाबी जानकारहरूको छ । ‘बैंकमा पैसा राखेरै १०/११ प्रतिशत ब्याज पाइन्छ भने उद्योग व्यापारमा लगानी गरेर किन जोखिम मोल्ने भन्ने मनोविज्ञानले पनि लगानीकर्ता सुस्ताएका छन्,’ उद्यमी अरविन्द्र अमात्यले भने । यसले पैसाको ‘रोटेशन’ कम भएपछि त्यसको प्रत्यक्ष असर बजारमा देखिएको बुझाइ उनको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)