ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किन सकारात्मक हुन सकेन शेयरबजार ?

२०८० मंसिर, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं। तिहार र छठको बिदापछि खुलेको शेयरबजार सकारात्मक हुन सकेन । १० दिनपछि खुलेको बजार सोमवार सामान्य अर्थात् १ दशमलव ३९ अंक बढेर बन्द भयो । मंगलवार बजार १ दशमलव २८ प्रतिशत घटेर १ हजार ८२९ दशमलव ६५ विन्दुमा झर्‍यो । यसअघि शेयरबजार कात्तिक १९ गते १ हजार ८१७ दशमलव ७६ विन्दुसम्म झरेर १ हजार ८२६ दशमलव २३ विन्दुमा बन्द भएको थियो । त्यसपछि केही दिन बढे पनि सकारात्मक भने हुन सकेन । 

दशैं र तिहारको बीचमा १० दिन बजार खुलेको थियो । १० कारोबार दिनमध्ये ४ दिनमा बजार ४२ अंक बढेको थियो । बाँकी ६ दिन बजार ९२ अंकले घटेको थियो । यस अवधिमा बजार १८१७ विन्दुसम्म झरेको थियो । त्यसबेला कतिपय लगानीकर्ता लामो समयदेखि घटेको बजार अब विस्तारै सुधार हुने अपेक्षामा थिए । कतिपयले अझै घट्न सक्ने अनुमान लगाएका थिए । 

यसअघि पनि १८ सय वरिपरिबाट बजार फर्किएको थियो । यो १८ सयको विन्दुलाई लगानीकर्ताले बलियो टेवा क्षेत्रका रूपमा हेरेका छन् । तर, बजारले बारम्बार यही विन्दुलाई परीक्षण गरिरहेको छ । 

पछिल्लो समय बैंकहरूको ब्याजदर पनि घट्दो छ । मङ्सिर महीनाका लागि अधिकांश बैंक, वित्तीय संस्थाले ब्याजदर घटाएका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्ड पनि शेयरबजार सुधारको पक्षमा देखिन थालेको छ । सेबोनले दोस्रो बजारमा शेयरको आपूर्ति कम गर्न सामूहिक लगानी कोषहरूले आरक्षणमा खरीद गरेको शेयरमा ६ महीनाको लकिङ पिरियड तोकिदिएको छ । यसले गर्दा नयाँ सूचीकृत कम्पनीको शेयर आपूर्ति नियन्त्रण गर्ने लगानीकर्ताको बुझाइ छ । 

त्यसै गरी बोर्डले ब्रोकर कमिशन घटाउने निर्णय गरेको छ । यसरी सुधारका काम हुँदा पनि शेयरबजारले गति लिन सकेको छैन । 

अन्तरराष्ट्रिय पूँजी बजारविज्ञ मुक्ति अर्याल लगानीकर्ताको मनोबल अझै कमजोर रहेको बताउँछन् । ‘देशको अर्थतन्त्रमा खासै सुधार हुने लक्षण नदेखिएकाले पनि हो,’ उनले भने, ‘अर्को कारण भनेको राष्ट्र बैंकले लिएको गलत नीति हो । राष्ट्र बैंकको पोलिसी राम्रोसँग रिभाइज र रिभर्स हुनुपर्छ । त्यसपछि शेयरबजारमा सकारात्मक प्रभाव पर्छ ।’ 

लगानीकर्ता नवराज दाहाल आफूले तत्काल बजार सकारात्मक हुने अपेक्षा नगरेको बताउँछन् । ‘शेयरबजारमा ससाना कुराले त्रास निम्त्याउँछ । सकारात्मक कुरा आए पनि अहिले अन्दोलनको कुरा आइरहेको छ । यसले पनि शेयरबजार प्रभावित भएको हो,’ उनले भने, ‘यसले लगानीकर्ताको निर्णय प्रक्रिया अन्योलमा परेको छ ।’ 

कतिपयले लघुवित्त खारेज गर्नुपर्छ भनेर आन्दोलन गर्दा लगानीकर्ताको मनोबल कमजोर बनेको उनको भनाइ छ । बजार बढ्न लगानीकर्ताको मनोविज्ञान सकारात्मक बन्नुपर्ने उनी बताउँछन् । राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा केही परिमार्जन गरेपछि बजार केही अंक बढे पनि सन्तोषजनक छैन । ‘यसले संस्थागत लगानीकर्ताको सीमा खारेज गर्नुपर्ने आवश्यकता औंल्याएको छ,’ उनले भने । 

नेपाल पूँजी बजार लगानीकर्ता संघ अध्यक्ष राधा पोखरेल अहिले लगानीकर्ताको मनोबल एकदमै कमजोर रहेको बताउँछिन् । लामो समयदेखि घट्दो क्रममा रहेको बजारमा कहिलेबाट सुधार आउँछ भन्नेमा अन्योल छ । 

‘त्यसो त पछिल्लो समय देशमा देखिएको राजनीतिक अस्थिरताले गर्दा पनि बजार प्रभावित भएको हो,’ उनले भनिन्, ‘मङ्सिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईले काठमाडौंमा जनप्रदर्शन घोषणा गरेका छन् । सोही दिन नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आन्दोलनको कार्यक्रम राखेको छ । यसले गर्दा सरकारले मङ्सिर ४ देखि ३० गतेसम्म काठमाडौंका केही इलाकामा निषेधाज्ञा जारी गरेको छ । यसबाट लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक असर परेको छ ।’ 

ब्याजदर घटे पनि राम्रोसँग नघटेको उनले बताइन् । ‘अझै पनि ब्यादजर महँगै छ । यसकारण पनि बजार प्रभावित भएको हो,’ उनले भनिन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)