काठमाडौं । ठूलो एकादशीको लागि बजारमा सखरखण्डको आगमन बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक हप्तामा कालीमाटी बजारमा १ लाख १ हजार ३३५ किलोग्राम सखरखण्ड भित्रिएको छ । गत मंगलवार मात्रै ४४ हजार २३५ किलोग्राम सखरखण्ड भित्रिएको थियो ।
मूल्य पनि बढ्यो
पर्वका कारण माग बढेपछि सखरखण्डको मूल्य पनि बढेको छ । गत मंगलवार प्रतिकिलो ४५ रुपैयाँमा विक्री भएको सखरखण्डको मूल्य बुधवार (आज) २२ प्रतिशतले बढेर ५५ रुपैयाँ पुगेको छ ।
यस वर्षको हरिबोधनी एकादशी बिहीवार (भोलि) परेको छ । यस दिन अन्न नखाने चलन भएकाले सखरखण्ड लगायतका कन्दमूल खाने गर्दछन् । त्यसैले यो बेलामा सखरखण्डको व्यापार पनि बढी हुने गरेको व्यापारीहरू बताउँछन् ।