ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुष्पा र अञ्जलीप्रति मोहित पर्यटक

२०८० मंसिर, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

कोशीटप्पु (सुनसरी) चितवनबाट असोज १० गते कोशी टप्पु वन्यजन्तु आरक्षमा ल्याइएका पोथी गैंडा ४ वर्षीया पुष्पा र ३ वर्षीया अन्जलीले पूर्वेली पर्यटकलाई मोहित बनाएका छन् । 

आरक्षको कार्यालय सुनसरीमा भए पनि आरक्षले मधेश प्रदेशको सप्तरी तथा कोशी प्रदेशको सुनसरी र उदयपुर गरी तीन जिल्लालाई समेटेको छ । जंगली भैंसी अर्नाको प्राकृतिक वासस्थान कोशी टप्पु चराका लागि पनि स्वर्गीय भूमि मानिन्छ । यहाँ गैंडा थपिएपछि आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको नेपाल प्रकृति संरक्षण कोष कोशी टप्पुका अधिकृत वीरेन्द्र गौतम बताउँछन् । 

उनका अनुसार अघिल्लो वर्ष कोशी टप्पुमा १२ हजार पर्यटक आएकोमा यस वर्ष गैंडाको कारण झन्डै ६ हजार थप आन्तरिक र बाह्य पर्यटक आउने सम्भावना छ । एक दिनको बाटो गाडीमा यात्रा गरेर गैंडा हेर्न चितवन पुग्ने पर्यटक अहिले कोशी टप्पुमा तानिएका छन् । हाल दुईओटा पोथी गैंडा मात्र रहेको आरक्षमा फागुनतिर एउटा भाले गैंडा ल्याउने तयारी छ । घाँसे मैदान र चरिचरनलाई दृष्टिगत गरी सप्तरीको कञ्चनरूप नगरपालिका–५ मा पर्ने आरक्षको संरक्षित क्षेत्र पथरीमा तारबार गरी दुईओटा पोथी गैंडालाई प्राकृतिक रूपमै छाडिएको छ । तिनलाई बिहान ६ बजे हात्तीसँगै जंगलमा चराउन लगिन्छ । बेलुका ६ बजे आरक्षमा प्राकृतिक रूपमा तयार गरिएको सुरक्षित क्षेत्रमा प्रवेश गर्छन् । 

कोशी टप्पुबाट २०७३ मा चितवन राष्ट्रिय निकुञ्जमा १६ ओटा अर्ना लगिएको थियो । स्थानीयको विरोध हुँदाहुँदै पनि चितवन लगिएका सबै अर्ना बाघको आक्रमण र बाढीले मरेपछि त्यसको सट्टामा चितवन राष्ट्रिय निकुञ्जले आरक्षलाई गैंडा दिएको बताइएको छ । चितवनको जस्तो कोशी टप्पुमा शिकारी जन्तु बाघ र चितुवा नभएका कारण अन्य वन्यजन्तु यहाँ सुरक्षित रहने आरक्षका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताए । 

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर खड्काले कोशी टप्पुको पश्चिमी क्षेत्र सप्तरीको पथरी र जमुवामा होमस्टे रहे पनि पर्याप्त नभएको बताए । गैंडा आएपछि दिनहुँ पर्यटकको घुइँचो लाग्न थालेको छ । आन्तरिक र बाह्य दुवै पर्यटकलाई खाने बस्ने व्यवस्था गर्नुपर्ने भएकाले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले आरक्ष वरिपरि विभिन्न स्थानमा होमस्टे, हात्ती सफारी, जीप सफारीको व्यवस्थाका लागि आरक्ष कार्यालयमा योजना पेश गर्ने र काम अघि बढाउने खड्काले बताए । 

गैंडालाई चाहिने चरन क्षेत्र, घाँसे मैदान, बालुवा, पानीलगायतको सहज उपलब्धताले अहिले पुष्पा र अञ्जली सामान्य अवस्थामा फर्किसकेको बताइन्छ । उनीहरूलाई चितवन र कोशी टप्पुको वातावरण खासै फरक लागेको छैन । उनीहरूको आनीबानी र दैनिकी हेर्दा उक्त कुराको अनुमान लगाउन सकिने गौतमले बताए । 

सामान्यत: पोथी गैंडाले ४ वर्ष पूरा गरेपछि भाले खोज्छ । पुष्पाले ४ वर्ष पूरा गरेकाले उसका लागि भाले ल्याउने तयारी भइरहेको प्रमुख संरक्षण अधिकृत यादवले जानकारी दिए । उनका अनुसार पुष्पाका लागि भाले ल्याउँदा अञ्जलीलाई हान्ला कि भन्ने चिन्ता छ । अनुकूल मिलाएर भाले गैंडा ल्याउने आवश्यक तयारी भइरहेको छ । 

२०३२ सालमा स्थापना गरिएको कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरको १ सय ७५ वर्ग किलोमीटरमा फैलिएको छ । यो क्षेत्र अर्नालगायत वन्यजन्तु र चरा संरक्षणका लागि स्थापना गरिएको हो । अर्नाको राजधानी मानिएको कोशी टप्पुमा सन् २०२१ को गणना अनुसार ४९८ अर्ना छन् । रैथाने, आगन्तुक र संकटापन्न गरी कोशीटप्पुमा ५३१ प्रजातिका चरा पाइएको रेकर्ड छ । त्यसैगरी स्तनधारी जन्तुमा १० ओटा जंगली हात्ती, १९ डल्फिन, गौरीगाई, निलगाई, चितल, लगुना, रतुवा, नीर बिरालो, वन बिरालो, महला बिरालो, दुम्सी, बँदेल, सालक, बाँदर, लंगुर, फ्याउरो, स्याल, मलसाँप्रो, मुसा, न्याउरी मुसा, मगर गोही, अजिंगर, सुन गोहोरो, घडियाल गोही र विभिन्न प्रजातिका सर्प छन् । कोशी टप्पु पक्षीको बसोवासका लागि पनि प्रसिद्ध मानिन्छ । आरक्षको तथ्यांक अनुसार यहाँ २४ ओटा खरमजुर, एउटा सानो खरमजुर, कालो भुँडीफोर र सेतो भुँडीफोर छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)