काठमाडौं। रोजगारीका निम्ति नेपाली जनशक्ति सात समुद्रपारिका देशमा पुगिरहेका बेला स्वदेशमा शीपयुक्त जनशक्तिको चर्को अभाव देखिएको छ । खासगरी सुनचाँदी व्यवसाय, निर्माण, स्टिल तथा ग्रिल, इँट्टाभट्टा, फर्निचर, टेलरिङ, कबाडका समान बटुल्ने, कपाल काट्ने क्षेत्रमा काम गर्ने स्वदेशी श्रमिक नहुँदा ती क्षेत्रमा हजारौं भारतीयले रोजगारी पाइरहेका छन् । दक्ष जनशक्तिको अभावमा नेपालमा यी क्षेत्रका उद्योगले बाहिरबाट श्रमिक ल्याएर काम लगाउनुपरेको छ । उनीहरूले ठूलो परिमाणमा रकम आफ्नो देश लगिरहेका छन् ।
नेपालमा सुनचाँदीका गरगहना बनाउने कालिगडमा भारतीयको हिस्सा उल्लेख्य छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली कालिगड वर्षेनि दुई सयको हाराहारीमा तयार पारिए पनि त्यो जनशक्ति पर्याप्त छैन । महासंघका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार एक खर्ब लगानी भएको सुनचाँदी क्षेत्रमा २५ हजार श्रमिकले रोजगारी पाएका छन् । तीमध्ये ६० प्रतिशत नेपाली र बाँकी भारतीय छन् । उनीहरूको कमाइ मासिक डेढ लाख रुपैयाँसम्म हुन्छ । सुनचाँदीको क्षेत्रमा काम गर्ने कालिगडको मासिक औसत कमाइ ४०–५० हजार रुपैयाँ छ ।
शाक्यका अनुसार पहिला कालिगडमा भारतीयको भर पर्नु पथ्र्यो । २०५९ सालमा प्रशिक्षण केन्द्र खोलेर जनशक्ति उत्पादन गर्न थालिएसँगै नेपाली कालिगडको संख्या बढिरहेको छ ।
दक्ष जनशक्तिको अभाव इँट्टाभट्टामा पनि उस्तै छ । साढे १३ सय इँट्टा उद्योगमा तीन लाख श्रमिक छन्, त्यसमा ३३ प्रतिशत मात्रै नेपाली छन् । बाँकी भारतीय । नेपाल इँट्टा उद्योग महासंघका संस्थापक शंकरबहादुर चन्दका अनुसार तराई भेगमा पूरै भारतीयले काम गर्छन् । पहाडी भेगमा केही नेपाली श्रमिक छन् । औसतमा उनीहरूको कमाइ मासिक २५–३० हजारसम्म हुने उनको भनाइ छ । अहिले आर्थिक मन्दीका कारण ठूलो संख्यामा इँट्टा उद्योग बन्द हुने अवस्थामा पुगेको पनि उनले बताए । यसको असर रोजगारीमा परेको छ । नेपालको निर्माण क्षेत्रले पनि श्रमिकको चर्को अभाव झेलिरहेको छ । निर्माण व्यवसायी महासंघका अनुसार खासगरी उपकरण चालक, प्लम्बर, जाली बुन्ने, ढलानको काम गर्ने स्वदेशी श्रमिक पर्याप्त नहुँदा ठूलो संख्यामा भारतीयलाई काममा लगाउनुपरेको छ ।
निर्माण क्षेत्रमा करीब २० लाख श्रमिक छन् । त्यसमा भारतीयको संख्या ५ लाख हाराहारी छ । ती श्रमिकको कमाइ मासिक ५० हजारभन्दा माथि नै हुन्छ । नेपालीभन्दा भारतीय श्रमिक बढी खट्ने गरेको महासंघ अध्यक्ष रवि सिंहले जानकारी दिए । भारतीय श्रमिकले बिदा नलिने, प्याकेज मै काम लिने, समयमै पूरा गर्ने भएकाले निर्माण व्यवसायीले पुल ढलानदेखि उपकरण चलाउनेसम्मको काममा भारतीय श्रमिक बोलाउँछन् ।
नेपालको ग्रिल क्षेत्रमा समेत ठूलो मात्रामा जनशक्तिको अभाव छ । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष मोहन कटुवालका अनुसार नेपालीले शीप सिकेर कामलाई लामो समय निरन्तरता दिन नसकेको बताउँछन् । उनका अनुसार ग्रिल तथा स्टिल क्षेत्रको वार्षिक उत्पादन ६० अर्ब रुपैयाँ बराबर छ । ११ हजार ग्रिल तथा स्टिल उद्योगमा ५५ प्रतिशत नेपाली र ३५ प्रतिशत भारतीय श्रमिक छन् । यी उद्योगका बाँकी श्रमिक बंगलादेश र चीनका छन् ।
खासगरी भारतीयले ठेक्का लिने गरेका छन, एउटै श्रमिकको पारिश्रमिक औसतमा मासिक १ लाख हुन्छ । नेपालीको कमाइ भने औसतमा ५० हजार रुपैयाँ हुने तर पनि नेपाली कामदार पाउन मुश्किल रहेको कटुवाल बताउँछन् । भारतीयले काम छिटो छरितो गर्ने, बिदा नबस्ने भएकाले नेपालीलाई भन्दा भारतीयलाई काम लगाउन सहज हुने उनले बताए । कपाल काट्ने, कबाडी सामान बटुल्ने, सिरक डसना बनाउने काममा ६० प्रतिशतभन्दा बढी भारतीय छन् । उनीहरूको मासिक औसत कमाइ ६० हजार रुपैयाँभन्दा माथि हुने गरेको बताइन्छ । यी श्रमिकले वार्षिकरूपमा भारत लैजाने रकमको विवरण सरकारी निकायसँग छैन ।
नेपाली श्रम बजारमा जनशक्ति अभावको फाइदा उठाउँदै भारतीय र अन्य मुलुकका कामदारले लाखौं कमाएर लगिरहे पनि शीप सिकेर यी काम गर्न नेपालीले खासै रुचि देखाएको पाइँदैन ।
सरकारका उच्च अधिकारीहरू समेत देशभित्र शीपयुक्त जनशक्तिको चरम अभाव भएको बताउँछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले मुलुकभित्र दक्ष जनशक्तिको चरम अभाव रहेको बताए । हालै राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालबाट बाहिर काम गर्न जानेको संख्या बढिरहँदा स्वदेशमै ठूलो संख्यामा जनशक्ति अभाव रहेको बताए ।
उनले एक तथ्य पेश गर्दै भने, ‘भारतको उडिसा प्रदेशका ७ हजार ५ सय मान्छेले नेपालमा प्लम्बिङको काम गर्छन् । उनीहरूको आर्जनको हिसाबै छैन । फर्निचरमा बिहारका छन् । टायल, मार्बलमा सबै बिहारका छन् । सुनचाँदी पसलमा गुजरातका कालिगड छन् ।
उनका अनुसार १० वर्षअघि काठमाडौं उपत्यकामा सञ्चालित २३ सय टेलरिङ हाउसको अध्ययन गर्दा ८० प्रतिशत कामदार भारतको दरभंगाका थिए । ‘रोजगारीको क्षेत्र स्वदेशमै छ तर यहाँ दक्ष जनशक्ति छैन,’ सचिव भण्डारीले भने, ‘नेपालीमा शीप सिक्नुपर्छ भन्ने भावना आएन ।’ उनले विदेश जाँदासमेत शीप नसिकी जाने प्रवृत्ति रहेको बताए । ‘भिजिट भिसामा गएर काम गर्नेहरू पनि धेरै छन् । तीमध्ये ९२ प्रतिशतमा कुनै पनि किसिमको तालिम छैन ।’
तालिम लिएर मात्र वैदेशिक रोजगारीमा पठाउन पाउने कानूनी व्यवस्था भए पनि तालिमको प्रमाणपत्र औपचारिकताको लागि मात्रै पेश गर्ने गरिएको उनको भनाइ छ । सचिव भण्डारीका अनुसार नेपालबाट उच्च दक्ष जनशक्ति पनि विदेश गइरहेको छ । उनी यसलाई रोक्नुपर्ने बताउँछन् । ‘अहिले हामीले डाक्टरको डिमान्ड खोल्यौं भने यहाँ कोही रहनेवाला छैन । संसारभर त्यति धेरै डिमान्ड छ,’ उनले भनेका छन् । भण्डारीका अनुसार स्वदेशी बजारमा तालिमप्राप्त जनशक्तिको चरम अभाव छ । अहिले स्थानीय तह, प्रदेश सरकारले तालिम दिने भने पनि श्रम बजारमा तालिम लिएका श्रमिक नै नरहेको उनले बताए । ‘आन्तरिक बजारमा दक्ष जनशक्तिको आवश्यकता छ । अहिले हाम्रा सडकपेटी, पुलपुलेसा राम्रा बनेका छैनन्, कतिपय बनाउँदा बनाउँदै भत्कन्छन्,’ उनले भने, ‘यो सबै दक्ष जनशक्तिको अभावले हो ।’ भण्डारीका अनुसार नेपालमा शीपयुक्त जनशक्ति नहुँदा बाहिरबाट आइरहेको छ ।