ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

९ लाख श्रमिकको झन्डै ४५ अर्ब सामाजिक सुरक्षा कोषमा

२०८० मंसिर, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ९ लाख श्रमिकले हालसम्ममा करीब ४५ अर्ब रुपैयाँ योगदान गरेका छन् । कोषमा आबद्ध योगदानकर्ताबाट हालसम्ममा ४४ अर्ब ८५ करोड ११ लाख रुपैयाँ संकलन भएको हो । कोषमा वृद्धावस्था सुरक्षा योजनामा सबैभन्दा बढी रकम संकलन भएको छ । पाँच वर्षको अवधिमा उक्त योजनामा ३७ अर्ब ३५ करोड ७१ लाख ४६ हजार रुपैयाँ संकलन भएको छ ।

त्यसपछि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा १ अर्ब २९ करोड २७ लाख रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा २ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ र अतिरिक्त योगदानमा १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रकम संकलन भएको छ । संकलित रकमबाट कोषले २ अर्ब १७ करोड ७६ लाख रुपैयाँ प्रतिफल आर्जन गरेको छ । 

नयाँ युगको शुभारम्भ भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्षअघि सामाजिक सुरक्षा कार्यक्रम शुरू गरेका थिए । त्यसयता कोषमा १८ हजारभन्दा बढी रोजगारदातामार्फत ९ लाखभन्दा बढी श्रमिक आबद्ध भएका छन् । यो सहभागिता अपेक्षाभन्दा कम हो । सरकारले आर्थिक वर्ष (आव) २०७९/८० सम्ममा ३० हजार रोजगारदाता सूचीकृत गर्ने लक्ष्य राखेको थियो । 

नेपाल श्रमशक्ति प्रतिवेदन २०१७/१८ अनुसार आन्तरिक श्रम बजारमा ७० लाख ८६ हजार श्रमिक छन् । औपचारिक क्षेत्रमा २६ लाख ७५ हजार र अनौपचारिक क्षेत्रमा ४४ लाख ११ हजार छन् । अहिले पनि ठूलो संख्याका बैंक वित्तीय संस्था सामाजिक सुरक्षा कोषमा सहभागी भएका छैनन् । 

कोषले गत वैशाखमा असंगठित क्षेत्रका श्रमिक, विदेशमा कार्यरत श्रमिक र कृषिक्षेत्रका श्रमिकलाई समेत सूचीकृत हुन विशेष योजना ल्याएको थियो । तीमध्ये वैदेशिक रोजगारीका कामदारको मात्र कोषको योजनामा केही आकर्षण देखिएको छ । वैदेशिक रोजगारीमा गएका ४ लाख ६६ हजार ६२२ जना कोषमा आबद्ध भएका छन् । 

असंगठित क्षेत्रका श्रमिक कोषमा जोडिएका छैनन् । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा सोचेअनुसार योगदानकर्ता आबद्ध हुन नसकेको स्वीकार गरे । विभिन्न बाधा अवरोधबीच कोषले योजनालाई फराकिलो बनाउँदै सबै श्रमिकलाई समट्ने प्रयास गरेको उनको भनाइ छ ।

‘उत्पादनमूलक क्षेत्रमा लगानी गर’

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सरोकारवालाले सुझाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यसले अन्य कोषले भन्दा बढी रकम संकलन गर्ने भएकाले लगानीको बाटो खुलाउनुपर्ने उनले बताए । उनले सञ्चयकर्ताको रकम डिपोजिटमा राख्नुभन्दा उपयुक्त क्षेत्र खोजी गरी लगानी गर्नुपर्ने बताए । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले वैदेशिक रोजगारीमा रहेका श्रमिकको योगदानलाई व्यवस्थित बनाउनुपर्ने बताए भने नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सञ्चय कोष र सामाजिक सुरक्षा कोष दुवै गाभ्ने जनाए पनि हालसम्म नगाभिएकाले बजारमा अन्योल रहेको बताए । संयुक्त ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले कोषमा आबद्ध भएर योगदान नगर्ने योगदानकर्तालाई कारबाही गर्नुपर्ने र कोषमा आबद्ध रोजगारदाता र श्रमिकलाई योगदानको आधारमा कर छूट दिनुपर्ने बताए ।

श्रमिक सुरक्षित भए : प्र्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सुरक्षा कोषले श्रमिकलाई सुरक्षित बनाउन थालेको बताउनुभएको छ । छैटौं सामाजिक सुरक्षा कोष दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सम्पूर्ण नागरिकको कोखदेखि शोकसम्म कोषले सुविधा दिन थालेको बताउनुभयो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्थायी र करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षामा आबद्ध गराउने प्रतिबद्धताअनुसार काम अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘अस्थायी र करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षामा आबद्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धताअनुसार काम अन्तिम चरणमा पुगेको छ । स्वीकृतिको लागि अर्थतन्त्र मन्त्रालयमा फाइल पठाएका छौं । यसलाई सरकारले अगाडि बढाउँछ,’ उनले भने ।

नेपालको लागि अन्तरराष्ट्रिय श्रम संगठनका निर्देशक नुमान ओजकानले सामाजिक सुरक्षा कोषले सम्पूर्ण श्रमिकलाई सुरक्षा दिने बताए । 

विभिन्न प्रतिष्ठान सम्मानित

सामाजिक सुरक्षा कोषले विभिन्न प्रतिष्ठानलाई सम्मान गरेको छ । कोषले बैंक, वित्त तथा बीमा क्षेत्रबाट सबैभन्दा बढी योगदानकर्ता श्रमिक आबद्ध गराउने लक्ष्मी सन्राइज बैंकलाई सम्मान गरेको छ । कोषमा वित्तक्षेत्रबाट सबैभन्दा बढी योगदानकर्ता श्रमिक आबद्ध गराएर वित्तक्षेत्रबाट पहिलो नम्बरमा लक्ष्मी सन्राइज बैंक परेको हो । यसका १४ सय ९ कर्मचारी कोषमा आबद्ध छन् । बढी रकम जम्मा गर्ने रोजगारदातामा पनि वित्त र बीमाक्षेत्रबाट यही बैंक सम्मानित भएको छ ।

कोषले मानव संसाधन आपूर्ति क्षेत्रबाट गरुड सेक्युरिटी प्रालि, सूचनाप्रविधि तथा सञ्चार क्षेत्रबाट स्प्राउट टेक्नोलोजी सर्भिस प्रालि र उत्पादनमूलक क्षेत्रबाट अरिहन्त मल्टिफाइबरलाई सम्मान गरेको छ । 

मानव स्वास्थ्य तथा सामाजिक कार्यक्षेत्रबाट नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल र थोक तथा खुद्रा विक्री क्षेत्रबाट टाटाको गाडी बेच्ने सिप्रदी ट्रेडिङ सम्मानित भएको छ । त्यस्तै शिक्षाक्षेत्रबाट युनिभर्सल इन्स्टिच्युट अफ एड्भान्स स्टडिज एन्ड रिसर्च सेन्टर र अन्य सहायता क्षेत्रबाट इन्फोटेक सर्भिस प्रालिले सम्मान पाएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी रकम जम्मा गर्ने रोजगारदातामा सूचना प्रविधि तथा सञ्चार क्षेत्रबाट कोटिभिटी नेपाल प्रालि पहिलो बनेको छ । अन्य सामाजिक कार्यबाट गोर्खा वेलफेयर ट्रस्ट नेपाल, सामाजिक कार्य क्षेत्रबाट सेभ द चिल्ड्रेन, उत्पादनमूलक क्षेत्रबाट रिलायन्स स्पिनिङ मिल र थोक तथा खुद्रा विक्रीबाट दराज क्यामु प्रालिलगायत सम्मानित भए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)