ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सूचीकृत ८८ कम्पनी धितोपत्र बोर्डको कारबाहीमा

साढे ५३ लाख रुपैयाँ जरीवाना तिरे

२०८० मंसिर, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं। नेपाल धितोपत्र बोर्डले तोकिएको समयभित्र वित्तीय विवरण नबुझाउने ८८ सूचीकृत कम्पनीलाई साढे ५३ लाख रुपैयाँ जरीवाना तिराएको छ । बोर्डले ६९ कम्पनीलाई ५० हजार रुपैयाँका दरले र १९ कम्पनीलाई १ लाख रुपैयाँका दरले जरीवाना तिराएको हो । 

कारबाहीमा परेका ८८ कम्पनीको नामावली बोर्डले मङ्सिर १२ गते सार्वजनिक गरेको छ । कारबाहीमा पर्नेमा चार विकास बैंक, तीन होटेल तथा पर्यटन क्षेत्रका, तीन लगानी समूहअन्तर्गतका, १/१ व्यापारिक र अन्य, २४ लघुवित्त, २ जीवन बीमा, ५ निर्जीवन बीमा, ४ उत्पादन तथा प्रशोधन क्षेत्रका, २ वित्त कम्पनी र ३९ जलविद्युत् कम्पनी छन् । धितोपत्रको दोस्रो बजारमा सूचीकृतमध्ये जलविद्युत् क्षेत्रका धेरै कम्पनी कारबाहीमा परेका छन् । यस क्षेत्रका ३९ कम्पनीलाई बोर्डले २४ लाख रुपैयाँ जरीवाना गरेको छ । 

बोर्डको कात्तिक २० गते बसेको सञ्चालक समिति बैठकले ती कम्पनीलाई नगद जरीवानाको निर्णय गरेको थियो । बोर्डका अध्यक्ष रमेशकुमार हमालले बोर्डको इतिहासमै पहिलोपटक यतिधेरै सूचीकृत कम्पनी कारबाहीमा परेको जानकारी दिए । 

बोर्डले नियमनमा कडाइ गर्दै आएको अवस्थामा नियमबमोजिम काम नगर्ने जो कोही कारबाहीको दायरामा आउने अध्यक्ष हमाल बताउँछन् । आम लगानीकर्ताले समयमै हेर्न पाउनुपर्ने वित्तीय विवरण तोकिएको अवधिभित्र सार्वजनिक नगर्ने कम्पनीप्रति बोर्डले शून्य सहनशीलताको नीति लिएको हमालले जानकारी दिए । एक दिन ढिला गर्ने कम्पनीसमेत कारबाहीमा परेको उनले बताए । 

‘सूचीकृत कम्पनीहरूले पेश गर्नुपर्ने वित्तीय विवरण धितोपत्र बजारका लागि निकै महत्त्वपूर्ण हुने भएकाले बोर्डले त्यस्तो विवरण समयमै पेश नगर्नेलाई कडाइ गरेको हो,’ हमालले भने, ‘आम लगानीकर्ताले समयमै पाउनुपर्ने वित्तीय विवरण सम्बद्ध कम्पनीले नबुझाएकाले संस्थागत सुशासन कायम गराउन पनि बोर्डले कारबाही गरेको हो ।’

बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ बमोजिम जरीवाना गरेको हो । धितोपत्रसम्बन्धी ऐनको दफा १०१ को उपदफा ४ मा कसैले जानीजानी वा बदनियत साथ ऐन वा ऐनअन्तर्गत बनेका नियम वा विनियमबमोजिम पेश गर्नुपर्ने हिसाबकिताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात समयमा पेश नगरेमा, बोर्डले ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरीवाना गर्न सक्ने व्यवस्था रहेको छ । 

कानूनी प्रावधानबमोजिम प्रक्रिया पूरा नगर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनी बोर्डले गत साउनमै दिएको थियो । बोर्डको चेतावनीलाई समेत बेवास्ता गर्दै समयमा वित्तीय विवरण नबुझाएका कम्पनी कारबाहीमा परेका हुन् । बोर्डले सूचीकृत कम्पनीलाई समयमै वित्तीय विवरण बोर्डमा पेश गर्न आग्रह गर्दै साउन ११ गते सूचना जारी गरेको थियो । उक्त सूचनामा समयमै वित्तीय विवरण पेश नगरे प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनी थियो । 

बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु सो त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र बोर्डमा पेश गर्ने र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था छ । यस्ता संगठित संस्थाले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १५ बमोजिमको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ५ महीनाभित्र बोर्डमा पेश गर्नुपर्ने हुन्छ ।

साथै सूचीकृत संस्थाले संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७४ को दफा २० को उपदफा (४) बमोजिम अनुपालना प्रतिवेदनको मुख्यमुख्य बुँदासहितको प्रमाणित सारांश वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्ने हुन्छ । यसैगरी सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने सूचना धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १६ मा उल्लिखित कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तत्काल धितोपत्र बजारमा २–३ दिनभित्र बोर्डमा पेश गर्नुपर्ने व्यवस्था छ । धितोपत्रसम्बन्धी कानूनमा उल्लेख भएका यस्ता अन्य सूचना, जानकारी तथा विवरण उल्लिखित समयमै पेश गर्नुपर्ने व्यवस्था छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)