काठमाडौं डेरी उद्योगीले दूध उत्पादक किसानको ५ अर्ब रुपैयाँ भुक्तानी रोकेका छन् । करीब साढे ९ अर्ब रुपैयाँ बराबरको धूलो दूध र बटर विक्री नभएको बहाना बनाउँदै उद्योगीले किसानलाई भुक्तानी दिनुपर्ने रकम रोकेका हुन् ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यवाहक कार्यकारी निर्देशक डा. बालक चौधरीले निजी डेरीसहित सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट किसानले ५ अर्ब रुपैयाँ बराबर भुक्तानी पाउन बाँकी रहेको जानकारी दिए । डीडीसीले मात्रै करीब २ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । बाँकी ३ अर्ब रुपैयाँ निजीक्षेत्रका डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएशन अन्तर्गतका डेरीहरूले भुक्तानी गर्नुपर्ने रकम हो । बजारमा आउने कुल दूधको ३० प्रतिशत डीडीसीले बाँकी निजी डेरीले किन्छन् । सामान्य अवस्थामा नेपालमा हरेक दिन करीब ७० लाख लिटर झोल दूध उत्पादन हुन्छ । त्यसमध्ये ३१ लाख लिटर दैनिक रूपमा बजारमा आउँछ ।
अर्थतन्त्रमा देखिएको मन्दीका कारण बजारमा दूधको खपत घट्दा डेरी उद्योगीले आफूहरूसँग ९ अर्ब ४१ करोड रुपैयाँको धूलो दूध र बटर मौज्दात रहेको बताउँदै किसानलाई दिनुपर्ने भुक्तानी रोकेको चौधरीले बताए ।
बोर्डले संकलन गरेको तथ्यांकअनुसार डीडीसीसँग ४० करोड, डेरी उद्योग संघसँग ७ अर्ब ६० करोड र नेपाल डेरी एशोसिएशनसँग १ अर्ब ४१ करोड रुपैयाँको धूलो दूध र बटर मौज्दात छ । ‘किसानले पाउनुपर्ने रकम रोकिनु राम्रो होइन । जतिसक्दो चाँडो किसानलाई रकम भुक्तानी दिन हामीले पहल गरिरहेका छौं,’ डा. चौधरीले आर्थिक अभियान दैनिकसँग भने ।
सामान्यतया भदौको अन्तिम साताबाट फागुनसम्मै दूध उत्पादन बढ्ने सिजन हो । तर, उन्नत नश्लका गाईभैंसीपालनमा किसानको सक्रियता, दूध उत्पादनमा स्थानीय र प्रदेश सरकारले देखाएको तदारुकता र वातवरणमा देखिएको उतारचढावका कारण यस वर्ष दूध उत्पादन बढेको बोर्डले बताएको छ ।
नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले पनि निजी डेरीहरूले करीब ३ अर्ब रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी रहेको स्वीकार गरे । पाउडर प्लान्टमा उत्पादन भएको धूलो दूध र बटर विक्री नभएपछि भुक्तानी दिन नसकिएको उनले बताए । उनका अनुसार गतवर्षदेखिकै पाउडर दूध लामो समयसम्म बजारमा जान सकेको छैन, पूँजी स्टक भएर बस्दा डेरी उद्योगलाई चल्नै गाह्रो भएको छ । त्यसको सीधा असर किसान र किसानको भुक्तानीमा पर्न गई समयमा रकम चुक्ता गर्न अप्ठ्यारो अवस्था सृजना भएको उनले बताए । बजारमा दूधको खपत घटेको भन्दै निजी डेरीहरूले यतिबेला दूध खरीद करीब १५ प्रतिशतले घटाएको केन्द्रीय दुग्ध सहकारी महासंघका महासचिव रामप्रसाद आचार्यले बताए ।
‘डेरी उद्योगीले नियमित दूध खरीद घटाउँदा हामीले किसानसँग दूध किन्न सकेका छैनौं । उद्योगीका कारण अघोषित मिल्क होलिडेको अवस्था आएको छ । डेरीहरूले उपभोक्तालाई दूध र अन्य दुग्धपदार्थ नगदमा बेच्छन्, तर किसानको पैसा समयमा दिन मान्दैनन् । एकदेखि ३ महीनासम्मको भुक्तानी नपाउँदा किसानहरूमा रुवाबासी छ । दूध बेचेको पैसा नपाउँदा गाईभैंसीलाई दाना खुवाउनसम्म मुश्किल पर्ने अवस्था आइसक्यो,’ महासचिव आचार्यले भने ।