ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दश वाणिज्य बैंकको लाभांश घोषणा : बोनस शेयरभन्दा नगद लाभांशमा जोड

२०८० मंसिर, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं। धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत १९ वाणिज्य बैंकमध्ये हालसम्ममा १० ओटाले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् । 

हालसम्म एनआईसी एशिया, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा, माछापुच्छ्रे, नबिल, नेपाल एसबीआई, ग्लोबल आइएमई, सिटिजन्स र सिद्धार्थ बैंकले गत आवसम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छन् । 

गतवर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । नबिल बैंकले गतवर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै दिने प्रस्ताव गरेको छ । सिद्धार्थ बैंकले ४ दशमलव २१, सिटिजन्स बैंक इन्टरनेशनलले ५ दशलमव ७९ र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश दिँदै छ । त्यस्तै ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल एसबीआई बैंकले शेयरधनीलाई ६ दशमलव ८० प्रतिशत नगद लाभांश र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । लाभांश घोषणा गरेका १० मध्ये ६ ओटा वाणिज्य बैंकको लाभांश साधारणसभाबाट पारित भइसकेको छ । एनआईसी एशिया, एभरेष्ट, सानिमा, माछापुच्छ्रे, सिटिजन्स र सिद्धार्थ बैंकले साधारणसभा सम्पन्न गरिसकेका छन् । यी कम्पनीले शेयरधनीले पाउनुपर्ने लाभांश उनीहरूको बैंक खातामा पठाइसकेका छन् । अब धितोपत्रको दोस्रो बजारमा सूचीकृत ९ वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी छ । 

सूचीकृत कम्पनीले नगद लाभांश दिनु उचित कि बोनस शेयर भन्नेमा लगानीकर्ताहरू विभाजित छन् । कतिपयले नगद लाभांश उचित ठान्छन् भने कतिले बोनस शेयर । धितोपत्र बजारका जानकार अधिवक्ता ज्योति दाहाल बोनस शेयरले कम्पनीको चुक्ता पूँजी बढाउने, नेटवर्थ तथा सञ्चिति घटाउने र शेयरधनीको कित्तामा परिमाणात्मक वृद्धि दिनेबाहेक गुणात्मक रूपमा केही नदिने बताउँछन् । 

‘बोनस शेयर जारी हुने सूचनाले केही दिन शेयरको मूल्य अस्वाभाविक बढ्ने, पूँजीको कारण आम्दानी सोही अनुपातमा कायम राख्न सञ्चालन र स्रोत परिचालन खर्च बढ्नेबाहेक गुणात्मक रूपमा प्रतिफल केही पाइँदैन,’ उनी भन्छन्, ‘मैले लगानी गरेको नगद लाभांशकै लागि हो । बोनस शेयर दिएर समायोजनपछिको शेयर मूल्यसम्म आउँदा उस्तै हो । त्यही पनि घाटा नै हुन्छ ।’ लगानीकर्ता एसपी चौलागाई पनि अन्तरराष्ट्रिय शेयरबजार हेर्दा बोनस शेयरभन्दा नगद लाभांशलाई बजारले रुचाएको देखिने बताउँछन् । तर, नेपाली शेयरबजारमा बोनस शेयरलाई बढी प्रथामिकता दिने चलन रहेको उनको भनाइ छ ।

‘वास्तवमा लगानीकर्ताको हित र कम्पनीको दीर्घकालीन उन्नतिको लागि नगद लाभांश नै राम्रो हो । कम्पनीले नगद लाभांश दिँदा शेयर मूल्य समायोजन हुँदैन, लगानीकर्ताले लाभांश पाउँछन् । अनि कम्पनीको नेटवर्थ राम्रो रहन सक्छ ।’ 

उनका अनुसार अन्य मुलुकमा सूचीकृत कम्पनीहरूले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिन्छन् । त्यहाँ बोनस शेयर वितरण गर्नुलाई राम्रो मानिँदैन । बोनस शेयर वितरण गर्दा कम्पनीको दायित्व र चुक्ता पूँजी बढ्छ । 

बोनस शेयर नदिएकै कारण विदेशमा कम्पनीको चुक्ता पूँजीभन्दा जगेडा धेरै गुणा बढी हुने गर्छ । नेपालमा भने त्यसको ठीकविपरीत अवस्था छ । पछिल्लो केही वर्षयताको प्रवृत्ति हेर्दा लगानीकर्ताले बोनस शेयरबाट भन्दा पनि अल्पकालीन रूपमा कारोबार गरेर नाफा लिएको देखिने उनले बताए । विभिन्न समयमा नियामक निकायहरूले सूचीकृत कम्पनीहरुलाई चुक्ता पूँजी बढाउन निर्देशन दिने गरेका छन् । यसो हुँदा कम्पनीहरू बोनस शेयरलगायत अन्य माध्यमबाट पूँजी बढाउन बाध्य हुन्छन् । सोही कारण चुक्ता पूँजीभन्दा सञ्चिति बढाउन आवश्यक रहेको धितोपत्र विज्ञ बताउँछन् ।

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)