ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यूरोपमा नेपाली जहाजलाई प्रतिबन्ध कायमै

२०८० मंसिर, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। यूरोपेली संघ (ईयू)ले नेपाली वायुसेवा कम्पनीका जहाजलाई यूरोपेली आकाशमा उडाउन लगाएको प्रतिबन्ध कायमै राखेको छ । सन् २०१३ डिसेम्बरदेखि ईयूले नेपाली जहाजलाई यूरोपेली आकाशमा उडाउन प्रतिबन्ध लगाउँदै आएको छ ।

ईयूले बिहीवार उडान प्रतिबन्ध लगाएका देश र ती देशका वायुसेवा कम्पनीहरूको सूची सार्वजनिक गरेको हो । सूचीअनुसार नेपालका सबै वायुसेवा कम्पनीका जहाज यूरोपेली आकाश उड्न पाउँदैनन् । विगतमा नेपाल नागरिक उड्डयन प्राधिकरणको क्षेत्राधिकार लगायतलाई (सेवा र नियमन एउटै संस्थाले गर्न नहुने) सुरक्षा प्रतिबन्ध सूचीमा राख्नुको कारण देखाउने ईयूले यसपटक भने दुई वायुसेवा प्रदायक कम्पनीको सुरक्षा परिपालनाको कमजोरीका कारण प्रतिबन्धित सूचीबाट नहटाएको उल्लेख गरेको छ । 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यसपटक पनि ईयूले सुरक्षा प्रतिबन्धको सूचीमा कायमै राखेको बताए । यसपटक ईयूले प्राधिकरणको कमजोरी नऔंल्याएको भन्दै उनले वायुसेवा कम्पनीहरूमा कमीकमजोरी देखिएका कारण उडान प्रतिबन्धको सूचीबाट नहटेको जानकारी दिए । ‘प्राधिकरणको ऐन, नियमन, नेतृत्व जस्ता कारण देखाइएको छैन । संगठन संरचना पनि ठीक छ भनिएको छ,’ निरौलाले भने, ‘ईयूले नेपाल एयरलाइन्स र श्री एयरलाइन्सको अडिट गरेको थियो । त्यसमा केही कमीकमजोरी रहेको उल्लेख गरिएको छ ।’

उनले यी दुई कम्पनीमा देखाइएका समस्या सुधारेर त्यसको प्रगति प्रतिवेदन आवधिक रूपमा ईयूमा पठाउने बताए । अब प्राधिकरणले ईयूले देखाएका कमीकमजोरी सुधार गर्न नेपाल एयरलाइन्स र श्री एयरलाइन्सलाई निर्देशन दिने उनले बताए । ईयूका प्रतिनिधिले नेपाल आएर ती कम्पनीको अडिट गरेपछि कालोसूचीबाट हटाउन आवश्यक तयारी नपुगेको प्रतिवेदन तयार गरेका थिए । उक्त प्रतिवेदनमा अडिटमा परेका नेपाल एयरलाइन्स र श्री एयरलाइन्समा सेफ्टी मापदण्ड पूरा नभएको उल्लेख गरिएको छ । नियामकले देखाएका कमजोरी र निर्देशन परिपालना नगरेको, उडान तालिका व्यवस्थापन नभएको, उडान समय सीमितता, उडान योजनालगायत कारण देखाउँदै प्रतिबन्ध यथावत् राखिएको उल्लेख गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)