ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनसेल किनबेचमा विवाद : १४३ अर्बमा किनेको एनसेलको शेयर साढे ६ अर्बमा बेचेपछि अनेकौं प्रश्न

२०८० मंसिर, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सन् २०१६ मा १ अर्ब ३८ करोड अमेरिकी डलर (त्यति बेलाको झन्डै १ खर्ब ४३ अर्ब रुपैयाँ) मा एनसेलको शेयर खरीद गरेको मलेशियाको आजियाटा समूहले ७ वर्षपछि आफ्नो अंश ५ करोड अमेरिकी डलर (शुक्रवारको विनिमयअनुसार झन्डै ६ अर्ब ६८ करोड रुपैयाँ) मा विक्री गरेपछि अनेकौं प्रश्न उब्जिएका छन् । यसले एनसेलको शेयर किनबेचमा विवाद हुने देखिएको छ । 

शेयर स्वामित्व छाड्दै गर्दा एकातिर मलेशियाको आजियाटा समूहले नेपालमा काम गर्ने वातावरण नभएको संकेत गरेको छ भने अर्कोतर्फ नाफा गरिरहेको कम्पनीलाई खरीद मूल्यभन्दा निकै सस्तोमा विक्री गर्दा ‘कर छलीको उद्देश्य वा त्यसभन्दा अरू केही’ नै हुन सक्ने सरकारी अधिकारीहरूको अनुमान छ । 

नेपाल दूरसञ्चार प्राधिकरणले आजियाटाले एनसेलको शेयर विक्री गर्दा अनुमति नलिएको भन्दै पत्र पठाएको छ । आजियाटा एनसेलबाट बाहिरिने खबर सार्वजनिक भएपछि प्राधिकरणले शुक्रवार एनसेललाई अनुमति लिएर कारोबार गर्न पत्राचार गरेको थियो । दूरसञ्चार नियमावली २०५४ को नियम १४ मा कुनै दूरसञ्चार सेवाप्रदायक कम्पनीले शेयर स्वामित्व हस्तान्तरण गर्दा प्राधिकरणको स्वीकृति लिनुपर्ने उल्लेख छ । आजियाटाले प्राधिकरणबाट अनुमति नलिएको विषयमा केही खुलाएको छैन । 

आजियाटाले बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट यूके लिमिटेड कम्पनीलाई एनसेलको ८० प्रतिशत शेयर बेचेको बताएको छ । शेयर विक्रीबापतको रकम स्पेक्ट्रलाइटले ५० लाख अमेरिकी डलर (करीब ६६ करोड ८१ लाख रुपैयाँ) ६ महीनामित्र र बाँकी रकम ४८ महीनापछि प्राप्त हुने आजियाटाले जानकारी दिएको छ । स्पेक्ट्रलाइटले एनसेलको शेयर खरीद गरेको घोषणा गर्न पाउनु खुशीको कुरा भएको उल्लेख गरेको छ । कम्पनी सञ्चालक सतिशलाल आचार्यले एनसेलको शेयर प्राप्तिका लागि सम्झौता भएको घोषणा गर्न पाउँदा स्पेक्ट्रलाइट खुशी रहेको उल्लेख गर्दै दूरसञ्चार क्षेत्रमा रहेको अनुभवलाई आविष्कार, लगानी र नेपाली जनतालाई सेवा प्रदान गर्न एनसेलको व्यवस्थापनसँग काम गर्ने बताएका छन् । आचार्य सिंगापुरमा बस्ने नेपाली मुलका नागरिक हुन् । यसअघि नै एनसेलमा सुनिभेरा क्यापिटल भेन्चर्सको २० प्रतिशत शेयर छ । आचार्य सुनिभेराका सञ्चालक हुन् । अब एनसेलको शतप्रतिशत शेयर आचार्यको भएको छ । 

आजियाटाले सन् २०१६ मा स्वीडिस कम्पनी टेलिया सोनेरासँग एनसेलको स्वामित्व किनेको थियो । त्यतिबेला एनसेलको मूल्यांकन करीब १ खर्ब ४३ अर्ब रुपैयाँ गरिएको थियो । एनसेलको लाइसेन्स अवधि सन् २०२९ मा सकिँदै छ । आजियाटा र स्पेक्ट्रलाइट यूके लिमिटेडबीच भएको सहमतिअनुसार सन् २०२९ सम्म एनसेलले पाउने लाभांश आजियाटाले नै पाउनेछ । 

एनसेलले गत आर्थिक वर्ष (आव) ३९ अर्ब ७२ करोड रुपैयाँ सञ्चालन आम्दानी गर्दा खुद नाफा ५ अर्ब १६ करोड रुपैयाँ थियो । सन् २०२३ मा उसले ३७ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी (अपरिष्कृत) आम्दानी गरिसकेको छ । नाफा गरिरहेको कम्पनीलाई आजियाटाले एकाएक खरीद मूल्यभन्दा निकै थोरैमा विक्री गरेकाले अनेकौं प्रश्न उब्जिएको सरकारी अधिकारी र कर्पोरेट कानूनका जानकार कानून व्यवसायीले प्रतिक्रिया दिएका छन् । ‘कुनै पनि कम्पनीमा शेयर हस्तान्तरण हुनु नियमित र स्वस्थ प्रक्रिया हो,’ ठूला करदाता कार्यालयका एक अधिकारीले आर्थिक अभियानसँग भने, ‘तर, ठूलो रकममा खरीद गरिएको कम्पनी ७ वर्ष पुग्दा नपुग्दै निकै सस्तोमा त्यो पनि द्रुुत गतिमा विक्री हुनुले थुप्रै आंशका उब्जिएको र त्यस्ता आंशकाबारे अनुसन्धान हुँदै जालान् र रहस्य खुल्लान् ।’ विद्यमान र भविष्यमा एनसेलसँग सरकारले कुनै कर दाबी गर्‍यो भने त्यो खरीदकर्ता स्पेक्ट्रलाइट यूकेले बेहोर्ने सम्झौता भएको आजियाटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कर्पोरेट कानूनका जानकार एक अधिवक्ताले भने यसअघि एनसेललाई दोहोरो कर लगाइएका कारण तथा सन् २०२९ सम्म कम्पनीको लाइसेन्सको अवधि सकिने अवस्थाको जोखिमलाई ध्यान दिएर आजियाटाले बाहिरिने निर्णय गरेको हुनसक्ने तर्क गरे । आजियाटाले सरकारले पटकपटक निर्धारण गरेको कर रकम सम्पूर्ण भुक्तानी गर्दा दोहोरो कर परेको र त्यसका लागि ६२ दशमलव ७ प्रतिशत कर तिर्नुपर्ने अवस्था सृजना भएको दाबी गरेको छ । 

आजियाटाले सन् २०१६ मा एनसेलको ८० प्रतिशत सेयर खरीद गर्दा हालससम्म पूँजीगत लाभकरबापत ४७ अर्ब रुपैयाँ तिरिसकेको दाबी गरेको छ । नेपालको कानूनबमोजिम थप कर तिर्न बाँकी नरहेको उसको दाबी छ । तर, ठूला करदाता कार्यालयले थप ५७ अर्ब ९० करोड रुपैयाँ कर निर्धारण गरेको छ । यसमा चित्त नबुझाएपछि एनसेलले सर्वोच्चमा रिट दायर गरेको छ । त्यसको फैसला हुन बाँकी छ । यो लेनदेनले आजियाटालाई जिम्मेवार ढंगले नेपालबाट बाहिरिन अनुमति दिएको आजियाटा समूहका अध्यक्ष शहरिल रिड्जा रिड्जुआनले बताएका छन् ।

एनसेलले नेपालको आर्थिक सामाजिक विकासमा ठूलो योगदान गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गत आवसम्म एनसेलले कुल २ अर्ब ८३ करोड रुपैयाँ कर तिरेको बताइएको छ । एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष गरी २५ हजार रोजगारी सृजना गरेको र १ करोड ७० लाख ग्राहकलाई सेवा दिएको पनि विज्ञप्तिमा उल्लेख छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)