ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

११ महीनामा ९ लाख पर्यटक

२०८० मंसिर, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सरकारले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट वक्तव्यमा सन् २०२३ मा १० लाख पर्यटक ल्याउने घोषणा गरेको थियो । सरकारको उक्त लक्ष्य प्राप्त हुने देखिएको छ । 

पर्यटकीय सिजनका २ महीना निरन्तर लाखभन्दा बढी पर्यटक आउँदा र अन्य महीनामा पनि आगमन सन्तोषजनक हुँदा १० लाखको लक्ष्य भेटिने देखिएको हो । सन् २०२३ को नोभेम्बरमा १ लाख ८ हजार ६३० पर्यटक हवाई मार्गबाट नेपाल आएका छन् । अक्टोबरमा यस्तो संख्या १ लाख १७ हजार ३०६ थियो । सन् २०२३ को नोभेम्बरसम्ममा ९ लाख १८ हजार ३०८ पर्यटक नेपाल आएका छन् । कोेभिड–१९ मत्थर हुँदै गर्दाको वर्ष सन् २०२२ मा नेपालमा ६ लाख १४ हजार १४८ पर्यटक आएका थिए ।

वर्ष २०२२ मै ६ लाखभन्दा बढी पर्यटक आएको पृष्ठभूमिमा सरकारले लक्ष्य नै कम राखेको हुँदा यसपालिको आगमनबाट धेरै खुशी हुने अवस्था नभएको सरोकारवालाले बताएका छन् । सरकारले लक्ष्य नै हास्यास्पद राखेपछि नभेटिने भन्ने नै नहुने नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन् । 

पहिलाभन्दा हवाई पूर्वाधारदेखि होटेल सेवा र अन्य पक्षमा पनि सुधार र क्षमता विकास हुँदै गएको अवस्थामा सरकारले कम लक्ष्य राखेको उनले बताए । ‘विगतमा आइरहेको पर्यटक संख्याभन्दा कम लक्ष्य राख्ने र अनि प्राप्त भयो भनेर खुशी हुनुको कुनै अर्थ छैन,’ जोशीले भने, ‘कोभिड अगाडिको वर्ष सन् २०१९ मै १२ लाख पर्यटक आएका हुन्, हामीले अलिकति मात्रै प्रयास गरेको भए पनि यो वर्ष १५ लाख पर्यटक ल्याउन सकिने अवस्था हो ।’ 

सन् २०२० मै २० लाख पर्यटक नेपालमा ल्याउने लक्ष्य राखिएको थियो । सन् २०११ मै पनि सरकारले १० लाख पर्यटक ल्याउने घोषणा गरेको थियो । 

सरकारले प्रयास नै नगर्दा पनि यो संख्यामा पर्यटक आएको भन्दै पर्यटन व्यवसायीले निजीक्षेत्रको पहलले मात्रै उच्च संख्यामा पर्यटक आउन नसक्ने बताए । देशको क्षमता कति छ र अहिले कुन अवस्थामा छौं भन्ने विषय मूल्यांकन नगरी राखिएको लक्ष्य हासिल गर्न सरकारले खासै मेहनत नगरेको सरोकारवाला बताउँछन् । 

कोभिडको प्रभाव नरहेको, विमानस्थलको क्षमता थपिएको लगायत कारण पनि पोहोरको तुलनामा पर्यटक बढेका हुन् । अहिलेकै अवस्था रहे सन् २०२४ मै १२ लाख पर्यटक नेपाल भित्त्याउन सकिने जोशीको भनाइ छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने १० लाख पर्यटक भित्त्याउने लक्ष्यका लागि खासै काम नभएको बताए । २/३ ओटा देशमा मात्रै केही प्रचारप्रसारका कार्यक्रम गरिएको उनको भनाइ छ । 

सन् २०१९ को नोभेम्बरमा १ लाख ३० हजार ३०२ पर्यटक नेपाल आएका थिए । सन् २०२२ को नाभेम्बरमा ७२ हजार ६५३ जना आएका थिए । कोरोनाको शुरू वर्ष सन् २०२० मा यो संख्या १ हजार ९५६ मात्र थियो ।

यो वर्षको नोभेम्बरमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । भारतबाट नोभेम्बरमा २४ हजार ४४३ पर्यटक आएका छन् । भारतपछि क्रमश: अमेरिकाबाट ११ हजार ४६१, चीनबाट ७ हजार ६०१ र बेलायतबाट ६ हजार १३८ पर्यटक आएको तथ्यांक छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)