ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चार महीनामा भरतपुर महानगरको राजस्व ३३ करोड 

२०८० मंसिर, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन। भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महीनामा ३३ करोड १९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आवमा भरतपुर महानगरले १ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

राजस्व शाखा प्रमुख रमेश जोशीका अनुसार चालू आवको पहिलो चार महीनामा राजस्व संकलन गत आवको सोही अवधिको तुलनामा सबैजसो शीर्षकमा बढेको छ । तर पनि वार्षिक लक्ष्य हासिल गर्न सहज भने छैन । ‘ठूला ठेक्का लगाउन बाँकी छ, घरबहाल कर र व्यवसाय करमा धेरै बल गरियो भने राजस्वको लक्ष्यमा पुग्न सकिएला,’ उनले भने, ‘महानगरको राजस्वको लक्ष्य नै ठूलो छ, करको दायरा बढाउन सके लक्ष्य भेट्न सकिन्छ ।’

उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आर्थिक क्षेत्र अझै पनि चलायमान हुन नसक्दा राजस्व संकलनको लक्ष्य प्राप्तिमा भरतपुर महानगरलाई मुश्किल पर्ने बताए । ‘संघीय सरकारको राजस्व संकलन नै निराशाजनक देखिन्छ, विगतका वर्षमा घरजग्गा कारोबारबाट बढी राजस्व संकलन भएको थियो, अहिले यो क्षेत्रमा उत्साह छैन,’ उनले भने । घरजग्गा कारोबार बढ्न नसक्दा राजस्व संकलनमा ठूलो असर पर्ने उनले बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार अहिले सबैजसो क्षेत्रको व्यापार व्यवसाय खस्किएको छ । ‘पोल्ट्री क्षेत्रदेखि निर्माण सामग्रीका व्यवसाय माथि उठ्न सकेको छैन, बजारका सटर खाली हुँदै गएका छन्,’ उनले भने, ‘यो अवस्थामा लक्ष्यअनुसार राजस्व संकलनमा चुनौती हुनु स्वाभाविक नै हो ।’

भरतपुर महानगरपालिकाले कर संकलन हुने ठेक्का लगाउन बाँकी छ । महानगरले केन्द्रीय बसपार्कको ठेक्का आह्वान गरिसकेको छ । तर सम्झौता हुन सकेको छैन । सरसफाइको ठेक्का पनि सम्झौताको चरणमा पुगेको छैन । अर्थविद्हरूका अनुसार ठूला आयका ठेक्का समयमै नलाग्दा पनि राजस्व संकलनमा असर परेको हो । भरतपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा आन्तरिक राजस्व निर्धारित लक्ष्यभन्दा ३२ करोड १५ लाख रुपैयाँ कम संकलन गरेको थियो । १ अर्ब ५० करोड राजस्व संकलनको लक्ष्य लिएको भरतपुर महानगरपालिकाले २०७९/८० मा १ अर्ब १७ करोड ८५ लाख रुपैयाँ मात्रै उठाउन सकेको थियो । यद्यपि चालू आवमा गत आवको तुलनामा राजस्वको वृद्धि सकारात्मक देखिएको महानगरका राजस्व शाखा अधिकृत जयराम भण्डारीले बताए । ‘गतवर्ष लक्ष्यमा पुग्न सकेनौं, यसपटक राजस्वको वृद्धि सन्तोषजनक नै छ,’ उनले भने, ‘लक्ष्य हासिल हुने सम्भावना छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)